भ्लादिमिर पुटिन र किम जोङ-उन प्रमुख अथिति रहने चिनियाँ विजयोत्सव समारोहमा प्रम ओली अतिथि

‘जापानी आक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिवादविरुद्धको युद्धमा विजय प्राप्त भएको ८० औं वार्षिकोत्सव’ समारोहमा २६ विदेशी नेताहरू सहभागी हुने भएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा विश्वका नेताहरु बेइजिङमा हुने सो विजय दिवस समारोहमा सहभागी हुन लागेका हुन्।

चिनियाँ उप-विदेशमन्त्री होङ लेईले बिहीबार बेइजिंगमा आयोजित पत्रकार सम्मेलनमार्फत समारोहमा उपस्थित हुने विदेशी नेताहरु र समारोहबारे विस्तृत जानकारी जानकारी दिएका छन्।

उप-विदेशमन्त्री होङ लेईका अनुसार चीनले ३ सेप्टेम्बर (१८ भदौ) मा भव्य सैन्य परेड आयोजनामार्फत् जापानी आक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिवादविरुद्धको युद्धमा विजय प्राप्त भएको ८० औं वार्षिकोत्सव मनाउँदैछ।

समारोहमा सहभागी हुने नेताहरूमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका वर्कर्स पार्टीका महासचिव तथा राज्य मामिलाका अध्यक्ष किम जोङ उन, कम्बोडियाका राजा नोरोडोम सिहामोनी, भियतनामका राष्ट्रपति लुओङ कुङ लगायत छन्।

यसैगरी लाओसका राष्ट्रपति तथा पार्टी महासचिव थोङलुन सिसौलिथ, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तो, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुख, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफपनि सहभागी हुनेछन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीपनि सो समारोहमा सहभागी हुनेहरुको सूचीमा छन्। त्यसबोहक माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले पनि समारोहमा सहभागिता जनाउनेछन्।

समारोहमा सहभागी हुने अन्य नेताहरुमा कजाकस्तानका राष्ट्रपति कासिम-जोमार्ट टोकेयेभ, उज्बेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभ, ताजिकिस्तानका राष्ट्रपति इमामोली रहमान, किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभ, तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेर्दिमुहामेदोभ, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, अजरबैजानका राष्ट्रपति इल्हाम अलीएभ, आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यान, इरानका राष्ट्रपति मसउद पेजेश्कियन छन्।

यसैगरी कङ्गो गणराज्यका राष्ट्रपति डेनी सासो न्ग्वेस्सो, जिम्बाब्वेका राष्ट्रपति इमरसन मननगग्वा, सर्बियाका राष्ट्रपति अलेक्जान्दर भुचिच, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको, क्युबाका राष्ट्रपति तथा पार्टी महासचिव मिगुएल डियाज–कानेल र म्यानमारका कार्यवाहक राष्ट्रपति मिन आङ ह्लाइङपनि सहभागी पाहुनाहरुको सूचीमा छन्।

उप-विदेशमन्त्री होङ लेईका अनुसार चीन सरकारको निमन्त्रणामा विभिन्न मुलुकका संसद् अध्यक्ष, उप-प्रधानमन्त्री, उच्चस्तरीय प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संगठनका प्रमुख तथा पूर्वराजनीतिक व्यक्तिहरू समेत समारोहमा सहभागी हुनेछन्।

३ सेप्टेम्वरमा आयोजना हुने भव्य सैनिक परेडसहितको सो समारोह तियानआनमेन स्क्वायरमा हुनेछ, जसमा २६ देशका नेताहरू सहभागी हुनेछन्। रुसका राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन प्रमुख अतिथिका रुपमा छन्।

पुटिनको सहभागिताले चीन-रुसबीचको नयाँ युगको व्यापक रणनीतिक साझेदारीको उच्च स्तरलाई प्रदर्शन गर्ने र दोस्रो विश्वयुद्धमा प्राप्त विजयको रक्षा गर्न एकताको सन्देश दिने उप-विदेशमन्त्री होङ लेई बताउँछन्।

जहाँसम्म किम जोङ-उनको सहभागिता हो, दुबै मुलुकका जनता जापानविरुद्ध सँगै लडेकाले उनलाई निमन्त्रणा गरिएको उप-विदेशमन्त्री होङ लेईले बताएका छन्।

