फुझोउमा विश्वका १०० देशका सञ्चारकर्मीको जमघट, बेल्ट एन्ड रोड सहकार्यलाई नयाँ गति दिने प्रयास 

चीनको दक्षिणपूर्वी प्रान्त फुजियानको राजधानी फुझोउमा विश्वका १०० देशका सञ्चारकर्मी, सञ्चारमाध्यमका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका पदाधिकारीहरू भेला भएका छन्।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अन्तर्राष्ट्रिय सञ्चार सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यसहित नोभेम्बर ३ मा सुरु भएको २०२६ मिडिया कोअपरेसन फोरम अन बेल्ट एन्ड रोड ले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबीचको सम्बन्ध, सहकार्य र संयुक्त समाचार उत्पादनलाई मुख्य एजेन्डा बनाएको छ।

चिनियाँ सरकारी दैनिक पत्रिका पिपुल्स डेली र फुजियान प्रान्तीय जनसरकारको संयुक्त आयोजनामा भइरहेको सम्मेलनमा १०० देशका २०० भन्दा बढी विदेशी प्रतिनिधि सहभागी छन्। अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनका प्रतिनिधिसहित १८२ सञ्चारमाध्यम तथा संस्थाहरूको सहभागिता रहेको यस सम्मेलनले बीआरआईलाई आर्थिक तथा भौतिक पूर्वाधारको सहकार्यमा मात्र सीमित नराखी सूचना, सञ्चार, संस्कृति र जनस्तरको सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा अघि बढाउने चिनियाँ प्रयासलाई पनि प्रतिबिम्बित गरेको छ।

सम्मेलनको मूल विषयवस्तु Pursuing Common Understandings and Shared Aspirations along the Belt and Road अर्थात् ‘बेल्ट एन्ड रोडअन्तर्गत साझा बुझाइ र साझा आकाङ्क्षाको खोजी’ रहेको छ। विभिन्न देशका सञ्चारमाध्यमले सिल्क रोडसँग सम्बन्धित कथा, अनुभव र विकासका गतिविधिलाई संयुक्त रूपमा अभिलेखीकरण तथा प्रसार गर्ने, नीतिगत संवादलाई सहज बनाउने र जनस्तरमा आपसी समझदारी बढाउने विषयमा सम्मेलन केन्द्रित छ।

यसपटकको सम्मेलनको विशेष महत्त्व बेल्ट एन्ड रोड न्युज नेटवर्क (बीआरएनएन) को चौथो परिषद् बैठक पनि यही अवसरमा आयोजना हुनु हो। बीआरआईसँग सम्बन्धित देशका सञ्चारमाध्यमलाई एउटै सञ्जालमा जोड्ने उद्देश्यले स्थापित बीआरएनएनले विगत एक दशकमा अन्तर्राष्ट्रिय सञ्चार सहकार्यको संस्थागत स्वरूप विकास गर्ने प्रयास गर्दै आएको छ।

फुझोउ घोषणापत्र : सञ्चार सहकार्यका पाँच प्राथमिकता

सम्मेलनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये एक Belt and Road Media Cooperation: Fuzhou Initiative अर्थात् ‘बेल्ट एन्ड रोड सञ्चार सहकार्यसम्बन्धी फुझोउ पहल’ जारी हुनु हो।

नोभेम्बर ३ मा सार्वजनिक गरिएको यस पहलले बीआरआईअन्तर्गत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबीच सहकार्यका पाँचवटा प्राथमिकता निर्धारण गरेको छ। यसले सञ्चारमाध्यमलाई बीआरआईका गतिविधिको समाचार सम्प्रेषण गर्ने माध्यम मात्र नभई अन्तर्राष्ट्रिय सहकार्य र आपसी समझदारी निर्माणका साझेदारका रूपमा प्रस्तुत गरेको छ।

१. पारस्परिक लाभमा आधारित सहकार्य (Win-Win Cooperation)

यसले अन्तर्राष्ट्रिय सहकार्य खुलापन, पारस्परिक सम्मान र सबै पक्षलाई लाभ पुग्ने सिद्धान्तमा आधारित हुनुपर्नेमा जोड दिएको छ।

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बीआरआई पछिल्लो १३ वर्षमा चीनको प्रस्तावबाट अन्तर्राष्ट्रिय सहकार्यको एउटा ढाँचामा विकसित भएको घोषणापत्रमा उल्लेख छ। यसले विश्व आर्थिक वृद्धि, आर्थिक सुशासन र जनताको जीवनस्तर सुधारमा योगदान पुर्‍याएको चिनियाँ पक्षको दाबी छ।

२. साझा बुझाइ निर्माण (Building Consensus)

सञ्चारमाध्यमले सूचना प्रवाह, आपसी विश्वास र साझा बुझाइ निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने घोषणापत्रमा उल्लेख छ।

यसका लागि पत्रकारिताको व्यावसायिक निष्ठा कायम राख्ने, पूर्वाग्रहबाट मुक्त रहने, भ्रामक सूचनाको पहिचान र प्रतिरोध गर्ने तथा तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

३. समाचार सामग्रीमा सहकार्य विस्तार (Deepening Content Collaboration)

यो बुँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि व्यावहारिक महत्त्वको छ।

