चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार वैश्विक शासन पहल (ग्लोबल गभर्नेन्स इनीसिएटिभ-जीजीआई) प्रस्ताव गरेका छन्।
अझै बढी न्यायपूर्ण र समानतामूलक वैश्विक शासन प्रणालीका लागि देशहरूलाई मिलेर काम गर्ने आव्हानका साथ राष्ट्रपति सीले यो प्रस्ताव गरेका हुन्।
सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा सोमबार (१६ भदौ) मा तियान्जिनमा राष्ट्रपति सीले गरेको प्रस्तावलाई नेपालले तत्काल समर्थन गरेको छ। एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसको समर्थन गरेका हुन्।
सम्बोधनका क्रममा ओलीले भनेका छन्, ‘चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनीसिएटिभ (जीजीआई) ले बहुपक्षीय प्रणालीलाई अझ न्यायपूर्ण, समावेशी र समान बनाउन मद्दत गर्नेछ, जसले साझा भविष्यको समुदाय निर्माण गर्नेछ।’

उत्तरी चीनको तिआनजिन शहरमा आयोजित ‘एससीओ प्लस’ बैठकमा राष्ट्रपति सीले यो प्रस्ताव राखेका थिए।
‘एससीओ’ को २४ वर्षको इतिहासमा यो सबैभन्दा ठूलो शिखर सम्मेलन हो, जसमा २० भन्दा बढी मुलुकका शीर्ष नेता र १० अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरूले सहभागिता जनाएका थिए।
यो शिखर सम्मेलन ३१ अगष्ट-१ सेप्टेम्बर (१५-१६ भदौ) मा भएको हो।
‘जीजीआई’ राष्ट्रपति सीले पछिल्ला वर्षहरूमा अघि सारेका चार प्रमुख वैश्विक पहलमध्ये चौथो हो। यसअघि सीले वैश्विक विकास पहल (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ), वैश्विक सुरक्षा (ग्लोबल सेक्युरिटी इनिसिएटिभ)पहल र वैश्विक सभ्यता पहल ((ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ) प्रस्ताव गरिसकेका छन्।
राष्ट्रपति सीले त्यसक्रममा ‘जीजीआई’ का पाँच मूलभूत सिद्धान्तहरू प्रस्तुत गरेका छन्। ती पाँच सिद्धान्मा ‘सार्वभौम समानताको पालना, अन्तर्राष्ट्रिय कानुनको शासनको पालना, बहुपक्षवादको अभ्यास, जन–केन्द्रित दृष्टिकोणको वकालत, वास्तविक कार्यान्वयनमा जोड’ छन्।
‘शान्ति, विकास, सहकार्य र आपसी लाभको ऐतिहासिक प्रवृत्ति अझै अपरिवर्तित भए पनि, शीतयुद्ध मानसिकता, प्रभुत्ववाद र संरक्षणवाद अझै संसारलाई सताइरहेको छ’ शिखर सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भने, ‘नयाँ चुनौती र खतराहरू बढ्दै गएका छन् र विश्व पुनः अस्थिरता र रूपान्तरणको चरणमा प्रवेश गरेको छ। वैश्विक शासन एउटा नयाँ दोबाटोमा आइपुगेको छ।’
यस वर्ष विश्व फासिवादविरोधी युद्धमा विजय र संयुक्त राष्ट्रसंघको स्थापना भएको ८०औँ वार्षिकोत्सव हो। राष्ट्रपति सीले संयुक्त राष्ट्रसंघको स्थिति र अधिकारको अझ दृढतापूर्वक संरक्षण गर्नुपर्ने र वैश्विक शासनमा यसको अपरिहार्य र केन्द्रीय भूमिकालाई सुनिश्चित गर्नुपर्ने कुरामा पनि जोड दिए।
‘आकार, शक्ति र सम्पत्ति जे जस्तो भए पनि सबै मुलुकहरु वैश्विक शासनका समान सहभागी, निर्णयकर्ता र लाभग्राही हुनुपर्छ’ राष्ट्रपति सीले भने, ‘यस सन्दर्भमा दोहोरो मापदण्ड अपनाइनु हुँदैन, केही देशको घरायसी नियम अरुमाथि लाद्न मिल्दैन।’
