अन्तरिम सरकारको नेतृत्व सम्हालेको ठीक हप्तापछि प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सक्रियता बढाएकी छन्। २७ भदौमा प्रधानमन्त्री नियुक्त कार्कीले विहीबार (२ असोज) एकैदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता, नेपालका लागि चिनियाँ राजदूत चेन सङ र अमेरिकी राजदूत डिन आर थम्प्सनसँग भेटवार्ता गरेकी हुन्।
प्रधानमन्त्री कार्कीको पहिलो कुटनीतिक इन्गेजमेन्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको थियो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार (३१ भदौ) मा भेट गरी प्रधानमन्त्री मोदीले आज फोन गर्ने जारी गराएका थिए।
पूर्वनिर्धारित कार्यक्रम अनुसार भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री कार्कीले टेलिफोन वार्ता त गरिन् नै, नेपालको आन्तरिक राजनीतिमा महत्व राख्ने नेपालकालागि चिनियाँ राजदूत चेन सङ र अमेरिकी राजदूत डिन आर थम्पसनसँग समेत भेटवार्ता गरिन्।
पहिलो महिला प्रधानमन्त्री बनेकोमा बधाई
प्रधानमन्त्री कार्कीसँगको फोनवार्ता र भएका कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले तत्काल सामाजिक सन्जाल एक्स मार्फत् जानकारी दिएका थिए।
मोदीले लेखका थिए, ‘शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।‘

प्रधानमन्त्रीद्वय कार्की–मोदीबीचको टेलिफोन वार्ताबारे नेपलाको परराष्ट्र मन्त्रालयले विहीबार अपरान्ह प्रेस विज्ञप्तीमार्फत् जानकारी गराएको छ।
मन्त्रालयका अनुसार, नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्कीको नियुक्तिप्रति मोदीले बधाई ज्ञापन गरेका थिए। साथै भर्खरैको युवा आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली अर्पण गरेका थिए र यो निर्णायक घडीमा भारतको ऐक्यवद्दता प्रकट गरेका थिए।
प्रधानमन्त्री कार्कीले आफ्ना भारतीय समकक्षी मोदीको ७५ औँ जन्मदिन (सेप्टेम्बर १७) को शुभकामना प्रदान गरेकी थिइन् र नेपालप्रति ऐक्यवद्दता प्रकट गरेकोमा उच्च प्रसंशापनि गरेकी थिइन्।
हालैको जेन–जेड आन्दोलनलाई सम्बोधन गर्न वर्तमान सरकारले निर्वाचनलाई उच्च प्राथमिकतामा राखिएको पनि प्रधानमन्त्री कार्कीले प्रष्ट पारेकी थिइन्।
युवाहरुको आकांक्षालाई प्रतिबिम्बित गर्ने गरी जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त सुशासन सुनिश्चित गर्न सरकार दृढप्रतिबद्ध रहेको कुरा पनि त्यसक्रममा उनले उल्लेख गरिन्।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारको प्राथमिकताप्रति भारतले पूर्ण समर्थन गर्ने र सहयोग उपलब्ध गराउने आश्वासनसमेत दिएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्कीले नेपाल र भारतबीचको ऐतिहासिक र घनिष्ठ रहेको उल्लेख गर्दै यो बहुआयामिक सम्बन्ध जन–जनस्तरका सम्बन्धका कारण .अझै सुदृढ हुँदै जाने विश्वास पनि व्यक्त गरेकी थिइन्।
परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा भनिएको छ।, ‘दुबै प्रधानमन्त्रीले दुई देशका जनताको हितका लागि द्विपक्षीय सहयोग र साझेदारीलाई अझ .मजबुत हुनेगरी सम्बन्धलाई गति र निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’
परराष्ट्र मन्त्रालयका अनुसार कार्की–मोदीबीचको भेटवार्ता २० मिनेट लामो थियो।
सो टेलिफोन वार्तापछि मोदीले ट्वीटर (एक्स) ह्याण्डलमा लेखेका छन् कि, नेपालको शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न प्रधानमन्त्री कार्कीले गरेका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा उनले पुनः आश्वस्त गराएका थिए।
