चिनियाँ राष्ट्रपति सी जिनपिङले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा १६ जनवरीमा भएको भेटघाट स्रोत सिन्ह्वा स्ये हुआन्ची
गत वर्षदेखि सुधारोन्मुख चीन–क्यानाडा सम्बन्धलाई भावी दिशा तय गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीबीच पुन भेटवार्ता भएको छ। दुई राष्ट्रका कार्यकारीबीच तीन महिनाभन्दा छोटो अवधिमा शुक्रबार बेइजिंगमा दोस्रो पटक भेटघाट भएको हो।
राष्ट्रपति सी र प्रधानमन्त्री कार्नीबीच गत अक्टोबरमा दक्षिण कोरियाको ग्येओन्जुमा भेट भएको थियो। त्यो भेटले चीन–क्यानाडाबीच द्विपक्षीय सम्बन्धमा महत्वपूर्ण एवं सकारात्मक मोड ल्याएको थियो।
राष्ट्रपति सीको जोड
त्यो भेटपछि दुबै मुलुकले विविध क्षेत्रमा पुन सहकार्यको सुरुवात र विस्तार गर्ने सम्बन्धमा गहन छलफल गरेका थिए, जसले सकारात्मक नतिजापनि हासिल गर्यो।
यसक्रममा चिनियाँ राष्ट्रपति सीले चीन–क्यानाडा सम्बन्धलाई स्वस्थ र स्थिर तरिकाले विकास गर्नु दुबै मुलुकको साझा हितमा रहेको बताएका छन्। साथै यस्तो सम्बन्धले विश्व शान्ति, स्थिरता, विकास तथा समृद्धिमा पनि योगदान पुर्याउनेपनि उल्लेख गरेका छन्।
क्यानाडाका प्रधानमन्त्री कार्नीको चीन भ्रमणको क्रममा राष्ट्रपति सीले उपरोक्त कुरा बताएका हुन्। प्रधानमन्त्री कार्नी बुधबार (१४ जनवरी) देखि शनिबार (१७ जनवरी) सम्म चीनको औपचारिक भ्रमणमा छन्। यो क्यानाडेली प्रधानमन्त्रीको आठ वर्षयताको पहिलो चीन भ्रमण हो।
प्रधानमन्त्री कार्नीसँगको भेटवार्ताको क्रममा राष्ट्रपति सीले इतिहास, जनताको हित र विश्वप्रति जिम्मेवारीको भावनासहित दुवै पक्षले चीन–क्यानाडा नयाँ रणनीतिक साझेदारीलाई अघि बढाउनुपर्ने, द्विपक्षीय सम्बन्धलाई स्वस्थ, स्थिर र दीगो विकासको मार्गमा डोर्याउनुपर्ने र दुवै देशका जनतालाई थप फाइदा पुर्याउनुपर्ने जोड दिए।
चीन र क्यानाडा आपसी सम्मान, साझा विकास, आपसी विश्वास र सहकार्यका साझेदार हुनुपर्नेमा पनि उनले जोड दिए।
दुवै देशका राष्ट्रिय अवस्था फरक रहेको बताउँदै राष्ट्रपति सील तर एक मुलुकले अर्काे मुलुकको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने, आ–आफ्नो राजनीतिक प्रणाली र विकास मार्गको सम्मान गर्नुपर्ने तथा आपसी सहअस्तित्वको सही तरिका अपनाउनुपर्ने उल्लेख गरे।
चीन–क्यानाडा आर्थिक तथा व्यापारिक सम्बन्धको सार आपसी लाभ र दुवै पक्षलाई जित दिलाउने सहकार्यमा आधारित रहेको बताउँदै राष्ट्रपति सीले चीनको उच्च गुणस्तरीय विकास र खुलापनले दुई मुलुकबीच सहकार्यका लागि नयाँ अवसर र नयाँ सम्भावनाका क्षेत्रहरू निरन्तर विस्तार गर्दै जाने विश्वास व्यक्त गरे।
दुबै पक्षलाई सहकार्य प्रवर्द्धनका प्रयासहरू बढाउन र नकारात्मक सूची घटाउन पनि राष्ट्रपति सीले आह्वान गरेका छन्।
यस्ता प्रयासले दुई मुलुकबीचको गहिरो र व्यापक सहकार्यमार्फत साझा हितको सम्बन्धलाई अझ बलियो बनाउनेछ।
शिक्षा, संस्कृति, पर्यटन, खेलकुद तथा उप–राष्ट्रिय (स्थानीय) तहमा आदान–प्रदान र सहकार्य प्रोत्साहित गर्न तथा दुईतर्फी आवागमन सहज बनाउन आग्रह गरे। यसले पनि बलियो द्विपक्षीय सम्बन्धका लागि जनसमर्थन मजबुत बनाउनेछ।
