शान्ति र विकासका लागि ‘एससीओ’ को काँधमा अझ ठूलो जिम्मेवारी रहेको राष्ट्रपति सीको भनाई

विश्वमा अनिश्चितता बढ्दै गएको र परिवर्तन तीव्र गतिमा भइरहेको बताउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङले यो परिस्थितिमा शाङ्घाई सहयोग संगठन (एससीओ) ले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न तथा विभिन्न देशहरूको विकास प्रवर्द्धन गर्न अझ ठूलो जिम्मेवारी बहन गरेको उल्लेख गरेका छन्।

चीनको तियान्जिनमा आइतबार र सोमबारसम्म आयोजना भएको क्ऋइ शिखर सम्मेलन- २०२५ मा सहभागी हुन आएका अन्तर्राष्ट्रिय अतिथिहरूको स्वागतका लागि आयोजित रात्रिभोजमा यस्तो धारणा व्यक्त गरेका हुन्।

रात्रिभोजअघि राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुवानले अतिथिहरूलाई स्वागत गरेका थिए।

राष्ट्रपति सीले सबै पक्षको एकताबद्ध प्रयासमार्फत् यो शिखर सम्मेलन पूर्ण सफल हुनेमा विश्वास व्यक्त गरे।

उनले भने, ‘एससीओले अझ ठूलो भूमिका खेल्नेछ, अझ प्रगति हासिल गर्नेछ, सदस्य राष्ट्रहरूबीच एकता र सहकार्य बढाउने, ‘ग्लोबल साउथ; को शक्ति एकत्रित गर्ने र मानव सभ्यतामा नयाँ प्रगति ल्याउन ठूलो योगदान पुर्‍याउनेछ।’

एससीओको स्थापना सन् २००१ जुन महिनामा शाङ्घाईमा स्थापना भएको थियो। ६ संस्थापक सदस्यबाट विस्तार भई हाल यसका १० सदस्य, २ पर्यवेक्षक राष्ट्र र १४ संवाद साझेदार छन्। यो संगठन अहिले एशिया, युरोप र अफ्रिकासहितका २६ राष्ट्रहरूको परिवारमा परिणत भएको छ।

चीन, रूस र भारतजस्ता प्रमुख उदाउँदा बजार र विकासशील मुलुकहरू सदस्य भएकाले ‘एससीओ’ ले विश्वको करिब आधा जनसंख्या र चौथाइ अर्थतन्त्रलाई प्रतिनिधित्व गर्छ।

तियान्जिन शिखर सम्मेलन ‘एससीओ’ अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक सम्मेलन हो। यसमा आगामी दशकको लागि संगठनको विकास रणनीतिसहितका महत्त्वपूर्ण कागजातहरू अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

एससीओ सम्मेलनमा राष्ट्रपति सीको दोस्रो पटकको आतिथ्य हो, जसमा २० भन्दा बढी देशका नेताहरू र १० अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू सहभागी छन्। शिखर सम्मेलनअघि राष्ट्रपति सीले तियान्जिन पुगेका नेताहरूसँग एक दर्जनभन्दा बढी द्विपक्षीय बैठकहरू गरेका थिए।

‘खुला र समावेशी शहरको रूपमा टियानजिन चीनको सुधार र खुलापनको अगुवा क्षेत्र हो र यहाँ सम्मेलन आयोजना हुनुले एससीओको दीगो विकासमा नयाँ ऊर्जा थप्नेछ’ रात्रिभोजमा उपस्थित अतिथिहरुलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भने, ‘एससीओ नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्ने र मानव जातिको साझा भविष्यको समुदाय बनाउने महत्त्वपूर्ण शक्ति बनिसकेको छ।’

यसपटकको शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख परिषद्को २५औँ बैठक तथा ‘एससीओ प्लस’ बैठक सोमबार हुनेछन्।

राष्ट्रपति सीका अनुसार, यी बैठकहरूमा सहकार्य र विकासका योजनाहरूमा छलफल हुनेछ, साथै विश्व शासकीय प्रणाली सुधारका उपायहरू अघि बढाइनेछन्।

‘शाङ्घाई आत्मा’ को मार्गदर्शनमा ‘एससीओ’ ले फेरि पनि तियान्जिनबाट नयाँ यात्रा सुरु गरेर अझ उज्ज्वल भविष्यतर्फ अग्रसर हुने आशा पनि उनले व्यक्त गरे।

रात्रिभोजपछि राष्ट्रपति सी र श्रीमति पेङले अतिथिहरूसँगै एक कला प्रस्तुति अवलोकन गरेका थिए।

प्रस्तुत छ- रात्रिभोजमा राष्ट्रपति सीले गरेको सम्बोधनको पूर्ण पाठ :

