रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारको जीवन पुर्ख्यौली आरनको आगो र फलामको कामसँग जोडिएको छ। तर, उनले पुर्ख्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर आफ्नो पेसालाई नयाँ जीवन दिएका छन्।
पुरानो पेसाप्रतिको सम्मान र नयाँ प्रविधिप्रतिको खुला सोचका कारण उनले पुर्ख्यौली पेशालाई निरन्तरता दिन आधुनिक प्रविधि अपनाएका हुन्।
शिवलाल उमेरले उनी ३७ वर्ष मात्र पुगे। उनले आफ्ना बुबा र हजुरबुबाबाट फलामको काम सिकेका थिए। बुबा र हजुरबुबाको पुस्ताले कोइलाको आगो फुकेर फलामलाई तताउने, अनि घन र हथौडाको सहायताले हँसिया, बञ्चरो, खुर्पा, चुलेसीजस्ता औजारहरू बनाउने काम गर्थ्यौ।
यो कामले धेरै मेहनत र धैर्यको माग गर्थ्र्याे। पुरानो प्रविधिका कारण एक दिनमा थोरै औजार मात्र बनाउन सकिन्थ्यो। त्यो पनि सजिलो थिएन, निकै थकाइ लाग्थ्यो।
परिश्रमअनुसारका पारिश्रमिक पनि पाइँदैनथ्यो। आरनको काम गरेबापत तत्कालीन समयमा बाली (जीवका) पाइन्थ्यो ।
ग्राहकले छिटो र राम्रो काम खोज्न थालेका थिए। यो परम्परालाई निरन्तरता दिँदै गर्दा शिवलालले केही परिवर्तनको आवश्यकता महसुस गरे। ग्राहकले छिटो र राम्रो काम खोज्न थालेका थिए। बजारमा मेसिनले बनेका सस्तो र आकर्षक औजारहरू आउन थालेपछि परम्परागत आरनको काममा चुनौती थपियो।
उनलाई लाग्यो, आफ्नो सीपलाई कसरी अझ प्रभावकारी बनाउन सकिएला!
यही जिज्ञाशाको उपज हो कि, उनले आफ्नो पुर्र्याैली पेसामा आधुनिक प्रविधि र औजारको प्रयोग सुरु गरे, जसले पेशालाई नयाँ जीवन दियो। समग्रमा उनले फलामबाट जीविकोपार्जन गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सके।
लोहार समुदायले पुस्तौँदेखि लोहार समुदायले गर्दै आएको फलामको कामलाई अहिलेको समय सुहाउँदो बनाउनु नै उनको सफलताको मुख्य कडी हो।
उनको आरनमा पहिले कोइलाको आगो फुकेर हत्केलाले घन चलाउँदै बनाइने हँसिया, बन्चरो, खुर्पा, चुलेसीजस्ता औजार बनाइन्थ्यो। अहिले बिजुलीबाट चल्ने ग्राइन्डर, वेल्डिङ मेसिन र अन्य आधुनिक उपकरण प्रयोग गर्न थालेका छन्। यसले काममा सहजता ल्याएको छ भने पुरानो आरनमा नयाँ चमक पनि देखिएको छ।
शिवलालले यो काममा हात हालेको धेरै भएको छैन। उनले १८ वर्ष अघि यो पेसा सुरू गरेका हुन्।
केही समयअघि उनले आफ्नो गाउँको पुरानो आरनलाई आधुनिक बनाउने सङ्कल्प गरे। पुरानो आरनको ठाउँमा सानो वर्कसप स्थापना गरे।
‘पहिले दिनभर एउटा खुर्पा बनाउन लाग्थ्यो, त्यसमाथि हात पनि पोल्ने डर हुन्थ्यो’ आधुनिक प्रविधिको प्रयोगले ल्याएको सहज स्थितिबारे उनी भन्छन्, ‘अहिले आधुनिक मेसिनको प्रयोगले छोटो समयमै धेरै औजारहरू बनाउन सकिन्छ।’
आधुनिक प्रविधिको प्रयोगले उत्पादनको गुणस्तरमा सुधार आएको छ। यसले गर्दा बजारमा माग समेत बढिरहेको छ।
‘पहिलेका औजारमा धार छिटो बिग्रने समस्या थियो, तर अहिले मेसिनले गर्दा बनेका औजारहरू अझ टिकाऊ र बलिया भएका छन्’ उनी भन्छिन्, ‘रूपन्देही मात्र नभई काठमाडौँ, विराटनगर, हुम्ला जुम्लासम्म मैले बनाएका औजारहरू पुगेका छन्।’
आम्दानी राम्रै छ। यसै पेसाबाट हुने आम्दानीबाट उनले आफ्नो र दिवङ्गत भाइका सन्तानलाई निजी विद्यालयमा पढाइरहेका छन्। घरखर्च पनि यसैको आम्दानीबाट चल्ने गरेको छ।