बीआरएनएनजस्ता बहुपक्षीय सञ्जालको उपयोग गर्दै विभिन्न देशका सञ्चारमाध्यमले संयुक्त अन्तर्वार्ता, पत्रकार आदानप्रदान, सूचना साझेदारी र संयुक्त कार्यक्रम उत्पादन गर्नुपर्ने प्रस्ताव गरिएको छ।

यसले एकपटकको सम्मेलन वा औपचारिक भेटघाटमा सीमित नभई नियमित र संस्थागत सञ्चार सहकार्यको संयन्त्र विकास गर्ने लक्ष्य राखेको छ।

४. नयाँ प्रविधिको उपयोग (Embracing the Technological Wave)

कृत्रिम बुद्धिमत्ता (एआई) सहित नयाँ पुस्ताका सूचना प्रविधिले सञ्चारमाध्यमको स्वरूप परिवर्तन गरिरहेको घोषणापत्रमा स्वीकार गरिएको छ।

यसले समाचार सामग्री उत्पादन, सम्पादन र वितरणमा प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिएको छ। साथै, प्रविधिको उपयोग मानव कल्याण र प्रगतिका लागि हुनुपर्ने उल्लेख गर्दै हरित विकास, डिजिटल रूपान्तरण र स्वास्थ्य क्षेत्रमा बीआरआईअन्तर्गत भइरहेको सहकार्यलाई पनि समाचारको विषय बनाउन सञ्चारमाध्यमलाई आह्वान गरेको छ।

५. जनस्तरको सम्बन्ध विस्तार (Deepening People-to-People Bonds)

विभिन्न देशका सञ्चारमाध्यमले सभ्यता र संस्कृतिबीचको आदानप्रदानमा दूतको भूमिका निर्वाह गर्नुपर्ने यस बुँदामा उल्लेख छ।

फुजियान प्रान्तको नाममा रहेको चिनियाँ अक्षर ‘फु’ (福) को अर्थ आशीर्वाद वा सौभाग्य हो। घोषणापत्रले यसलाई विभिन्न देशका नागरिकको साझा आकाङ्क्षाको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। सुख, समृद्धि र राम्रो जीवनको चाहना सबै समाजमा समान हुने भएकाले त्यसलाई सञ्चार सहकार्यको साझा आधार बनाउन सकिने अवधारणा अघि सारिएको छ।

यसरी फुझोउ पहलले आर्थिक सहकार्य, पत्रकारिताको व्यावसायिकता, प्रविधि र सांस्कृतिक सम्बन्धलाई एउटै ढाँचामा जोड्ने प्रयास गरेको छ।

महत्त्वपूर्ण बीआरएनएनको चौथो परिषद् बैठक 

फुझोउ सम्मेलनको केन्द्रमा रहेको अर्को महत्त्वपूर्ण कार्यक्रम बेल्ट एन्ड रोड न्युज नेटवर्कको चौथो परिषद् बैठक हो।

बीआरएनएन (Belt and Road News Network) बीआरआईसँग सम्बन्धित देशका सञ्चारमाध्यमबीच सम्पर्क र सहकार्य विस्तार गर्ने अन्तर्राष्ट्रिय सञ्जाल हो। यसको उद्देश्य विभिन्न देशका सञ्चारमाध्यमलाई संस्थागत रूपमा जोड्नु, समाचार तथा सूचना आदानप्रदान गर्नु, संयुक्त रिपोर्टिङका अवसर सिर्जना गर्नु र पत्रकारबीच व्यावसायिक सम्बन्ध विकास गर्नु हो।

यसको महत्त्व बुझ्न बीआरआईको अवधारणालाई पनि हेर्नुपर्छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा कजाकिस्तानको भ्रमणका क्रममा सिल्क रोड इकोनोमिक बेल्ट र इन्डोनेसियाको भ्रमणका क्रममा २१औँ शताब्दीको मेरिटाइम सिल्क रोडको अवधारणा अघि सारेका थिए। यी दुई अवधारणालाई समेटेर बेल्ट एन्ड रोड इनिसिएटिभ अघि बढाइएको हो।

बीआरआईअन्तर्गत सडक, रेलमार्ग, बन्दरगाह, ऊर्जा, व्यापार र लगानीका परियोजनासँगै सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई पनि महत्त्व दिइएको छ। तर अन्तर्राष्ट्रिय स्तरमा बीआरआईको परिचय र त्यसप्रतिको बुझाइ निर्माण गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने चिनियाँ बुझाइ छ।

त्यही पृष्ठभूमिमा बीआरएनएनको स्थापना र विस्तारलाई हेर्न सकिन्छ।

यस सञ्जालमार्फत विभिन्न देशका सञ्चारमाध्यमले आ–आफ्ना देशमा बीआरआईसम्बन्धी परियोजना, आर्थिक गतिविधि, पूर्वाधार विकास र सांस्कृतिक आदानप्रदानका समाचार सम्प्रेषण गर्न सक्छन्। संयुक्त समाचार सङ्कलन, पत्रकार आदानप्रदान र सामग्री उत्पादन यसका सम्भावित सहकार्यका क्षेत्र हुन्।

फुझोउमा भएको चौथो परिषद् बैठकले यस्ता सहकार्यलाई थप व्यवस्थित र नियमित बनाउने अवसर प्रदान गरेको छ।