चिनियाँ राष्ट्रपतिको रात्रिभोजअघि प्रम ओलीको दुई अवलोकन भ्रमण, दुई महत्वपूर्ण भेटवार्ता

चीन भ्रमणको क्रममा तियान्जिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको दोस्रो दिन धान उत्पादन विशेष क्षेत्र र दुई पटक नेपाल भ्रमण गरेका चिनियाँ प्रधानमन्त्री चाउ एन-लाईको स्मरणमा स्थापना गरिएको संग्रहालको अवलोकनबाट सुरु भएको छ।

साङघाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको तियान्जिनमा रहेका प्रधानमन्त्री विहान हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया) को भ्रमण गरेका थिए।

ओलीले हुवाइगाउँ भिलेजस्थित सो क्षेत्रमा जेडी-९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ।

लगत्तै ओलीले नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरे। चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री पनि हुन्, जसको नेपालसँग निकै घनिष्ट सम्बन्ध थियो।

लामो समय चिनियाँ प्रधानमन्त्री रहेका चाउ एन-लाईले बिसं २०१३ र बिसं २०१७ गरी दुई पटक नेपालको भ्रमण गरेका थिए।

यी दुबै अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी थिए।

साँझपख प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी र प्रथम महिला पेङ लिउआनले एससीओ शिखर सम्मेलनका अतिथिहरुका लागि आयोजना गरेको रात्रिभोजमा सहभागी हुँदैछन्।

त्यसअघि ओलीले दक्षिण-पूर्वी एसियाली राष्ट्र भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्ह र दक्षिण एसियाली टापु राष्ट्र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुसँग प्रधानमन्त्री ओलीको भेटवार्ता गर्दैछन्।

त्यसमध्ये प्रधानमन्त्री ओली र भियतनामी प्रधानमन्त्री फामबीच तियान्जिनस्थित होटल क्राउन प्लाजामा चिनियाँ चिनियाँ अनुसार अपरान्ह ४ बजेदेखि आधा घण्टा भेटवार्ता हुनेछ।

लगत्तै प्रधानमन्त्री ओलीले दक्षिण एसियाली राष्ट्र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सो भेटवार्ता अपरान्ह ५ बजे हुनेछ। यो भेटवार्ताको स्थलपनि क्राउन प्लाजा नै तय गरिएको छ।