तीनवटै दरबार स्क्वायर घुम्न चाहन्थिन् भियतनामकी उपराष्ट्रपति, पाटन दरबारमात्र घुम्ने अवसर पाइन्

नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति वो थी आन्ह सुआनले भ्रमणको अन्तिम कार्यक्रमका रुपमा पाटन दरबार क्षेत्रको अवलोकन गरेकी छन्।

नेपाल आउने योजना बनाउँदै गर्दा उनले काठमाडौँमा रहेका तीनवटै दरबार स्क्वायर– बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्न चाहेकी थिइन्।

यसका अलावा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण र अवलोकन गर्ने चाहनापनि उनको थियो। तर, उनी लुम्विनी गइनन् भने काठमाडौंमा पनि पाटन दरबार स्क्वायरको मात्र भ्रमण गरिन्।

राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार (९ भदौ) विहान भेटवार्ता गरेपछि उनी दिउसो पाटन दरबार स्क्वायर भ्रमणका लागि गएकी थिइन्। स्मरणीय छ, यो दरबार स्क्वायर विश्वसम्पदा सूचीमा पनि रहेको छ।

उपराष्ट्रपति सुवानलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए। त्यसक्रममा उनले उपराष्ट्रपति सुआनलाई मित्रताको चिनो स्वरुप कलात्मक झ्याल प्रदान गरेका थिए।

उपराष्ट्रपति सुआन नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन्। नेपाल–भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएयताका ५० वर्षमा भियतनामबाट भएको यो उच्चस्तरीय भ्रमण हो।

दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा भएकाले यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।

नेपाल भ्रमणका क्रममा उपराष्ट्रपति सुआनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल लगायतसँग भेटवार्ता गरेकी थिइन्।

यसैगरी दुई देशबीच प्रतिनिधिमण्डलस्तरमा वार्तापनि भएको थियो।