‘चीन र उत्तर कोरिया परम्परागत मैत्री छिमेकी हुन्’ उप-विदेशमन्त्री होङ लेईले भने, ‘युद्धका कठिन वर्षहरूमा दुबै देशका जनताले मिलेर फासिवादविरुद्धको युद्ध र मानवताको न्यायपूर्ण उद्देश्यमा ठूलो योगदान दिएका थिए।’

चिनियाँ प्रतिरोध युद्ध (१९३१-१९४५) विश्व फासिवादविरुद्धको युद्धको सबैभन्दा लामो र पहिलो युद्ध थियो। १४ वर्षको अवधिमा ३५ लाख चिनियाँ मारिएका वा घाइते भएका थिए।

जापानले २ सेप्टेम्बर १९४५ मा आत्मसमर्पणपत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा पराजय स्वीकार गरेको थियो।

सन् २०१४ मा चीनको राष्ट्रिय जनकाँग्रेसले सेप्टेम्बर ३ लाई ‘विजय दिवस’ घोषणा गरेको थियो। लगत्तै अर्को वर्ष २०१५ मा तियानआनमेन स्क्वायरमा पहिलोपटक विशाल सैन्य परेड आयोजनामार्फत् ७५ औँ विजयोत्सव मनाइएको थियो। ्

‘८० वर्षअघि चीनले प्राप्त गरेको विजयले उपनिवेश वा अर्ध-उपनिवेश अवस्थामा रहेका राष्ट्रहरूलाई स्वतन्त्रता र मुक्तिको संघर्षमा प्रेरणा दिएको थियो’ उपविदेशमन्त्री होङले भने, ‘आज पनि चीनले विश्वका सबै पक्षहरू- विशेषगरी ‘ग्लोबल साउथ’ का मुलुकहरूसँग मिलेर समान र व्यवस्थित बहुध्रुवीय विश्व निर्माण, सबैलाई लाभ हुने समावेशी आर्थिक विश्वव्यवस्था र शान्ति, विकास र प्रगतिलाई अघि बढाउने न्यायपूर्ण उद्देश्यलाई प्रवर्द्धन गर्ने इच्छाशक्ति राँख्दै आएको छ।’

फासिवादविरुद्धको युद्धमा युद्धमा योगदान गरेका सबै विदेशी मित्र र युद्धमा दिवंगत भएकाहरुको परिवारका सदस्यहरूलाई पनि सो समारोहमा निमन्त्रणा गरेको छ।

होङका अनुसार, यस वर्षको समारोहमा रुस, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र क्यानडालगायत १४ देशका ५० जनाले समारोहमा सहभागिता जनाउनेछन्।

पत्रकार सम्मेलनमा उपविदेशमन्त्री होङसँग जापानले यस समारोहप्रति देखाएको नकारात्मक व्यवहारबारे प्रश्न सोधिएको थियो।

‘जापानले इतिहासलाई ईमानदारीपूर्वक सामना गर्नुपर्छ, आक्रमणका अपराधबारे आत्मचिन्तन गर्नुपर्छ’ उपविदेशमन्त्री होङले भने, ‘सैन्यवादसँग स्पष्ट रूपमा आफूलाई अलग गर्नुपर्छ र शान्तिपूर्ण विकास तथा सद्भावपूर्ण छिमेकी सम्बन्धको मार्गमा अघि बढ्नुपर्छ।’

उनका अनुसार जापानभित्र अझै पनि केही शक्ति तथा समूहहरूले आफ्नो आक्रमणलाई नकार्ने वा तथ्यलाई तोडमोड गर्ने, इतिहासलाई तोडमोड गर्ने वा दोस्रो विश्वयुद्धका अपराधीहरूको फैसला उल्ट्याउने प्रयास गर्ने प्रवृत्ति जीवित छ।

यस्ता गतिविधि दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था, मानवता र शान्तिप्रेमी जनताप्रति चुनौती भएको उपविदेशमन्त्री होङले बताए।

पत्रकार सम्मेलनमा परेड तयारी समितिका उप–निदेशक वू झेकेपनि उपस्थित थिए। उनका अनुसार परेको तयारी लगभग पूरा भएको छ।

‘यस पटकको परेडले चीनको सेनामा हालसालै भएको आधुनिकीकरण र युद्ध तयारी क्षमतामा आएको सुधारलाई विशेष रूपमा प्रदर्शन गर्नेछ’ उप-निदेशक वू झेकेले भने, ‘तीन पटक समग्र अभ्यास सम्पन्न भइसकेको छ र नतिजा सन्तोषजनक छ। सबै सैनिकहरु उच्च रुपमा उत्साहित छन्, सबै सैन्य उपकरण राम्रो अवस्थामा छन्।’