आज रात हामी तियान्जिनमा चम्किलो हाइहे नदीको किनारमा भेला भएका छौँ। चारैतिर नदी र पानीसँगको मिलनले परिभाषित यो शहरमा तपाईं सुपरिचित अतिथिहरूलाई चिनियाँ सरकार र जनताको तर्फबाट स्वागत गर्न पाउँदा म अत्यन्तै हर्षित छु।

आजको दिन ‘एससीओ’ सदस्य राष्ट्रका नेताहरूको पुराना र नयाँ मित्रहरूसँग खुसीका साथ भेटघाट हुने अवसर हो। साथै यो दिन किर्गिजस्तानको स्वतन्त्रता दिवस र मलेसियाको राष्ट्रिय दिवस पनि हो।

यस अवसरमा म किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभ र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमका साथै किर्गिजस्तान तथा मलेसियाका मित्र जनताप्रति हार्दिक बधाई प्रकट गर्न चाहन्छु।

तियान्जिन एक खुला र समावेशी महानगर हो। इतिहासमा यसले राष्ट्रको राजधानीको सुरक्षा गर्ने रणनीतिक शहरको भूमिका निर्वाह गरेको छ र चीनको सुधार तथा खुलापनको प्रक्रिया अघि बढाउन अग्रणी परीक्षण क्षेत्रको रूपमा ख्याति कमाएको छ।

पछिल्ला वर्षहरूमा तियान्जिनले बेइजिङ-तियान्जिन-हेबेइ सहकार्यात्मक विकासको राष्ट्रिय रणनीति कार्यान्वयन गर्दै आएको छ र चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउने नयाँ र गतिशील अध्याय लेखिरहेको छ।

हामी विश्वास गर्छौं, यो शिखर सम्मेलनको आतिथ्यकर्ता शहरको रूपमा तियान्जिनले हाम्रो संगठनको दीगो विकासमा नयाँ ऊर्जा थप्नेछ।

स्थापना भएदेखि नै ‘शाङ्घाई स्पिरिट’ सिद्धान्तमा अडिग रहँदै एससीओले एकता र आपसी विश्वासलाई मजबुत पारेको छ। व्यावहारिक सहयोगलाई गहिरो बनाएको छ र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा सक्रिय भूमिका खेलिरहेको छ।

‘एससीओ’ नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने र मानव जातिको साझा भविष्य निर्माण गर्ने एक महत्त्वपूर्ण शक्तिका रूपमा विकसित भएको छ।

आज विश्वमा शताब्दी–परिवर्तन तीब्र गतिमा अगाडि बढिरहेको छ, जहाँ अस्थिरता, अनिश्चितता र अप्रत्याशितताका कारकहरू उल्लेखनीय रूपमा बृद्धि भएका छन्। यस पृष्ठभूमिमा ‘एससीओ’ माथि क्षेत्रीय शान्ति र स्थिरता कायम गर्ने, सबै मुलुकहरुको विकास र समृद्धि प्रवर्द्धन गर्ने अझ ठूलो जिम्मेवारी आएको छ।

यस शिखर सम्मेलनमा हामीमाथि एउटा महत्त्वपूर्ण दायित्व छ- सबै पक्षबीच सहमति निर्माण गर्ने, सहकार्यको ऊर्जा प्रज्वलित गर्ने, र विकासको खाका तयार गर्ने।

भोलि म आफ्ना सहकर्मीहरूसँग सदस्य राष्ट्रका राष्ट्रप्रमुख परिषद् बैठकमा सहभागी हुनेछु।

हामी ‘एससीओ प्लस’ बैठक पनि आयोजना गर्नेछौँ, जसमा गैर-सदस्य राष्ट्रका नेता र अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूसँग छलफल हुनेछ। हामी कसरी सहकार्यलाई सुदृढ गर्ने, विकासलाई प्रवर्द्धन गर्ने र विश्व शासकीय प्रणालीलाई सुधार गर्ने भन्नेबारे केन्द्रित हुनेछौँ।

म विश्वस्त छु, सबै पक्षहरूको सामूहिक प्रयासका साथ यो शिखर सम्मेलन पूर्ण सफल हुनेछ र एससीओले अझ ठूलो भूमिका खेल्नेछ। अझ ठूलो विकास हासिल गर्नेछ र सदस्य राष्ट्रहरूबीच एकता र सहकार्यलाई मजबुत बनाउन ‘ग्लोबल साउथ’ को शक्ति एकत्रित गर्न र मानव प्रगतिका उद्देश्यलाई अगाडि बढाउन ठूलो योगदान पुर्‍याउनेछ।

चिनियाँ भनाइमा उल्लेख भएझैँ ‘सयौं डुङ्गा दौडिरहेका बेलामा, जसले सबैभन्दा जोरले बहाना खियाउँछ, ऊ नै अगाडि बढ्छ।’

आउनुहोस्, हामी शाङ्घाई आत्मालाई कायम राखौं, तियान्जिनबाट आशाले भरिएको नयाँ यात्रामा निस्कौं र अझ उज्ज्वल भविष्यतर्फ अघि बढौं।