आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
बेलुकी ६ः०० बजेसम्म देशभरका १६५ वटै निर्वाचन क्षेत्रमामा उपरोक्त संख्यामा उम्मेदवारी परेको हो।
उम्मेदवारी दर्तापछि मंगलबार (६ माघ) साँझ आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ महिलाले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको जानकारी दिए।
कतिपय निर्वाचन क्षेत्रमा अझै रुजुको काम जारी रहेकाले उम्मेदवारको संख्या बढ्न सक्ने सचिव राउतले बताए।
सबैभन्दा कम मुस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ। यसैगरी मनाङमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन्। यी दुवै जिल्लाका उम्मेदवारीको रुजु भइसकेको छ।
सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५/३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। रुपन्देही निर्वाचन क्षेत्र नं २ को रुजु भइसकेको छ भने ३ नंं क्षेत्रको बाँकी छ।
आयोगका अनुसार सामान्यतया शान्तिपूर्ण रुपमा नै उम्मेदवारी दर्ताका काम भएको छ। मंगलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो।
उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्रपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको थियो। बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम थियो।
बुधबार ( ७ माघ) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ। त्यसैदिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।