उनका अनुसार, औषतमा दैनिक पाँच हजारसम्मको कारोबार गर्ने गरेका छन्। उनी यो पेशाबाट पूर्णरुपमा सन्तुष्ट देखिन्छन््। नौ जनाको परिवार पनि सन्तुष्ट छ।
शिवलालका भनाईमा, उनको यो प्रयासले लोहार समुदायका अन्य युवालाई पनि प्रेरणा दिएको छ। उनीहरु पनि आधुनिक मेसिनहरू चलाउन सिक्न उत्साहित छन्। लोहार समुदायको परम्परागत सीपलाई आधुनिक प्रविधिले नयाँ ढङ्गबाट संरक्षण गरेको यो उदाहरणले अन्य पेसाकर्मीलाई पनि आफ्नो काममा नयाँपन ल्याउन प्रोत्साहन मिलेको छ।
‘मेरो प्रयासले फलामको कामलाई केवल परम्परागत पेसाको रूपमा मात्र नभई आधुनिक र सम्मानित पेसाको रूपमा स्थापित गर्न मद्दत गर्नेछ’ उनी भन्छन्, ‘यसले युवाहरूलाई विदेशिनुभन्दा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ।’
आफ्नो आरनमा पहिलोपटक बिजुलीबाट चल्ने ग्राइन्डर र वेल्डिङ मेसिन भित्र्याउँदा यसले राम्रो प्रतिफल दिन्छ भन्नेमा शिवलाल दृढ थिए। नयाँ प्रविधिको प्रयोगबाट काम कति सजिलो र छिटो हुन्छ भन्ने कुरा देखाउने कुरामा उनी सफल पनि भए।
ग्राइन्डरले फलामलाई छोटो समयमै आकार दिन र धार लगाउन मद्दत गर्यो। पहिला हत्केलाले घन चलाउँदै धेरै बेर लगाएर मिलाउने काम अब केही मिनेटमै हुने भयो। बेल्डिङ मेसिनको प्रयोगले फलामका टुक्रा जोड्न र औजारको मर्मत गर्न निकै सजिलो भयो। यसले समय र श्रम दुबै बचायो।
यी आधुनिक औजारहरूको प्रयोगले शिवलालको कामको गुणस्तर पनि बढ्यो। बनेको औजारहरू अझ राम्रो र फिनिसिङ भएका देखिन थाले। यसले ग्राहकहरूलाई आकर्षित गर्यो र उनी बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए।
कामको माग बढेपछि शिवलालले काममा सहयोग गर्न चार जना कामदार पनि राखेका छन्। आफ्ना कामदारलाई पनि आधुनिक औजार चलाउन सिकाएका छन्। उनीहरू सबै मिलेर काम गर्दा कामको गति झनै बढेको छ। यसले गाउँका अरू मानिसहरूलाई पनि रोजगारी दिलाएको छ।
नयाँ प्रविधि अपनाउनु शिवलालको लागि त्यति सजिलो भने थिएन। सुरूमा औजार चलाउन केही गाह्रो भयो। बिजुलीको बिल पनि बढ्यो। तर, उनले हार मानेनन्। विस्तारै–विस्तारै औजार चलाउनमा दक्षता बढाए। कामबाट हुने आम्दानी बढेपछि बिजुलीको बिल पनि त्यति ठूलो समस्या लागेन ।
‘परम्परागत सीपको जगमा नयाँ प्रविधि प्रयोग गर्न सके निकै लाभ हुने रहेछ’ उनी भन्छन्, मैले पुर्खाले सिकाएको सीपलाई बिर्सिनँ, तर समयसँगै परिवर्तन हुनुपर्छ भन्ने कुरा पनि बुझेँ।’
पेसागत कामप्रति स्थानीय सरकारको अपनत्व हुनुपर्ने भए पनि त्यसो नभएको गुनासो गर्छन् उनी। ‘अन्य पालिकामा यसै पेसामा लागेकालाई पालिकाले औजारहरू दिएर पेसा सञ्चालन गरेका छन्’ लोहारले भने, ‘तर हाम्रो पालिकाबाट त्यस्तो केही सहयोग पाइएको छैन।’
शिवलाल लोहारको कथा ग्रामीण क्षेत्रमा रहेका परम्परागत पेसाकर्मीका लागि एक प्रेरणाको स्रोत हो। उनले परम्परागत पेसालाई लोप हुनबाट जोगाउन र यसलाई जीवन्त राख्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य छ भन्ने प्रमाणित गरेका छन्। उनको यो सफलताले नयाँ पुस्तालाई पनि यो पेसा अँगाल्न प्रेरित गर्न सक्छ।
शिवलालको आरनमा आज पनि कोइलाको आगो दन्किन्छ, तर त्यसको छेउमा ग्राइन्डरको आवाज पनि सुनिन्छ। यो दुबैको संयोजनले उनको आरनलाई नयाँ जीवन दिएको छ।
