सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको तियान्जिन शहर पुगेका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३.१५ बजे तियान्जिनको विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।
हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत् तियान्जिन पुगेका प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए।

तियान्जिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको आजै अपरान्ह चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता हुने भएको छ। तियान्जिन गेष्ट हाउसमा राष्ट्रपति सी–प्रधानमन्त्री ओलीबीच करिव २० मिनेट भेटवार्ता हुने दावी नेपालखबरले गरेको छ।
जसअनुसार राष्ट्रपति सीले ओलीसँग भेटवार्ताका लागि ५ः३० देखि ५ः५० सम्मको समय उपलब्ध गराएका छन्। सी–ओलीबीचको भेटवार्ता तियान्जिन गेष्ट हाउसमा हुनेछ।
तियान्जिन बसाईंका क्रममा प्रधानमन्त्री ओली होलिडे इन होटलमा रहनेछन्। होटलमा पुगेर केहीबेर आराम गरेपछि ओली राष्ट्रपति सीसँग भेटवार्ताका लागि तियान्जिन गेष्ट हाउसतर्फ लाग्नेछन्।
प्रतिनिधिमण्डल स्तरमा हुने सी–ओलीबीचको भेटवार्तामा अन्य १२ जना नेपाली अधिकारीहरूपनि सामेल हुनेछन्।

भेटवार्तामा सहभागी पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीमा आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा छन्।
यसैगरी एमाले नेता एवं सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर(पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना पनि भेटवार्तामा रहनेछन्।
प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव राजेश बज्राचार्य, बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, दूतावासकी कन्सुलर सविता नकर्मी र परराष्ट्र मन्त्रालयका उपसचिव मनहरि दंगाल रहने बताइएको छ।
आइतबार र सोमबार (१५–१६ भदौ) मा तियान्जिनमा हुने एससीओ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने प्रधानमन्त्री ओली मंगलबार (१७ भदौ) मा तियान्जिनबाट बेइजिङ प्रस्थान गर्ने कार्यतालिका छ।