२०७२ को भूकम्प यता बज्दैन राणाकालमा कर्फ्यू जनाउने पाटनको ऐतिहासिक घण्ट

  • २०८२ भाद्र ८, आईतवार

विश्व सम्पदा सूचीमा सूचीकृत छ, ललितपुरको पाटन दरबार स्क्वायर। र, त्यहाँ छ- मल्लकालीन समयमा निर्माण गरिएको एउटा ऐतिहासिक घण्ट।

त्यो घण्टलाई पनि विसं २०७२ को भूकम्पले क्षति पुर्यायो। तर, पुनर्निर्माण नगरिएकाले घण्ट हाल जीर्ण बन्दै गइरहेकोमात्र छैन, घण्ट हाल बजाउन बन्द गरिएको समेत छ।

घण्ट बजाउँदा कम्पनका कारण खम्बा ढल्न सक्ने हुँदा विगत तीन वर्षदेखि यो घण्ट बजाइएको हो।

काठमाडौँ उपत्यकामा तीनवटा दरबार स्क्वायर छन्। त्यसमध्ये पाटन दरबार स्क्वायरको यो घण्ट अरूभन्दा ठूलो मानिन्छ।

स्थानीयका अनुसार भूकम्पले क्षति पुर्याएपछि यो पूर्वतिर ढल्किएको छ, जीर्ण अवस्थामा पुगेको छ। बल्लतल्ल अडिएको घण्ट जुनसुकै बेलापनि ढल्न सक्छ।

पाटन दरबार स्क्वायर टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधानका अनुसार ऐतिहासिक घण्ट जीर्ण अवस्थामा रहेकाले पुनर्निर्माणको माग गर्दै पुरातत्व विभाग र युनेस्कोलाई पत्र बुझाइएको छ।

‘हामीले पुनर्निर्माणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छौं’ प्रधान भन्छन्, ‘तर अहिलेसम्म पुनर्निमाणको कुनै पहल भएको छैन।’

यो घण्ट मल्लकालीन समयमा स्थापना गरिएको थियो। बिसं १७६९ सालमा निर्माण गरिएको मानिन्छ।

भूकम्पले क्षति पुर्याएपछि विसं २०७२ यता यो घण्ट नबजेको स्थानीय उपेन्द्रकुमार श्रेष्ठ बताउँछन्।

विशेषतः हरेक वर्षको दसैँको जमरा राख्ने दिनदेखि दसैँका दिनसम्म यस घण्टा बजाएर पूजाआजा गर्ने गरिन्छ।

श्रेष्ठका अनुसार राणाकालीन समयमा पाटन सहरका सबै मानिस सुत्नुपर्छ भन्ने मान्यताअनुसार राति १२ः०० बजे यो घण्ट बजाइन्थ्यो।

घण्ट बजेपछि राति १२ः०० बजेपछि कोही पनि बाहिर निस्कन पाउन्नथे। अनि बिहान ४ः०० बजे फेरि घण्ट बजाइन्थ्यो, त्यसपछि सबैजना उठेर आआफ्नो काममा लाग्थे।

घण्टको जगसँगै सटाएर व्यवसाय सञ्चालन गरेका एक स्थानीय व्यवसायीका अनुसार उनका हजुरबुबा १९५८ सालदेखि सो स्थानमा पसल सञ्चालन गर्दै आएका थिए।

‘यो घण्ट भूकम्पका कारण जीर्ण अवस्थामा पुगेको छ, पाटन दरबारका सबै जीर्ण सम्पदा महानगर र पुरातत्व विभागले पुनर्निर्माण गरिसकेको छ’ उनले गुनासो गरे, ‘तर, यो घण्टा पुनर्निर्माणमा ध्यान गएको छैन।’

ऐतिहासिक घण्टको जगसँगै जोडेर कोठा निकाली स्थानीयले पुस्तौँदेखि व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन्। जानकारहरुका अनुसार ती पसल नहटाइएसम्म ऐतिहासिक घण्टको पुनर्निर्माण सम्भव छैन।

यसको संरक्षणका लागि ललितपुर महानगरपालिका, पुरातत्व विभागलगायत सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ।

‘व्यापारीले पुस्तौँदेखि व्यापार गर्दै आएको कारण सम्झौताअनुसार हामीलाई व्यापार गर्न पाउनुपर्छ भन्छन्’ गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख जितेन्द्र चित्रकार भन्छन्, ‘व्यापारिक प्रयोजनका लागि बनाइएका भवन नहटाइएसम्म ऐतिहासिक घण्ट पुनर्निर्माण गर्न सम्भव छैन।’

चित्रकारका भनाईमा, पुस्तौँदेखि दरबार क्षेत्रमा व्यापार गर्दै आएका व्यापारीलाई प्रमाणसहित आउन गुठी संस्थान कार्यालयले पत्राचार गरेको छ।

घण्टलाई जतिसक्दो चाँडो पुनर्निर्माण नगरिए यसको खम्बा ढल्न सक्ने र घण्ट टुटफुट भए हुनसक्छ। त्यसो भए ऐतिहासिक सम्पदाको संरक्षण गर्न कठिन हुने अवस्था आउनेछ।

  • २०८२ भाद्र ८, आईतवार