मानवताका साझा चुनौतीहरू समाधान गर्ने, उत्तर-दक्षिण असमानता घटाउने र सबै देशका साझा हित जोगाउने विषयमा पनि जोड दिए।
एससीओले ‘जीजीआई’ कार्यान्वयनमा अग्रणी भूमिका खेल्नुपर्ने र अस्थिर विश्वमा स्थायित्वको शक्तिका रूपमा उभिनुपर्ने कुरामा पनि राष्ट्रपति सीले जोड दिए।
क्याम्बोडियाको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानका महानिर्देशक किन फिया ले भने, ‘एससीओ’ ले शून्य-योग (जिरो सम) सोचाइको विकल्प प्रस्तुत गरेको छ। निर्देश गर्ने भन्दा सुन्ने, प्रभुत्व भन्दा एकता, र एक्लै लाभ उठाउने भन्दा साझेदारीको वृद्धिको विकल्प प्रदान गरेको छ।
सन् २००१ जुनमा शाङ्घाईमा स्थापना भएको ‘एससीओ’ अहिले विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठन बनेको छ। यसले ५० भन्दा बढी क्षेत्रमा सहकार्य गर्दै आएको छ र यसको संयुक्त आर्थिक उत्पादन करिब ३० ट्रिलियन अमेरिकी डलर पुगेको छ।
राष्ट्रपति सीले संगठनलाई विश्वव्यापी खुला सहकार्यको पक्षमा अघि बढाउनपनि आह्वान गरेका छन्।
‘हामीले पर्खालहरू भत्काउनुपर्छ, बनाउनु हुँदैन, एकीकरण खोज्नुपर्छ, अलगाव होइन’ राष्ट्रपति सीले भने, ‘हामीले उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्यलाई अघि बढाउनुपर्छ र सबैलाई लाभ हुने समावेशी आर्थिक वैश्वीकरणलाई प्रोत्साहित गर्नुपर्छ।’

आफ्नो विशाल बजारका अवसरहरू बाँड्न चीन तयार रहेको र एससीओ परिवारभित्रको उच्च-गुणस्तरीय आर्थिक तथा व्यापारिक सहकार्यको कार्ययोजना कार्यान्वयन गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धतापनि उनले जनाए।
चीनको एससीओ सदस्य राष्ट्रहरूमा लगानी ८४ अर्ब अमेरिकी डलर नाघिसकेको छ, र वार्षिक दुई-पक्षीय व्यापार ५०० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।
राष्ट्रपति सीले विशेषतः आर्टिफिसियल इन्टिलिजेन्समा भएका प्रगतिका लाभको साझेदारीमा पनि जोड दिए। अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशन परियोजनामा संलग्न हुन सक्ने क्षमता भएका देशहरूलाई सहभागी हुनपनि उनले आमन्त्रण गरे।
प्रभुत्ववाद र शक्ति राजनीतिलाई स्पष्टसँग विरोध गर्नुपर्ने आवश्यकता औंल्याउँदै, सीले बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा बढी लोकतन्त्र प्रवर्द्धन गर्ने स्तम्भका रूपमा एससीओ उभिनुपर्ने उल्लेख गरे।
बैठकमा सहभागीहरूले ‘जीजीआई’ लाई ‘समयानुकूल र सान्दर्भिक’ बताउँदै आजको विश्वले सामना गरिरहेका प्रमुख चुनौतीहरू समाधान गर्न यसले चिनियाँ दृष्टिकोण र बुद्धिमत्ता प्रदान गरेको टिप्पणी गरे। साथै शाङ्घाई आत्मा (शाङ्घाई स्पिरिट) लाई अँगाल्ने एससीओको सफल अभ्यासले वैश्विक शासन सुधारको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए।
‘यो पहल अहिलेको आवश्यकता हो र विश्व समुदायको साझा आकांक्षा हो’ पाकिस्तानका पूर्व प्रधानमन्त्रीका विशेष सहयोगी जफर–उद्दिन महमूदले भने, ‘जीजीआईले विश्वमा स्थिरता, सहिष्णुता, शान्ति र समावेशिता ल्याउनेछ।’