चीन र उत्तर कोरियाबीचको सम्बन्ध थप घनिष्ट बनाउने दुई शीर्षनेताको प्रतिवद्दता

  • २०८२ भाद्र २०, शुक्रबार

चीन र उत्तर कोरियाका शीर्ष नेताहरुले चीन–उत्तर कोरिया ९डीपीआरके० बीचको पुरानो मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिवद्धता जनाएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली नेता किम जोंग उनबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुल भएको भेटवार्तामा यो प्रतिवद्धता जनाइएको हो।

उत्तर कोरियाली नेता किम बुधबार चीनको राजधानीमा आयोजित विशाल सैन्य परेडसहितको समारोहमा प्रमुख अतिथिका रुपमा सहभागिताका लागि बेइजिंग पुगेका थिए।

सो समारोह चीनले जापानविरुद्ध हासिल गरेको विजय र विश्व फासीवाद विरुद्धको कार्यक्रमका सिलसिलामा चीनले आयोजना गरेको थियो।

राष्ट्रपति सी : रणनीतिक सम्बन्धमा जोड
‘किम जोङ उनको यस वार्षिकोत्सवमा सहभागिताले द्वितीय विश्वयुद्धको विजयका उपलब्धिहरूको रक्षा गर्ने डीपीआरकेको दृढ संकल्पलाई प्रष्ट देखाएको छ’ राष्ट्रपति सीले भने, ‘साथै दुई पार्टी र दुई देशबीचको मित्रता र सहकार्यलाई अझै अघि बढाउने महत्वपूर्ण अवसर पनि प्रदान गरेको छ।’

राष्ट्रपति सीले चीन र उत्तर कोरिया सदैव असल छिमेकी, असल मित्र र असल सहयात्री भएको र उनीहरुले साझा भाग्यको साझेदारीका साथै एकलाई अप्ठेरो पर्दा अर्को सँगै उभिने गरेको कुरा उल्लेख गरे।

चिनियाँ कम्युनिष्ट पार्टी र सरकार दुबै देशबीचको परम्परागत मित्रतालाई अत्यन्तै महत्त्व दिन्छन् र यसलाई जोगाउने, सुदृढ गर्ने र अझ स्वस्थ रूपमा विकास गर्न तयार रहेको पनि उनले बताए।

चीन उच्चस्तरीय सम्पर्क र रणनीतिक संवादलाई अझ बलियो बनाउन, पार्टी तथा राष्ट्र सञ्चालनका अनुभव साटासाटलाई अझ गहिरो बनाएन र परस्पर बुझाइ तथा मित्रतालाई सुदृढ गर्न इच्छुक रहेको जानकारीपनि उनले गराए।

अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा रणनीतिक सहकार्य विस्तार गरी साझा हितको रक्षा गर्नुपर्नेमा पनि राष्ट्रपति सीले जोड दिए।

कोरियाली प्रायद्वीपसम्बन्धी विषयमा चीनले सधैं निष्पक्ष र वस्तुनिष्ठ दृष्टिकोण अपनाउँदै आएको उल्लेख गर्दै राष्ट्रपति सीले शान्ति र स्थिरता कायम गर्न डीपीआरकेसँग सहकार्य र समन्वयलाई निरन्तर बलियो बनाउन तयार रहेको बताए।

किम : चीन-उत्तर कोरियाको सम्बन्ध अपरिवर्तनीय
उत्तर कोरियाली नेता किमले जापानी आक्रमणविरुद्धको युद्धकालमा उत्तर कोरिया र चीनका पुराना नेताहरूले गहिरो सम्बन्ध बनाएको उल्लेख गर्दै दुबै देशले यो सम्बन्धलाई पुस्तौं पुस्तासम्म निरन्तरता दिनुपर्नेमा जोड दिए।

‘अन्तर्राष्ट्रिय परिदृश्यमा जस्तोसुकै परिवर्तन आओस्, उत्तर कोरिया र चीनबीचको मित्रता भने अपरिवर्तनीय रहन्छ’ नेता किमले भने, ‘उत्तर कोरियाको दृढ अडान भनेकै यस द्विपक्षीय सम्बन्धलाई लगातार गहिरो बनाउने र विकास गर्ने हो।’

उत्तर कोरिया चीनसँग विभिन्न तहमा पार्टी तथा राष्ट्रबीच सम्पर्क विस्तार गर्न, पार्टी निर्माण, आर्थिक विकास र अन्य क्षेत्रमा अनुभव साटासाट गर्न, दुवै देशका पार्टी र राष्ट्रको विकासलाई समर्थन गर्ने गरी सहकार्य गर्न इच्छुक रहेको बताउँदै नेता किमले पारस्परिक लाभ हुने गरी आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ गहिरो बनाएर ठूला उपलब्धिहरू हासिल गर्न सकिने उल्लेख गरे।

सम्मानमा दिवाभोज
वार्तापछि राष्ट्रपति सी र उत्तर कोरियाली नेता किमबीच चियापान भएको थियो। राष्ट्रपति सीले नेता किमको सम्मानमा भोजको आयोजनासमेत गरेका थिए।

यी कार्यक्रमहरूमा चिनियाँ उच्च अधिकारीहरू काई छि र वाङ यी पनि उपस्थित थिए।

  • २०८२ भाद्र २०, शुक्रबार