हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकहरुको ‘विदाई तस्वीर’ सार्वजनिक

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलको गाजा सिटीमा इजरायलले गरिरहेको स्थल र हवाई आक्रमणले नेपाली विद्यार्थी विपिन जोशीसहितका बन्धकहरूको सुरक्षा संकटमा परेको बताएको छ।

उनीहरुको ‘विदाई तस्वीर’ सार्वजनिक गर्दै हमासले उनीहरुको जीवन सुरक्षा संकटमा परेको उल्लेख गरेको हो।

उसको सशस्त्र शाखा ‘कास्साम ब्रिगेड्स‘ ले गाजामा राखिएका भनिएका ४८ इजरायली बन्धकहरूको ‘विदाइको तस्वीर’ मा नेपाली विद्यार्थी जोशीको तस्वीर समेत सामेल छ।

इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्रलाई घेरामा पारेर नष्ट र कब्जा गरिरहेका बेला हमासले आफ्नो कब्जामा रहेका ४८ बन्दीहरुको सामुहिक तस्वीर सार्वजनिक गरेको हो।

शनिबार (२० सेप्टेम्बर, ४ असोज) कास्साम ब्रिगेड्सले अनलाइनमा पोस्ट गरेका तस्वीरहरुमा सबै जीवित र मृत बन्धकहरूको अनुहार देख्न सकिन्छ।

प्रत्येक तस्वीरको तलतिर ‘रोन अराद’ उल्लेख गरिएको छ। यो शब्दावलीले इजरायली हवाई सेनाका कप्तान रोन अरादलाई संकेत गर्ने अजजजिरा सम्बाददालता मजिर मोतावेदीले आफ्नो समाचारमा उल्लेख गरेका छन्।

पत्रकार मोदावेदीका भनाईमा, रोन अराज सन् १९८६ मा लेबननमा हराएका इजरायली वायुसेनाका क्याप्टेन थिए।

लेवननमा आक्रमण गर्न गएको एफ-फोन फ्यान्टम विमान दक्षिणी लेबननमा आक्रमण गर्ने क्रममा पूर्वनिर्धारित बम विस्फोटमा परेको थियो। त्यसपछि उनी अमल आन्दोलनकारीहरुको कब्जामा परेका थिए।

पछि उनलाई हिजबुल्लाहको जिम्मा लगाइएको थियो। त्यसयता अरादको स्थितिबारे कुनै जानकारी छैन। तर, उनको मृत्यु भएको विश्वास गरिदै आएको छ।

अलजजिराका अनुसार हमासले सार्वजनिक गरेको सो तस्वीरमुनि लेखिएको छ, ‘नेतान्याहुको अस्वीकृति र ज़मिरको आत्मसमर्पणका कारण गाजा सिटीमा सैनिक अभियान सुरु हुन लाग्दा विदाइको तस्वीर।’

ती सामुहिक तस्वीरको दायाँ-बायाँ दुईवटा मैनवत्तीसमेत बालिएका छन्, जसले उनीहरुलाई श्रद्धान्जली दिइएको हो भन्ने जनाउँछ।

नेतान्याहुको अस्वीकृति’ भन्नुको अर्थ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजामा सन्चालन गरेको नरसंहारकारी युद्ध अन्त्य गर्न हमाससँग कुनै सम्झौता नगर्ने बारम्बारको अस्वीकृतिलाई जनाउँछ भने ‘ज़मिरको आत्मसमर्पण’ ले इजरायली सेना प्रमुख एयल ज़मिरको नेतृत्वमा गाजामा बढाइँदै लगिएको जमिनी र हवाई आक्रमणलाई जनाउँछ।

यद्यपी, गाजामा सन्चालन गरिएको यो सैन्य कार्वाहीप्रति सेना प्रमुख जमिरले अस्वीकृति जनाएका थिए। अस्वीकृतिका बाबजुद प्रधानमन्त्री नेतान्याहुको योजना अनुसार गाजा सिटी कब्जा गर्ने सैनिक आक्रमणको उनले नेतृत्व गरिरहेका छन्।

इजरायली अधिकारीहरु करिब २० जना बन्धक अझै गाजामा जीवित रहेको विश्वास गर्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २० भन्दा कम मात्र जीवित हुनसक्ने बताएका छन्।

ट्रम्प र नेतान्याहूले पटक-पटक सबै जीवित र मृत बन्धकलाई फर्काउने र हमासलाई ध्वस्त पार्ने दावी गर्दै आएका छन्।

हमासले भने इजरायलले आक्रमण अझै तीब्र बनाउँदै लगे बन्धकहरुको जीवन खतरामा पर्ने चेतावनी दिदै आएको छ। उसले गाजा सिटीका विभिन्न टोल तथा वडाहरूमा बन्धकहरु छरिएर राखिएको बताएको छ।

चेतावनीस्वरुप हमासले बन्धकहरुको सामुहिक तस्वीर त्यो बेला सार्वजनिक गरेको छ, जतिबेला लाखौँ इजरायलीहरु तेल अवीभ र अन्य सहरका सडकमा सरकारविरुद्ध प्रदर्शन गर्न, युद्ध तुरुन्त अन्त्य गर्न र सबै बन्धकलाई फर्काउने व्यापक सम्झौताको माग गर्दै प्रदर्शनमा उत्रने तयारीमा थिए।