‘एक चीन नीति’ प्रति प्रतिबद्दता
भारतीय प्रधानमन्त्रीसँग टेलिफोन वार्तापछि नेपालको राजनीतिमा महत्व राख्ने दुई शक्ति राष्ट्रका राजदूतहरुसँग प्रधानमन्त्री कार्कीले भेटवार्ता गरिन्।
ती दुई राजदूतहरु थिए, नेपालका लागि चिनियाँ राजदूत चेन सङ र अमेरिकी राजदूत डिन थम्पसन। यसमध्ये चिनियाँ राजदूत चेन सङसँग पहिले र अमेरिकी राजदूत थम्पसनसँग त्यसपछि भेटवार्ता भएको थियो।
राससका अनुसार दुबै भेटवार्ता सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएका थिए। त्यसक्रममा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताएकी थिइन्।
चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गानाका अनुसार प्रधानमन्त्री कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वाससमेत प्रधानमन्त्री कार्कीले व्यक्त गरेकी थिइन्।
बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा तत्परतासहित चीन सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले अन्य नाकाहरूबाट पनि आवतजावत सहजीकरणका लागि आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन्।
त्यसक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल र चीनबीचमा रहिआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए।
चीन–नेपालबीच भएका सम्झौता, सहयोग र सहकार्यले निरन्तरता पाउने बताउँदै चिनियाँ राजदूतले दुब देश र जनताका हितमा काम गर्न चीन सदैव तयार रहेको उल्लेख गरेका थिए।
राजदूत सङसँग प्रधानमन्त्री कार्कीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको, नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने उल्लेख गरेकी थिइन्।
कार्की प्रधानमन्त्री बनेलगत्तै भारतमा निर्वासित तिब्बती धार्मिक नेता दलाई लामा र निर्वासित तिब्बती सरकारका प्रधानमन्त्री र सभामुखले बधाई ज्ञापन गरेको समाचार सार्वजनिक भएका थिए। तर, कार्कीले चिनियाँ राजदूत सङसँग नेपालले एक चीन नीतिलाई नै निरन्तरता दिने कुरामा आश्वस्त गराइन्।
नेपालखबरका अनुसार प्रधानमन्त्री कार्कीले बीआरआई सहयोग परियोजनाहरूबारे पनि कुराकानी गरेकी थिइन्। यस सम्बन्धी परियोजनामा नेपाल चीनसँग सहकार्य गर्न हामी तत्पर रहेको उल्लेख गर्दै तर अहिलेको सरकारको प्राथमिकता चुनाव गराउने भएकाले पहिलेजस्तै चीनको सहयोगको अपेक्षा गरेकी थिइन्।
चिनियाँ राजदूतले चुनावका लागि नेपाल सरकारलाई आवश्यक पर्ने सहयोग सहयोगका लागि चीन सरकार तयार रहेको उल्लेख गरेका थिए।
‘हामी नेपाली जनताको चाहनाको सम्मान गर्छौं, ‘आगामी दिनमा पनि सहयोग गर्छ’ नेपाल सरकारलाई आवश्यक पर्ने सहयोग गर्न असल छिमेकीको नाताले चीन सधैँ तयार छ।’
एमसीसी परियोजना समयमै सम्पन्न गरिने
भारतीय प्रधानमन्त्री मोदीसँगको टेलिफोन वार्ता, चिनियाँ राजदूतसँगको भेटवार्तापछि अब पालो थियो, नेपालका लागि अमेरिकी राजदूत राजदूत डिन आर थम्प्सनसँग वार्ता।
राससका अनुसार आफूसँग शिष्टाचार भेटका लागि आएका अमेरिकी राजदूत थम्पसनसँगको भेटवार्तामा प्रधानमन्त्री कार्कीले नेपालमा सन्चालिन अमेरिकी ‘एमसीसी परियोजना’ समयमै सम्पन्न गर्ने बताएकी थिइन्।

अहिलेको सरकार जेनजी आन्दोलनको परिणाम भएको उल्लेख गर्दै आफूहरु मानवअधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उल्लेख गरेकी थिइन्। साथै उनले चुनावमा अमेरिकाबाट पनि सहयोगको अपेक्षा गरेकी थिइन्।
राससका अनुसार सो भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्।
राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
तीन वार्ताको कुटनीतिक अर्थ
भारतीय प्रधानमन्त्रीसँग फोवार्ता लगत्तै पालैपालो पहिले चिनियाँ र त्यसपछि अमेरिकी राजदूतलाई शिष्टाचार भेटवार्ताका लागि समय गराइयो।
यो संयोगमात्र थियो वा जानीबुझिकन यसरी एकैदिन पालैपालो भेटवार्ताको समय व्यवस्थापन गरिएको थियो, त्यो प्रष्ट छैन। तर, सुरुमा भारतीय प्रधानमन्त्री, त्यसपछि क्रमशः चिनियाँ र अमेरिकी राजदूससँगको भेटवार्ताले कार्की नेतृत्वको अन्तरिम सरकारले पनि भारत, चीन र अमेरिकालाई बढी प्राथमिकता दिने सन्देश दिएको छ।
यसमध्ये सीमा जोडिएको र समान संस्कृति रहेको भारतीय प्रधानमन्त्री मोदीसँग फोनवार्तापछि चिनियाँ र अमेरिकी राजदूतसँगको भेटवार्ताले पहिलो प्राथमिकता भारत, त्यसपछि चीन र अमेरिका रहेछ भन्ने संकेत पनि गरेको छ।
प्रधानमन्त्री कार्कीको पहिलो कुटनीतिक भेटवार्ता भने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भएको थियो। तिलगंगा आँखा अस्पताल पुगेर विहान आँखाको उपचार गराएकी प्रधानमन्त्री कार्की भारतीय राजदूत श्रीवास्तवले भेट्न चाहेपछि अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेकी थिइन्।
नयाँ प्रधानमन्त्री चयन भएपछि सबैभन्दा पहिले भारतीय राजदूतले भेट खोज्ने स्वभाविक प्रचलन नै छ। त्यसबाहेक प्रधानमन्त्री मोदीको कार्कीसँग फोनवार्ता गर्ने योजना सुनाउनपनि उनले भेटवार्ता गर्न खोजेका थिए।
प्रधानमन्त्री नियुक्त भएको एक हप्तापछि कार्कीले एकैदिन गरेका तीन वार्ताहरुको पहिलो कुटनीतिक सन्देश ‘अन्तरिम सरकारको सबैभन्दा बढी प्राथमिकतामा क्रमशः भारत, चीन र अमेरिका छन्’ भन्ने

हो।
दोस्रो सन्देश हो, जेन जी आन्दोलनले राजनीतिक परिवर्तन भएपनि नेपालको एक चीन सिद्धान्तप्रतिको नीतिमा परिवर्तन हुनेछैन।
खासमा कार्की प्रधानमन्त्री नियुक्त भएपछि भारतमा निर्वासित तिब्बती धार्मिक नेता दलाई लामा, निर्वासित तिब्बती सरकारका प्रधानमन्त्री पेन्पा छिरिङ रनिर्वासित तिब्बती संसदका सभामुख खेन्पो सोनाम तेन्फेलले बधाई सन्देश दिएका थिए।
नेपालले तिब्बतलाई चीनको अभिन्न भूभाग मान्दै आएको छ। तर, नेपालमा निर्वाचित प्रधानमन्त्रीलाई दलाई लामा र निर्वासित तिब्बती सरकारका प्रधानमन्त्री र संसदका सभामुखले बधाई सन्देश पठाएपछि अन्तरिम सरकारको पालामा नेपालको एक चीन नीतिप्रति आशंका उत्पन्न भएका थियो।
खासगरी नेपालमा ठूला राजनीतिक परिवर्तन हुँदा चीनलाई तिब्बतलाई चीनबाट अलग्याउन चाहने पृथकतावादीहरु उत्साहित हुने गरेका छन्। दलाई लामा, निर्वासित तिब्बती सरकारका प्रधानमन्त्री पेन्पा छिरिङ रनिर्वासित तिब्बती संसदका सभामुख खेन्पो सोनाम तेन्फेलले प्रधानमन्त्री कार्कीलाई दिएको शुभकामना सन्देशको उद्देश्य यही थियो।
तर, चिनियाँ राजदूतले गरेको शिष्टाचार भेटमार्फत् प्रधानमन्त्री कार्कीले त्यो आशंका अन्त्य गरिदिएकी छन्।
भारतीय प्रधानमन्त्री मोदी, चिनियाँ राजदूत छन सङ र अमेरिकी राजदूत थम्पसन तीनै जनासँग प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको मुख्य दायित्व चुनाव सम्पन्न गराउनु भएको जानकारी गराइन् र सहयोग माग गरिन्। भारत, चीन, अमेरिका तीनै मुलुकले चुनावमा नेपाललाई सक्दो सहयोग सहयोग गर्ने वचन दिएका छन्।
त्यसैले, यी तीन वार्ताको तेस्रो सन्देश हो– जेन जी आन्दोलनले ल्याएको परिवर्तनलाई नेपालको राजनीतिमा महत्व राख्ने तीनवटै मुलुकले स्वीकार गरेका छन्, नयाँ राजनीतिक प्रक्रियामा उनीहरुले नेपाललाई सघाउने पनि छन्।