भियतनामकी उपराष्ट्रपतिको भ्रमण कुटनीतिक, महत्व पर्यटकीय र सांस्कृतिक

  • २०८२ भाद्र ११, बुधबार

उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील मुलुकबाट अगाडि बढिरहेको नेपालबीचको सम्बन्ध नौलो होइन। एकअर्का मुलुकबीच चलायमान बनिरहेको अर्थतन्त्र र अपार पर्यटकीय सम्भावनालाई द्विपक्षीय उच्चस्तरीय भेटघाटले थप टेवा दिएको छ।

यी मुलुकको सौहार्दपूर्ण सम्बन्धमात्र होइन, आर्थिक समृद्धिको यात्रामा धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले अझ धेरै महत्व राख्दछ। दुवै बौद्ध धर्मावलम्बी भएका मुलुक भएकाले धार्मिक, सांस्कृतिक पर्यटनले दुबै मुलुकलाई जोड्न सक्छ।

भियतनामका उपराष्ट्रपति भो थी आन सुआनको तीनदिने नेपालको औपचारिक भ्रमणले दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न मद्दत पुगेको छ।

भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओलीको विश्वासमा उच्चस्तरको यस भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ।

दुई देशबीच यसप्रकारका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारीस्तरमा मात्रै नभई व्यापार, व्यवसाय र जनस्तरमा समेत द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ। ओलीले उच्चस्तरको भ्रमणबाट विशेषगरी नेपालको पर्यटन प्रवर्द्धनका लागि उपयुक्त अवसर हुने बताए।

‘भियतनाम उदाउँदै गरेको अर्थतन्त्र हो भने नेपाल विकासशीलतातर्फ अघि बढिरहेको मुलुक हो, दुबै मुलुकको क्रय क्षमता र आर्थिक हैसियत बढ्दो छ’ ओलीले भने, ‘त्यसैले दुबै मुलुक एकअर्काका लागि सहज गन्तव्य हुनसक्छन्। किनकी यी दुई मुलुक सांस्कृतिक हिसाबले नजिक छन्। सभ्यता र मूल्यहरू पनि उस्तै छन्। दुबै बुद्ध धर्मप्रति आस्था भएको मुलुक हुन्।’

ओलीले थपे, ‘त्यसैले भियतनामबाट नेपालमा अत्याधिक पर्यटक आउने सम्भावना छ। नेपालको विविध सांस्कृतिक सम्पदा, भौगोलिक विविधता, साहसिक गन्तव्य आदिले पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर हुन्।’

संस्कृतिविद् डा गोविन्द टण्डनपनि भियतनामका उपराष्ट्रपतिबाट नेपालमा भ्रमण हुनुले धार्मिक पर्यटन प्रवर्द्धनको ढोका खुलेको बताउँछन्।

‘भियतनामबाट पहिलोपटक भएको उच्चस्तरको भ्रमण नेपालका लागि ठूलो अवसर हो, भियतनामका बौद्ध धर्मावलम्बीलाई नेपालमा आकर्षण गर्न सकिए पर्यटक बढ्छन्’ टण्डनले भने, ‘स्वयम्भू, बौद्धनाथ तथा लुम्बिनीको विश्वबजारमा थप प्रवर्द्धनका लागि भियतनाम, थाइल्याण्ड, कम्बोडिया, म्मानमारलगायत मुलुकसँग पर्यटनमा जोड्नसके फलदायी हुनेछ।’

भियतनामी उपराष्ट्रपतिको भ्रमणले धार्मिक पर्यटन प्रवर्द्धनका साथै एकअर्का मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र अरु धेरै सम्भावनाको ढोका खुल्ने विश्वास डा. टण्डनलाई छ।

पछिल्लो समयमा भियतनामबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या उल्लेख्य छ। विसं २०८० मा भियतनामी पर्यटक एकै पटक तीन विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका थिए।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ मा ११ हजार ६ सय ९४ भियतनामी पर्यटक नेपाल भ्रमणमा आएका थिए। सन् २०२५ को सात महिनामा ६ हजार नौसय ३७ भियतनामी पर्यटक नेपाल घुम्न आए। सन् २०२३ भियतनामबाट सबैभन्दा बढी १३ हजार आठ सय ९५ पर्यटक नेपाल आएका थिए।

बोर्डका वरिष्ठ अधिकृत कविन्द्र भट्टका अनुसार पछिल्लो समय भियतनामबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। हवाई कनेक्टिभिटी विस्तारसँगै प्रवर्द्धनका कामलाई प्रभावकारी बनाउन सके भियतनामबाट धेरै सङ्ख्यामा पर्यटक आकर्षण गर्न सकिने भट्टले उल्लेख गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल टुरिजम ‘स्टाटिस्टिक- २०२४ का अनुसार सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्ष सन् २०२३ मा १० लाख १४ हजार ८८२ पर्यटकले नेपालको भ्रमण गरेका थिए।

नेपाल आउने कूल पर्यटकमध्ये १५ दशमलव ३० प्रतिशत धार्मिक प्रयोजनका लागि आउने गर्छन्। बिदा र मनोरन्जनका लागि ६० दशमलव ४० प्रतिशत पर्यटक आउँछन् भने पदयात्रा र पर्वतारोहणका लागि नौ दशमलव ८० प्रतिशत तथा अन्य प्रयोजनका लागि १४ दशमलव ५० प्रतिशत पर्यटक आउँछन्।

