ऊर्जा र स्वास्थ्यका लागि जर्मनीको ४१ मिलियन युरो अनुदान सहयोग

नेपाल र जर्मनीबीच प्राविधिक तथा वित्तीय सहयोगसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। हस्ताक्षर सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सम्पन्न भएको हो।

नेपाल र जर्मनीबीच प्राविधिक तथा वित्तीय सहयोगसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। हस्ताक्षर सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सम्पन्न भएको हो।

नेपालका लागि जर्मन राजदूत उदो फोल्ज र अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका संयोजक तथा सहसचिव धनिराम शर्माबीच दुई मुलुकको तर्फबाट सम्झौतामा हस्ताक्षर भएको हो।

सो सम्झौता अन्तर्गत जर्मन सरकारले नेपाललाई ४१ मिलियन युरो बराबरको अनुदान प्रदान गर्नेछ।

सम्झौता ४-५ सेप्टेम्बर २०२४ मा जर्मनीको बर्लिनमा सम्पन्न नेपाल-जर्मनी सरकारी वार्ताका प्रतिवद्धतामाथि आधारित रहेको र अन्तर्राष्ट्रिय कानुन अनुसार तयार गरिएको बताइएको छ।

सम्झौताअनुसारका सहयोगका क्षेत्रहरूमा ऊर्जा, दीगो आर्थिक विकास र स्वास्थ्य क्षेत्र समावेश छन्।

परियोजनामध्ये एक ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ प्रोग्राम (PoDiSP) हो। यो परियोजनाको उद्देश्य पोखरा, बुटवल र भरतपुर आसपासका क्षेत्रमा बिजुली वितरण प्रणाली र उपभोग सुदृढ बनाउनु रहेको सम्झौतापछि जर्मन राजदूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

विज्ञप्तीका अनुसार, यस कार्यक्रमका लागि पहिले नै १० मिलियन युरो स्वीकृत गरिएको थियो। अब यसमा २० मिलियन युरो थप गरिएको छ।

यसैगरी ‘ग्रीन रेजिलियन्ट एग्रीकल्चर-सेन्टर्ड प्राइभेट सेक्टर इकोनोमिक डेभलपमेन्ट (GRAPE) परियोजना सुदृढीकरणका लागि थप १२ मिलियन युरो उपलब्ध गराइने भएको छ।

त्यसबाहेक स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि ‘स्ट्रेन्थेनिङ अफ क्वालिटी इन्फ्रास्ट्रक्चर फर द हेल्थ सिस्टम’ शीर्षकको अर्को परियोजनाका लागि १.५ मिलियन युरो विनियोजन गरिएको छ।

विज्ञप्तीका अनुसार, सम्भव भएसम्म जर्मनीले आफ्ना परियोजनाहरू ‘टिम युरोप’ दृष्टिकोण अन्तर्गत युरोपेली साझेदारहरूसँग सहकार्यमा कार्यान्वयन गर्दै आएको छ।

नेपालमा पनि GRAPE र PoDiSP जस्ता महत्त्वपूर्ण परियोजनाहरूमा जर्मनीले युरोपेली संघ (EU) सँग मिलेर काम गर्दै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

यी परियोजनाहरू जर्मनीका कार्यान्वयन एजेन्सीहरू Deutsche Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH, Kreditanstalt für Wiederaufbau (KfW) र Physikalisch-Technische Bundesanstalt (PTB) मार्फत सञ्चालन गरिने छन्।

सम्झौता हस्ताक्षर समारोहमा नेपालका लागि जर्मन राजदूत उदो फोल्जले सम्बोधन गरेका थिए। त्यसक्रममा उनले नेपाल-जर्मनी विकास सहकार्यप्रति कृतज्ञता व्यक्त गरे।

उनको भनाई थियो, ‘यी नयाँ प्रतिबद्धताका माध्यमबाट हामी नेपाल र यहाँका जनतासँग ऊर्जा, दीगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका क्षेत्रमा हाम्रो सहकार्य अझ गहिरो बनाउने छौँ।’

सम्पन्न भएका सम्झौताहरूले नेपाल र जर्मनीबीचको सम्बन्धको गहिराइ र दुबै देशको समावेशी तथा दीगो विकासप्रतिको साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने कुरा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले बताए।

सहसचिव शर्माले भने, ‘नेपाली जनतालाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने मुख्य क्षेत्रहरूमा निरन्तर सहयोग पुर्‍याएकोमा हामी जर्मनीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ।’

कार्यक्रममा जर्मन सहयोग नियोग लगायत विभिन्न जर्मन संस्था र नेपालका विभिन्न मन्त्रालयका अधिकारीहरू उपस्थित थिए।