तिब्बती बौद्ध धर्मलाई समाजवादसँग अनुकूल बनाउन राष्ट्रपति सीको जोड

चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत स्वायत्त क्षेत्रलाई एकीकृत, समृद्ध, सभ्य, सौहार्दपूर्ण र सुन्दर ‘आधुनिक समाजवादी नयाँ तिब्बत’ निर्माण गर्न आग्रह गरेका छन्।

ल्हासामा बुधबार (४ भदौ) आयोजित कार्यक्रममा सहभागी हुनका लागि बेइजिङबाट आएको केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को क्षेत्रीय समिति र क्षेत्रीय सरकारको प्रतिवेदन सुनेका थिए।

त्यसक्रममा सम्बोधन गर्दै राष्ट्रपति सीले तिब्बतले उच्च गुणस्तरीय विकासलाई स्थिर रूपमा अगाडि बढाउँदै चार प्रमुख कार्यलाई अघि बढाउन ठोस प्रयास गर्नुपर्नेमा जोड दिएका थिए।

उनले जोड दिएका चार प्रमुख कार्य थिए, स्थिरता सुनिश्चित गर्ने, विकासलाई प्रवर्द्धन गर्ने, वातावरण संरक्षण गर्ने र सीमालाई मजबुत बनाउने।

स्वायत्त क्षेत्र स्थापना भएको ६० वर्षयता तिब्बतले आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको र यसले उच्च भूभागमा गहिरो परिवर्तन ल्याएको बताएका थिए। तिब्बतले शासनमा स्थायित्व र समृद्धि प्रवर्द्धन, राजनीतिक तथा सामाजिक स्थायित्व, जातीय एकता र धार्मिक सहअस्तित्व कायम राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

तिब्बत र चीनका अन्य प्रान्तबीच अर्थतन्त्र, संस्कृति र जनशक्ति आदानप्रदान बढाउनुपर्नेमा जोड दिँदै राष्ट्रपति सीले तिब्बती बौद्ध धर्मलाई समाजवादसँग अनुकूल बनाउन मार्गदर्शन गर्नु आवश्यक रहेको बताएका थिए।

स्थानीय विशेषता अनुसार उच्चभूमिमा रहेका उद्योगहरूको विकासमा ध्यान दिनुपर्ने राष्ट्रपति सीले बताएका थिए। कृषि तथा पशुपालनका विशेषता भएका क्षेत्र र स्वच्छ ऊर्जा क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो।

कार्यक्रममा राष्ट्रपति सी लगायतका नेताहरु

राष्ट्रपति सीले यारलुङ जाङ्बो (ब्रम्हपुत्र) नदीको तल्लो तटमा जलविद्युत परियोजना, सिचुवान–तिब्बत रेलमार्ग जस्ता महत्वपूर्ण योजनाहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएका छन्।

तिब्बतमा वातावरणीय संरक्षणमा ध्यान केन्द्रित गर्ने, यसका लागि कार्बन उत्सर्जन घटाउने, प्रदूषण कम गर्न हरित विकास विस्तार गर्ने र आर्थिक बृद्धिलाई समन्वित रूपमा अगाडि बढाउन पनि उनले आव्हान गरे। यसले ‘विश्वको छानो र ‘एसियाको पानीको ट्यांकी’ जोगाउन सहयोग उनको कथन थियो।

तिब्बतसम्बन्धी सम्पूर्ण मामिलामा कम्युनिष्ट पार्टीको नेतृत्वलाई दह्रोसँग कायम राख्नुपर्नेमा पनि उनले जोड दिए।

चिनियाँ कम्युनिष्ट पार्टीका वाङ हूनिङ र काइ ची लगायतका वरिष्ठ नेताहरूको पनि कार्यक्रममा उपस्थिति थियो। राष्ट्रपति सी जिनपिङ बुधबार ल्हासामा तिब्बत स्वायत्त क्षेत्रको ६०औं वार्षिकोत्सव मनाउन आएका हुन्। सो बिहीबार भव्य समारोहबीच हुने र त्यसमा राष्ट्रपति सीपनि सहभागी हुने कार्यक्रम छ।