‘भियतनाम नेशनल अथोरिटी अफ टुरिजम’ का अनुसार सन् २०२४ मा विश्वभरबाट भियतनाममा १७ दशमलव ५ मिलियनभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका थिए। यो सन् २०२३ को तुलनामा ३९ दशमलव ५ प्रतिशतले बढी हो।

विस्तारित हवाई कनेक्टिभिटी, खुला भिसा नीति र केन्द्रिय पर्यटन प्रवर्द्धनका कारण भियतनाममा पर्यटक आगमन बढेको उल्लेख गरिएको छ।

राजदूत ओलीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको सन्दर्भमा भियतनामका उपराष्ट्रपतिबाट भएको नेपाल भ्रमणले दुई देशबीच व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदान-प्रदानलगायत आपसी सहकार्यका विविध क्षेत्रलाई नयाँ आयाममा लैजान पहल गर्ने विश्वास व्यक्त गरे।

ओलीका भनाईमा, नेपालको भौगोलिक, सांस्कृतिक र जैविक विविधता भियतनामका नागरिकका लागि मुख्य आकर्षण हुन्।

विशेषगरी लुम्बिनीलाई केन्द्र बनाएर ‘‘चार्टर्ड फ्लाइट’ सुविधा उपलब्ध गराएमा भियतनाम हुँदै कोरिया, जापानलगायत मुलुकका पर्यटकलाई नेपाल भित्र्याउन सकिने विश्वास गरिएको छ। यसले बौद्ध पर्यटनलाई अझ प्रवर्द्धन गर्नेछ।

‘बौद्धमार्गी मुलुक भियतनामले नेपाललाई बुद्ध जन्मभूमि र हिमालको देश भनेर चिन्ने गर्छ’ ओलीले भने, ‘त्यसैले बौद्ध पर्यटन प्रवर्द्धनमा दुवै देशले संयुक्त रूपमा काम गर्न सक्छौँ।’

उपराष्ट्रपति सुआनले भ्रमणका दौरानमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेकी थिइन्।

साथै नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उपराष्ट्रपति सुआनसँग शिष्टाचार भेटवार्ता गरिन्।

ती भेटवार्ताका बेला दुबै पक्षबीच कूटनीतिक र सांस्कृतिक सम्बन्ध विस्तारका साथै धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्ने सम्बन्धमा कुराकानी भएका थिए।

नेपाल र भियतनाम दुबै मुलुकको सेतुका रुपमा बौद्ध धर्म रहेकाले अधिकांश द्विपक्षीय भेटवार्तामा धार्मिक-सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो।

नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने सम्भावना रहेको परराष्ट्रमन्त्रीले बताएकी थिइन्।

उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देशबीच सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तरराष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको उल्लेख गरेकी थिइन्।

दुबै मुलुकबीच सन् १९७५ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

राष्ट्रिय जनगणना २०७८ को जनगणनाअनुसार नेपालमा बौद्ध धर्मावलम्बीको सङ्ख्या २३ लाख ९३ हजार ५४९ छ, जुन कुल जनसङ्ख्या दुई करोड ९१ लख ६४ हजार ५७८ को आठ दशमलव दुई प्रतिशत हो।

त्यस्तै भियतनाम सरकारको धार्मिक मामिलासम्बन्धी समितिको तथ्याङ्कानुसार त्यहाँ करिब एक करोड ४० लाख बौद्ध धर्मावलम्बी रहेका उल्लेख छ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाह पनि भियतनामका उपराष्ट्रपतिबाट भएको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा आशावादी छन्।

‘उच्चस्तरको भ्रमणले पर्यटन, व्यापार र जनताजनताबीचको सम्बन्धलाई बलियो बनाउँछ’ शाहले भने, ‘भियतनामा बुद्धमार्गीहरू धेरै छन् उनीहरू लुम्बिनी आउन धेरै इच्छा गरिरहेका छन्। उनीहरूलाई नेपाल ल्याउने वातावरण बनाइनुपर्छ।’

शाहले नेपाल र भियतनामबीच सिधा हवाई उडान हुनसके भियतनामी पर्यटक बढ्नुका साथै भैरहवा र पोखरा विमानस्थल पनि चलायमान हुने विश्वास व्यक्त गरे।

नेपाल एशोसिएसन अफ नेपाल टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियापनि भियतनामका उपराष्ट्रपतिबाट भएको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वासमा छन्। यस किसिमका द्विपक्षीय भ्रमणलाई आगामी दिनमा पनि निरन्तरता दिइनुपर्नेमा उनी जोड दिन्छन्।

भियतनामको तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो। यस वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री डा. राणाले शिष्टाचार भेटवार्ता गरी दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्धधर्म दुबै देश र जनताको सम्बन्ध विस्तारको एक सबल कडी रहेकामा जोड दिएकी थिइन्।

डा. राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरेकी थिइन्।

उपराष्ट्रपति सुआनले भ्रमणको अन्तिम दिन सोमबार (९ भदौ) विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गरेकी थिइन्।

सांस्कृतिक सम्पदाको धरोहर पाटन दरबार स्क्वायर र बौद्धधर्मको ऐतिहासिक महत्वको सम्पदा बौद्धनाथको अवलोकनले पनि यस भ्रमणले विशेष महत्व राखेको छ।

उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा ७ भदौमा तीन दिने नेपाल भ्रमणमा आएकी थिइन्। उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी ९ भदौमा स्वदेश फर्किसकेकी छन्।

  • २०८२ भाद्र ११, बुधबार