निवर्तमान उपराष्ट्रपति जगदीप धनखड़ले राजीनामा दिएपछि खालि रहेको भारतीय उपराष्ट्रपति पदमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
उपराष्ट्रपति धनखडले गत २१ जुलाईमा उपराष्ट्र पदबाट राजीनामा दिएपछि भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले राधाकृष्णनलाई खालि रहेको उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो।
उपराष्ट्रपति पदका लागि मतदान आगामी ९ सेप्टेम्बरमा हुनेछ। उम्मेदवारी दर्ता गराउने मिति भने यसै हप्ता, २१ अगस्टका लागि तोकिएको छ।
लोकसभा र राज्यसभामा भारतीय जनता पार्टी (भाजपा) को मतसंख्याका कारण राधाकृष्णन भारतका आगामी राष्ट्रपति हुने निश्चितप्रायः छ।
भाजपाका नेता, नयाँ जिम्मेवारी
सीपी राधाकृष्णनको पुरा नाम चन्द्रपुरम पोन्नुसामी राधाकृष्णन हो। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका उनी भाजपाका बरिष्ठ नेता पनि हुन्।
उनी दुई पटक लोकसभा सांसद बनिसकेका छन्। उनले भाजपाको तमिलनाडु इकाईका अध्यक्षको जिम्मेवारी पनि पाइसकेका छन्।
दक्षिण भारतमा भाजपाको संगठन विकासमा राधाकृष्णनको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ। त्यहीकारण तमिलनाडुको कोयम्बटुरबाट सन् १९९८ र १९९९ गरी दुई पटक लोकसभामा विजय हासिल गरेका थिए।
तर २००४, २०१४ र २०१९ मा भएको लोकसभा निर्वाचनमा लगातार तीन पटक त्यही सिटबाट पराजय भोग्नु परेको थियो।
उनी फेब्रुअरी २०२३ मा झारखण्डको राज्यपाल नियुक्त भएका थिए। झारखण्डको राज्यपाल रहँदा उनले तेलंगानाको राज्यपाल र पण्डुेचरीको उपराज्यपालको अतिरिक्त कार्यभार पनि सम्हालेका थिए। लगत्तै जुलाई २०२४ मा राधाकृष्णन महाराष्ट्रका राज्यपाल बने।
राधाकृष्णनको राजनीतिक जीवन विद्यार्थी आन्दोलनबाट सुरु भएको थियो।
तमिलनाडुको भाजपा अध्यक्ष रहँदा सन् २००७ मा उनले ९३ दिनमा १९ हजार किलोमिटर लामो ‘रथ यात्रा’ गरेका थिए। नदी जोड्ने अभियान, आतंकवाद, समान नागरिक संहिता, लागू पदार्थको दुष्परिणाम लगायतका विषयमा जनचेतना जगाउने प्रयास सो रथयात्रामार्फत् गरेका थिए।
व्यवसाय प्रशासन (बिजनेस एडमिनिस्ट्रेशन) मा स्नातक गरेकाउनको जन्म २० अक्टोबर १९५७ मा तमिलनाडुको तिरुप्पुरमा भएको थियो।
राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का स्वयंसेवकको रूपमा राजनीतिमा प्रवेश गरेका उनले १९७४ मा भारतीय जनसंघको राज्य कार्यकारिणी समितिको सदस्यता प्राप्त गरेका थिए।
१९९६ मा उनी तमिलनाडु भाजपाको सचिव नियुक्त भएका थिए। लगत्तै कोयम्बटुरबाट लोकसभामा निर्वाचित भए। लोकसभा सदस्य रहँदा उनी संसदीय स्थायी समिति (कपडा मन्त्रालय) को अध्यक्षसमेत थिए।
राधाकृष्णनले स्टक एक्सचेन्ज घोटालाको छानबिनका लागि गठन गरिएको विशेष संसदीय समितिका सदस्यको जिम्मेवारीपनि प्राप्त गरेका थिए।
२००४ मा उनले संसदीय प्रतिनिधिमण्डलको सदस्यको रूपमा संयुक्त राष्ट्र महासभामा सम्बोधन गरेका थिए। उनी ताइवान भ्रमण गर्ने पहिलो भारतीय संसदीय प्रतिनिधिमण्डलका सदस्य समेत हुन्।
सन् २०१६ मा उनी कोच्चीस्थित ‘नरिबल बोर्ड (कोयर बोर्ड’ का अध्यक्षसमेत बने। यो जिम्मेवारी उनले चार वर्ष सम्हाले। उनको नेतृत्वमा भारतबाट नरिबल रेशा (कोयर फाइबर) को निर्यात २,५३२ करोड रुपैयाँ पुगेको थियो, जुन त्यो बेलाको हकमा ऐतिहासिक रेकर्ड थियो।
राधाकृष्णन२०२० देखि २०२२ सम्म भाजपा का केरल इकाईको प्रभावरी रहे।
यसरी हुन्छ चुनाव, यी हुन् मतदाता
भारतको उपराष्ट्रपति चुनाव अप्रत्यक्ष रुपमा हुन्छ। यसका लागि निर्वाचक मण्डल तय गरिएको छ, जसमा राज्यसभा र लोकसभाका सम्पूर्ण सांसदहरू हुन्छन्।
उपराष्ट्रपति चुनावमा भने लोकसभा र राज्यसभाका सांसदहरूले मात्र मतदान गर्न पाउँछन्। राष्ट्रपति चुनावमा भने निर्वाचित सांसदसँगै विधानसभाका सदस्यहरूलाई पनि मतदानको अधिकार हुन्छ।
दुवै सदनका मनोनित सांसदहरूले राष्ट्रपति चुनावमा मतदान गर्न नपाएपनि उपराष्ट्रपति चुनावमा भने मतदान गर्न सक्छन्। यो पनि भारतको उपराष्ट्रपति चुनावको विशेषता हो।
उपराष्ट्रपति पद खालि भएपछि ६० दिनभित्र नयाँ चुनाव गर्नुपर्ने अनिवार्य व्यवस्था छ। यसका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गर्छ। निर्वाचन अधिकृत सामान्यतया कुनै एक सदनको महासचिवलाई बनाइएको हुन्छ।
निर्वाचन अधिकृतले चुनावसम्बन्धी सार्वजनिक सूचना जारी गर्छन्। उम्मेदवारहरूले उनलाई आफ्नो उम्मेदवारी बुझाउँछन्।
उपराष्ट्रपति पदमा उम्मेदवारीका लागि कम्तीमा २० जना सांसद प्रस्तावक र अन्य २० जना सांसद समर्थक हुनुपर्छ। प्रस्तावक र समर्थक दुबै लोकसभा वा राज्यसभाका सदस्य हुनुपर्ने प्रावधान छ। जहाँसम्म धरौटी रकमको विषय हो, उम्मेदवारले १५ हजार रुपैयाँ धरौटी स्वरुप बुझाउनु पर्छ।
उपराष्ट्रपति बन्ने योग्यताको रुपमा भारतीय नागरिक हुनुपर्ने, उमेर ३५ वर्ष पुगेको हुनुपर्ने, राज्यसभा सदस्य बन्ने योग्यता पूरा हुनुपर्ने तय गरिएको छ। उम्मेदवारहरु भारत सरकार वा कुनै राज्य सरकार अन्तर्गतको लाभको पदमा रहेको हुनु हुँदैन।
(एजेन्सीहरुको सहयोगमा)