चीनले गर्यो प्रम ओलीको ‘एससीओ’ शिखर सम्मेलनमा सहभागिताको घोषणा

दुई दर्जनजति विश्वका नेताहरु सहभागी हुने सांघाई कोअपरेशन संगठन (एससीओ) को २५ औं शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहने घोषणा बेइजिङले गरेको छ।

बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ उपविदेशमन्त्री लिउ बिनले सम्मेलनमा सहभागी हुने राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख छन्, जसमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उल्लेख छ।

एससीओको सन् २०२५ को शिखर सम्मेलनमा ३१ अगष्ट–१ सेप्टेम्बर (१५–१६ भदौ) मा चिनियाँ महानगर तियाञ्जिनमा हुुँदैछ। यसपटकको शिखर सम्मेलनलाई आयोजक राष्ट्र चीनले ‘एससीओ प्लस’ शिखर सम्मेलनको स्वरुप दिने भएपछि प्रधानमन्त्री ओलीको सहभागिता पक्का भएको हो।

तियाञ्जिनमा हुने सम्मेलन र जापानी साम्राज्यवाद विरुद्ध चिनियाँ विजयको ८० औँ वार्षिकोत्सवका अवसरमा बेइजिङ मा आयोजना हुने सैन्य परेडमा सहभागी हुने गरी प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने चर्चा अघिल्लो हप्तादेखि नै चलिरहेको थियो।

अन्ततः ‘एससीओ प्लस’ शिखर सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुने बेइजिङको घोषणापछि उनको तेस्रो प्रधानमन्त्रित्वको दोस्रो चीन भ्रमण पक्का हुन पुग्यो।

नेपाल ‘एससीओ’ मा ‘डायलग पार्टनर’ मात्रको हैसियतमा छ। ‘डायलग पार्टनर’ को हैसियतमा रहेका राष्ट्रहरुको तर्फबाट शिखर सम्मेलनमा सामान्य खालको प्रतिनिधित्व हुने गरेको छ।

शिखर सम्मेलनमा १० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष वा सरकार प्रमुखको सहभागिता भने अनिवार्य मानिन्छ। ‘डायलग पार्टनर’ को हैसियतमा मात्र रहेकाले यसअघि नेपालले एससीओ शिखर सम्मेलनमा राजदूत स्तरका प्रतिनिधिमात्र पठाउने गरेको थियो।

‘एससीओ’ एसिया र युरोपका २६ राष्ट्र सहभागी छन्। चीन, रुस, भारत, पाकिस्तान जस्ता राष्ट्रहरुको सहभागिताका कारण जनसंख्या, भूगोल र बजारका दृष्टिले ‘एससीओ’ विश्वको सबैभन्दा ठूलो क्षेत्रीय संगठन मानिन्छ।

एससीओमा आवद्ध २६ मध्ये १० मुलुक सदस्यको हैसियतमा छन्। सदस्यको हेसियतमा रहेकाले उनीहरु सबैभन्दा शक्तिशाली हैसियतमा पनि छन्।

‘सदस्य’ राष्ट्रमा चीन, रुस र भारतका अलावा पाकिस्तान इरान, बेलारुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, बेलारुस छन्।

बाँकीमध्ये १४ मुलुकको हैसियत ‘डायलग पार्टनर’ का रुपमा छ। सहभागिताका तीन तहमध्ये ‘डायलग पार्टनर’ को हैसियत एससीओमा सबैभन्दा कमजोर प्रकृतिको हो।

‘डायलग पार्टनर’ मुलुकका रुपमा नेपाल, अजरबैजान, आर्मेनिया, क्याम्बोडिया, टर्की, श्रीलंका, इजिप्ट, साउदी अरेविया, कतार, बहराइन, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स (युइए) छन्।

‘अब्जर्भर’ को हैसियत दुई मुलुकले पाएका छन्। तिनमा मंगोलिया र अफगानिस्तान पर्छन्।

चिनियाँ विदेश उपमन्त्री लिउ विनले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एससीओ शिखर सम्मेलनमा सहभागी हुने विश्व नेताहरुको विवरण सार्वजनिक गरे।

उनका अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, बेलारुसका राष्ट्रपति अलेक्जान्दर लुकाशेन्को, काजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेभ, किर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभ, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ यो शिखर सम्मेलनमा सहभागी हुनेछन्।

ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमान, उज्बेकिस्तानका राष्ट्रपति शव्कत मिर्जियोयेभ, मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेल्सुख, अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभ, आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान, कम्बोडियाका प्रधानमन्त्री हुन मानेतको पनि शिखर सम्मेलनमा सहभागिता रहनेछ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआन, इजिप्टका प्रधानमन्त्री मोस्तफा मादबौली, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तो, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेर्दिमोहामेदोभ, लाओसका राष्ट्रपति थोङलोन सिसौलिथ, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र भियतनामका प्रधानमन्त्री फाम मिन चिन्हले पनि सम्मेलनमा सहभागिता जनाउनेछन्।

सम्मेलनमा चीनले अन्तर्राष्ट्रिय संगठन तथा बहुपक्षीय संयन्त्रका प्रमुखहरूलाई पनि निम्त्याएको छ। त्यसमध्ये संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि सम्मेलनमा सहभागी हुने पक्का भएको छ।

सांघाई कोअपरेशन संगठन (एससीओ) का महासचिव नुर्लान यरमेकबायेभ, एससीओ क्षेत्रीय आतंकवाद–विरोधी संरचनाका कार्यकारी समितिका निर्देशक उलारबेक शार्शेएभ, स्वतन्त्र राष्ट्रमण्डलका महासचिव सेर्गेई लेबेदेभ, आसियान महासचिव काओ किम होर्नपनि शिखर सम्मेलनमा सहभागी हुने सूचीमा सामेल छन्।

यसैगरी सामूहिक सुरक्षा सन्धि संगठन (सीएटीओ) का महासचिव इमानगाली तास्मागाम्बेतोभ, आर्थिक सहयोग संगठन (इसीओ) का महासचिव असद खानको पनि शिखर सम्मेलनमा सहभागिता रहनेछ।

उपमन्त्री बिनले उल्लेख गरेअनुसार एसियाली अन्तरक्रिया तथा विश्वास निर्माण उपाय सम्मेलन (सीआइसीए) का महासचिव कायरात सारीबे, युरेशियन आर्थिक आयोगका बोर्ड अध्यक्ष बाकितजान सागिन्तायेभ, र एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का अध्यक्ष जिन लिक्वुन पनि शिखर सम्मेलनमा सहभागी हुनेछन्।

शिखर सम्मेलनको अध्यक्षता आयोजक राष्ट्रका कार्यकारी राष्ट्राध्यक्ष वा सरकार प्रमुखले गर्ने प्रचलन छ। यस पटकको शिखर सम्मेलनको आयोजक राष्ट्र चीन भएकाले शिखर सम्मेलनको अध्यक्षता चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नेछन्।

चीनले यो शिखर सम्मेलनलाई आफ्नो मुलुकमा आयोजित यस वर्षको सबैभन्दा महत्वपूर्ण ‘घरेलु कुटनीतिक कार्यक्रम’ को रुपमा चित्रण गरेको छ। विश्वका २२ राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख सहभागी हुने भएकाले चीनले यो सम्मेलनलाई ‘प्रमुख घरेलु कुटनीतिक कार्यक्रम’ भनेको हो।