चार वर्षभित्र भ्रष्टाचारविरुद्धका प्रयास थप सुदृढ गर्ने सीपीसीको योजना

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अनुशासनसम्बन्धी निकायले १५ औँ पञ्चवर्षीय योजनाको अवधि (२०२६–२०३०) मा भ्रष्टाचारविरुद्धका प्रयासहरूलाई अझ सुदृढ बनाउन आह्वान गरेको छ।

२० औँ सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग (सीसीडीआई) को पाँचौँ पूर्ण बैठकमा पारित गरिएको एक विज्ञप्तिमार्फत् गरिएको हो। उक्त बैठक सोमबारदेखि बुधबार (१२–१४ जनवरी, २८(३० पुष) सम्म बेइजिङमा सम्पन्न भएको चिनियाँ समाचार संस्था ‘सिन्ह्वा’ ले उल्लेख गरेको छ।

बैठकमा चिनियाँ राष्ट्रपति, सीपीसी केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ पनि सहभागी थिए। बैठकमा राष्ट्रपति सीले निकै महत्वपूर्ण सम्बोधन गरेको पनि सिन्ह्वाले आफ्नो समाचारमा उल्लेख गरेको छ।

पूर्ण बैठकले सन् २०२५ मा सम्पन्न अनुशासन निरीक्षण तथा पर्यवेक्षणसम्बन्धी कार्यहरूको समीक्षा गरेको छ। साथै सन् २०२६ का लागि कार्यभारहरू निर्धारण गरेको छ।

बैठकले सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा सीसीडीआईका सचिव ली सीले सीसीडीआईको स्थायी समितिको तर्फबाट प्रस्तुत गरेको कार्य–प्रतिवेदन अनुमोदनपनि गरेको छ।

बैठकले सर्वसम्मत रूपमा राष्ट्रपति एवं पार्टी महासचिव सी चिनफिङको महत्वपूर्ण भाषणलाई मार्गदर्शनका रूपमा लिने, राजनीतिक निगरानीलाई निरन्तर सुदृढ बनाउने, तथा आचरण सुधार, अनुशासन कार्यान्वयन र भ्रष्टाचारविरुद्धको संघर्षलाई दृढतापूर्वक अगाडि बढाइरहने निर्णय गरेको छ।

उल्लेख गरिए अनुसार सन् २०२५ मा शीर्ष अनुशासन निकायले अनुशासन उल्लङ्घनका सामान्य (प्रतिनिधिमूलक) घटनाहरूको अनुसन्धान, कारबाही र सार्वजनिक रूपमा उजागर गरेको छ। यसले कार्यशैली सुधारलाई थप प्रवर्द्धन गर्नुका साथै पार्टीभित्र नयाँ अभ्यासहरूको विकासमा सहयोग पुगेको निष्कर्ष निकालिएको छ।

वित्त, राज्य–स्वामित्वका उद्यम, ऊर्जा, अग्नि–नियन्त्रण (फायरफाइटिङ), सुर्तीजन्य उद्योग, औषधि, उच्च शिक्षा तथा खेलकुद जस्ता प्रमुख क्षेत्रहरूमा हुने भ्रष्टाचारविरुद्धका प्रयासलाई तीव्र पनि बनाइएको छ।

यसैगरी जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा हुने गलत व्यवहार तथा भ्रष्टाचारविरुद्धका अभियानहरूलाई अझ गहिरो बनाइएको छ। अनुशासन निरीक्षण तथा पर्यवेक्षण प्रणालीको सुधारलाई पनि थप गहिराइमा अघि बढाइएको छ।

चीन १५औँ पञ्चवर्षीय योजनाको अवधिमा प्रवेश गर्दै गर्दा, सीपीसीले पार्टीको पूर्ण तथा कडा आत्म–शासनलाई अघि बढाउन नयाँ आवश्यकताहरू सामना गरिरहेको कुरा बैठकले स्वीकार गरेको छ। र, भ्रष्टाचार सुरुवातको आधार तथा परिस्थितिको अन्त्यका लागि अझ सशक्त र प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ।

बैठकले उक्त अवधि (सन् २०२६–२०३०) का उद्देश्य तथा कार्य सफलतापूर्वक पूरा गर्न राजनीतिक निगरानीलाई सुदृढ बनाउनु अत्यावश्यक रहेको कुरामा जोड दिएको छ। यसैगरी नियमहरू बेवास्ता गर्ने व्यवहार, अवसरवादी प्रवृत्ति, गुटबन्दी, विभागीय संकुचित सोच तथा सिद्धान्तविहीन रुपमा ‘सबैलाई खुसी पार्ने’ प्रवृत्तिविरुद्ध कडा कारबाही गर्न आह्वान गरेको छ।

आचरणसम्बन्धी मापदण्डहरू परिष्कृत गर्न दीर्घकालीन संयन्त्रहरू सुधार गर्नुपर्ने आवश्यकता बैठकले औँल्याएको छ भने उच्च प्राथमिकतामा रहेका क्षेत्रहरूमा भ्रष्टाचारविरुद्धका प्रयासहरूलाई अझ तीब्र पार्न निर्देशन दिएको छ। अधिकारीहरू र व्यापारीहरूबीचको साँठगाँठ (कोल्युजन) प्रति कडा निगरानी, अनुसन्धान तथा सजायको व्यवस्था गर्न पनि बैठकले आदेशसमेत दिएको छ।

अनुशासन निरीक्षण तथा पर्यवेक्षणसम्बन्धी कार्यलाई अझ परिस्कृत र कानुनअनुसार सञ्चालन गर्नुपर्ने मागपनि बैठकले गरेको छ।

बैठकमा राष्ट्रपति सीका अलावा प्रधानमन्त्री ली छ्याङ, राष्ट्रिय जनप्रतिनिधि सम्मेलन स्थायी समितिका अध्यक्ष झाओ लेजी, चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिङ, सीपीसी केन्द्रीय समितिका सचिवालय सदस्य साई छी, उपप्रधानमन्त्री डिङ सुएशियाङ तथा ली सी लगायतका पार्टी तथा राज्यका नेताहरू सहभागी थिए।