अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बहुप्रतिक्षित अलास्का शिखर वार्ता सम्पन्न भएसँगै वार्तामा कसको बढी जित भयो भन्ने बहस विश्वराजनीतिमा सुरु भएको छ।
शुक्रबार (१५ अगष्ट) मा अमेरिकाको अलास्कास्थित एंकोरेजमा भएको वार्तामा कुनै सम्झौता भएन। यद्यपी अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्तामा ‘ठूलो प्रगति’ भएको दाबी गरेका छन्।
यस्तो दावीमार्फत् पुटिनले वार्तामार्फत् आफूले पनि जित हासिल गरेको सन्देश दिन खोजेका छन्। तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरेको टिप्पणी हेर्ने हो भने यो वार्ताबाट जितका बढी भागेदार पुटिन हुन्।
खासमा युक्रेन युद्ध सुरु भएयता पुटिनले आफ्ना विरोधी कुनैपनि पश्चिमी राष्ट्रको भूमिमा पाइला टेकेका थिएनन्। यसपटक अलास्का यात्रा त्यसयता उनले पहिलोपटक पाइला हालेको पश्चिमी भूमि हो भनेर अलजजिराले उल्लेख गरेको छ।
पश्चिमा विश्वबाट अलगावमा पार्न खोजिएका पुटिनले पाएको यो अवसरले वार्तामा उनको जित भएको भन्ने दावी गर्नेहरुलाई बल पुगेको छ।
हुनपनि अलास्काको एंकोरेजस्थित अमेरिकी सैन्य बेसमा पुटिन जहाजबाट ओर्लंदा उनको स्वागतमा रातो कार्पेट बिछ्याइएको थियो। अलास्काको चिसो भूमिमा ट्रम्पले तातो हात मिलाएर पुटिनको स्वागत गरेका थिए।
‘प्रिय छिमेकी!’ ट्रम्पलाई भेट्दा पुटिनले यही शब्दका साथ सम्बोधन गरेका थिए। भेट्नासाथ ट्रम्पसँगको वार्तालाई ‘बहुप्रतिक्षित’ रहेको भन्दै आफूहरूबीचको सहमतिले विश्वलाई शान्तिको बाटोमा अघि बढाउने उल्लेख गरेका थिए।
बैठकपछि ट्रम्पले आफूहरुबीचको वार्ता ‘उपलब्धिमूलक’ भएको उल्लेख गरे। आफूहरुबीच धेरै बुँदामा सहमति भएको दावी गरेका उनले ठूला केही मुद्दामा अझै छलफल जारी राख्नुपर्ने बताएका छन्।
ट्रम्पसँगको वार्ता पुटिनका लागि ‘कूटनीतिक जित’ भएको कुटनीतिक मामिलाका जानकाहरुले बताएका छन्। लामो समयदेखि पश्चिमको अलगावमा परेका पुटिनले अमेरिकी राष्ट्रपतिसँग युक्रेन र युरोपियन नेताहरूलाई बाहिरै राखेर आफूले भेट गर्नुलाई उनको सफलता मान्नु पर्छ नै।
त्यसो त, ट्रम्प–पुटिनबीच भेटवार्ता हुने विषय अघिल्लो हप्ता सार्वजनिक भएदेखि नै यसलाई पुटिनको जितको रुपमा व्याख्या गर्न थालिएको थियो।
वार्तापछि ट्रम्पले फक्स न्युजसँग कुराकानी गर्दै भ्लादिमिर जेलिन्स्कीलाई रुससँगको युद्ध अन्त्यका लागि सम्झौता गर्न सुझाव दिएका छन्। त्यसक्रममा उनले रुस ठूलो शक्ति रुसका सैनिकहरु महान् रहेको भन्दै उनले यस्तो सुझाव दिएका हुन्।
ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति जेलिन्स्कीबीच युद्धविरामका लागि भेटघाटको तयारी सुरु भएको पनि बताएका छन्। ट्रम्पले ‘युद्धविराम र त्यसका लागि हुने भेटवार्ता जेलिन्स्कीमाथि निर्भर हुनेछ’ पनि भनेका छन्।
ट्रम्पको विश्वास जेलेन्स्कीभन्दा पुटिनमाथि बढी छ भन्ने कुराको प्रमाण हो यो। यस दृष्टिले पनि यो वार्तामार्फत् पुटिनले बढी जित हासिल गरेको विश्लेषण विश्वव्यापी रुपमा भइरहेको छ।
यसैको परिणाम हो कि, ट्रम्प–पुटिनबीचको अलास्का वार्ता पछि युक्रेनी राष्ट्रपति जेलिन्स्कीले युक्रेन, अमेरिका र रुसबीचको त्रिपक्षीय वार्तालाई समर्थन गरेका छन् र आफ्नो देश शान्ति स्थापनाका लागि अधिकतम प्रयास गर्न तयार रहेको उल्लेख गरेका छन्।
त्रिपक्षीय वार्ताको प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले राखेका हुन्। यद्यपी, जेलिन्स्कीले वार्तामा युरोपेली राष्ट्रहरूको सहभागिता महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्। यसका लागि आफू अर्को साता ट्रम्पलाई भेट्न वाशिङ्टन जाने बताएका छन्।
युद्धमा युक्रेनलाई सहयोग गरिरहेका कारण युरेपेली राष्ट्रहरुपनि रुस–युक्रेन युद्धको अप्रत्यक्ष सहभागी हुन्। त्यहीकारण जेलेन्स्कीले वार्तामा युरोपेली राष्ट्रहरुको सहभागितामा जोड दिएका हुन्।
शान्ति स्थापनामा युरोपेली मुलुकहरुको समेत भूमिका रहने भएकाले पुटिनसँगको वार्तापछि ट्रम्पले युरोपेली र नेटो राष्ट्रका नेताहरूसँग फोनमा कुरा गरिसकेका छन्।
ट्रम्प–पुटिन वार्तापछि युरोपेली नेताहरूले संयुक्त वक्तव्यमार्फत् ‘युक्रेनले आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डता सुरक्षित गर्न कडा सुरक्षा प्रत्याभूति पाउनुपर्ने र बल प्रयोग गरेर अन्तर्राष्ट्रिय सिमाना परिवर्तन गर्न नपाइने’ उल्लेख गरेका छन्।
अलास्का वार्तापछि दुई राष्ट्रपतिबीच अर्काे वार्ता मस्कोमा हुने भएको छ। पुटिनको प्रस्तावमा ट्रम्पले सहमति जनाएसँगै अर्काे वार्ता रुसी राजधानी मस्कोमा हुने भएको हो। रुस जाँदा आफ्नो आलोचना हुने भएपनि आफू मस्को आउने ट्रम्पले उल्लेख गरेका छन्।