संयुक्त राष्ट्रसंघ, जी–२० तथा एसिया–प्रशान्त आर्थिक सहयोग (एपीइसी) जस्ता बहुपक्षीय संरचनाभित्र क्यानाडासँग चीनले संवाद र समन्वय सुदृढ गर्न इच्छुक रहेको बताउँदै राष्ट्रपति सीले विश्वव्यापी चुनौतीहरूको संयुक्त रूपमा सामना गर्न चाहेको उल्लेख गरे।
चिनियाँ राष्ट्रपति शी जिनपिङ र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटघाट १६ जनवरी २०२६। (सिन्ह्वा।शेन होङ)
प्रधानमन्त्री कार्नीको प्रतिबद्दता
क्यानाडाका प्रधानमन्त्री कार्नीले क्यानाडा र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र बलियो आर्थिक परिपूरकता रहेको उल्लेख गर्दै दुबै देशबीच व्यापक साझा हित र अवसरहरू रहेको बताए।
दुबै देशका जनतालाई थप लाभ पुर्याउने उद्देश्यसहित चीनसँग बलियो र दीर्घकालीन नयाँ रणनीतिक साझेदारी निर्माण गर्न क्यानाडा इच्छुक रहेको पनि उनले उल्लेख गरे।
क्यानाडाली पक्षले ‘एक–चीन नीति’ प्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्यायो। साथै आपसी सम्मान र साझेदारीको भावना अन्तर्गत चीनसँग मिलेर अर्थतन्त्र र व्यापार, ऊर्जा, कृषि, वित्त, शिक्षा, जलवायु परिवर्तन लगायतका क्षेत्रमा सहकार्य विस्तार र सुदृढ गर्न प्रतिबद्धतापनि व्यक्त गरे।
प्रधानमन्त्री कार्नीले विश्व शान्ति र स्थिरताको आधार बहुपक्षीयता भएको मात्रै बताएनन्, चिनियाँ राष्ट्रपति सीद्वारा प्रस्तावित ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ यस सन्दर्भमा निकै महत्वपूर्ण रहेको पनि उल्लेख गरे।
‘विश्व छिटो–छिछो परिवर्तन भइरहेको छ र अशान्त पनि बन्दैछ, यस्तो परिस्थितिमा संयुक्त राष्ट्रसंघको अधिकार र बहुपक्षीयताको रक्षा गर्दै जानुपर्छ’ उनले थपे, ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरता प्रवर्द्धन गर्न चीनसँग बहुपक्षीय समन्वय थप तीव्र पार्न क्यानाडा इच्छुक छ।’
कार्नीको चीन भ्रमणका क्रममा चीन र क्यानाडाका शीर्ष नेताहरूको भेटवार्ता सम्बन्धी संयुक्त वक्तव्य जारी भएको छ। वक्तव्यका अनुसार, दुबै मुलुकले व्यापार, भन्सार, ऊर्जा, निर्माण, संस्कृति तथा सार्वजनिक सुरक्षासम्बन्धी सहकार्यका विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेका छन्।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार (१५ जनवरी) प्रधानमन्त्री कार्नीसँग वार्ता गरेका थिए। भेटका क्रममा प्रधानमन्त्री लीले चीनमा थप क्यानाडेली कम्पनीहरूलाई लगानी गर्न स्वागत गरिने र चीनमा लगानी गर्ने चिनियाँ उद्यमहरूका लागि क्यानाडाले निष्पक्ष र गैर–भेदभावपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा व्यक्त गरे।
विशेषज्ञहरुको आशा
रेनमिन विश्वविद्यालय अफ चाइनाको चोङयाङ इन्स्टिच्युट फर फाइनान्सियल स्टडिजका डिन वाङ वेन बताउँछन् कि, क्यानाडाको नयाँ सरकारद्वारा द्विपक्षीय सम्बन्ध सुधार गर्ने प्रयास जुन प्रयास भएको छ, यसले नयाँ नेतृत्वको व्यावहारिक र विवेकपूर्ण दृष्टिकोण झल्काउँछ।
‘स्थिर प्रकृतिको द्विपक्षीय सम्बन्ध पुनःस्थापनाले राजनीतिक आपसी विश्वास बढाउन त भूमिका खेल्छ नै, अर्थतन्त्र, व्यापार, संस्कृति लगायतका क्षेत्रमा आदान–प्रदानलाई पुनः सही मार्गमा ल्याउने पनि सहयोग गर्छ’ वाङ वेन भन्छन्, ‘यस्तो सम्बन्धले दुबै देशका जनतालाई प्रत्यक्ष लाभपनि पुर्याउँछ।’