जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमण पुरा गरी प्रधानमन्त्री केपी शर्मा ओली बुधबार (१८ भदौ) राति स्वदेश फर्केका छन्।
चीनको तियान्जिन शहरमा आयोजित साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागिताका लागि चीन भ्रमणमा गएका थिए।
चीन भ्रमणबाट फर्केपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा ‘एससीओ’ मा नेपालको सहभागिताको स्तर अभिबृद्धि तथा मार्फत् नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्नु प्रधानमन्त्रीको चीन भ्रमणको उद्देश्य रहेको उल्लेख गरेको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली १४ भदौमा चीनका राष्ट्रपतिसी चिनफिङसँग चियान्जिनमा भेट गरी दुई पक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयहरूमा छलफल गरेका थिए।
त्यसक्रममा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध समस्या रहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।
साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको सफलताको कामना गर्दै सो संस्थामा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोधपनि प्रधानमन्त्री ओलीले गरेका थिए।
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएका लगायत विभिन्न परियोजनाहरूको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रहरूमा सहयोगका लागि अनुरोध गरेको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।
नेपाली भूभाग लिपुलेक नाकामार्फत् सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गरेका थिए।
चिनियाँ राष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने चीनले संयुक्त राष्ट्रसंघ र साङ्घाई सहयोग संगठन लगायतका बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने पनि उल्लेख गरेका थिए।
‘चीनका राष्ट्रपतिले एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्दै दुई देशबीच सहमति भएका उच्च–गुणस्तरीय बीआरआई परियोजनाहरूको कार्यान्वयनमार्फत् नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने कुरा दोहोर्याउनुभयो’ विज्ञप्ती भनिएको छ, ‘भ्रमणका दौरान चीनका महामहिम राष्ट्रपति र उहाँकी धर्मपत्नी म्याडम पेङ लियान ले २०८२ भदौ १५ (२०२५ अगष्ट ३१) गते आयोजना गर्नुभएको स्वागत भोजमा सम्माननीय प्रधानमन्त्रीज्यू सहभागी हुनुभयो।’
प्रधानमन्त्री ओली १६ भदौ (२०२५ सेप्टेम्बर १) मा तियान्जिनमा आयोजित ‘साङ्घाई सहयोग संगठन प्लस’ शिखर सम्मेलनमा सहभागी भएका थिए।
साङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्र, संवाद साझेदारहरू तथा अन्य अतिथि समेत गरी २४ मुलुकका राष्ट्र–सरकार प्रमुखहरू उपस्थित शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन तथा दिगो विकास हासिल गर्ने लगायतका विषयमा विचारहरू प्रस्तुत गर्नुभयो। साङ्घाई सहयोग संगठनमा नेपालको आकांक्षा संवाद साझेदार मात्र नभई पूर्ण सदस्यको रहेको धारणा व्यक्त गरेका थिए।
साथै नियममा आधारित बहुपक्षीयताको भविष्य-विस्तारित सम्पर्क सञ्जाल, परामर्श र सहकार्यमा आधारित हुनुपर्ने मार्गचित्रपनि प्रस्तुत गरेका थिए।
साङ्घाई सहयोग संगठनको शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
त्यसमध्ये रूसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनसँग १७ भदौ राति भेटवार्ता भएको थियो। त्यसक्रममा दुबै नेताले नेपाल–रूस सम्बन्धलाई अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल गरेका थिए।
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले रुसी महासंघका महामहिम राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका थिए।
प्रधानमन्त्री ओलीको भेटवार्ता लाओ जनवादी प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिनसँग पनि भएको थियो।
सो भेटमा दुबै नेताहरूले संस्कृति, कृषि र जनस्तरको सम्बन्धका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने बारेमा विचार विमर्श गरेका थिए।
साथै भूपरिवेष्ठित विकासोन्मुख मुलुक (एलएलडिसी) हरू तथा अतिकम विकसित मुलुकहरू (एलडिसी) का ेहित प्रवर्द्धनका निमित्त अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने बारेमा समेत सहमति भएको थियो।
गणतन्त्र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता भयो। सो भेटवार्तामा दुबै नेताहरूले कृषि, पर्यटन, शिक्षा तथा जनस्तरको सम्बन्धका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गरेका थिए।
पर्वतीय तथा सामुद्रिक मुलुकहरूको विशेष चासोलाई समेट्दै जलवायु परिवर्तनका गम्भीर चुनौतीको सामना गर्न विभिन्न तहमा सहकार्य गर्नुपर्ने आवश्यकताका बारेमा पनि उनीहरुले विचार विमर्श गरेका थिए।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्हसँगको भेटघाटमा नेपाल–भियतनाम मैत्री सम्बन्धलाई अझ सुदृढ तुल्याउने एवं व्यापार तथा लगानी, विज्ञान र प्रविधि, नवप्रवर्तन, डिजिटलाइजेशन, जलवायु परिवर्तन, खेलकुद, शिक्षा, संस्कृतिका साथै हवाई सम्पर्क जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।
कम्बोडिया अधिराज्यका प्रधानमन्त्री समादेच मोहा बोर्बोर थिपादेई हुन मानेटसँगको भेटघाटका क्रममा दुई मुलुकबीच व्यापार, लगानी, पर्यटन, सांस्कृतिक सहयोग प्रबर्द्धन गर्ने विषयमा छलफल भएको थियो।
साथै संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको बताइएको छ।
तियान्जिनमै रहँदा प्रधानमन्त्री ओलीले तियान्जिन नगरपालिकाको हुयिगुआन गाउँमा रहेको धानको पकेट क्षेत्रको भ्रमण गरेका थिए। भ्रमणका क्रममा तियान्जिनको प्रसिद्ध सियाओझान धानको ऐतिहासिक विकास र आधुनिक युगमा यसलाई कसरी पुनर्जीवित गरियो भन्नेबारे जानकारी लिएका थिए।
त्यसैगरी चाउ एनलाई र डेंग यिङ्चाओ स्मारक संग्रहालयको पनि भ्रमण गरेका थिए।
तियान्जिनमा आयोजित साङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागिता पश्चात् सम्माननीय प्रधानमन्त्री ओली १७ भदौमा बेइजिङ प्रस्थान गरेका थिए। बेइजिङ पुगेकी दिन १७ भदौ साँझ प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेट गरी नेपाल(चीन सम्बन्धका विविध विषयहरूमा छलफल गरेका थिए।
छलफलपछि प्रधानमन्त्री ओलीको सम्मानमा चीनका उपराष्ट्रपतिले रात्रिभोज आयोजना गरेका थिए, जहाँ उनी सहभागी भए।
प्रधानमन्त्री ओली १८ भदौ १८ (तदनुसार ३ सेप्टेम्बर २०२५) मा चीन सरकारद्वारा बेइजिङमा आयोजित ‘चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको युद्धमा विजय र फासिवादी विरुद्ध विरुद्ध विश्वको विजयको ८० औँ वार्षिकोत्सव’ समारोहमा सहभागी भएका थिए।
प्रधानमन्त्री ओलीको यस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग भएको द्विपक्षीय भेटघाट र वार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग भएको वार्ताबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रायलले बताएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमणदलमा श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्ण बहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली लगायत नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी थिए।