चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार चीनको राष्ट्र पुनर्जागरणलाई ‘रोक्नै नसकिने’ बताएका छन्। चीनले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी–फासिस्ट युद्धमा विजय हासिल गरेको ८० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले यो कुरा बताएका हुन्।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैनिक आयोगका अध्यक्षसमेत रहेका राष्ट्रपति सीले बेइजिङमा आयोजित भव्य स्मरण समारोहलाई सम्बोधन भने, ‘प्रतिरोध युद्ध कठिन र महान् थियो। त्यसले आधुनिक समयमा चीनको पहिलो विदेशी आक्रमणविरुद्धको पूर्ण विजय अंकित गरेको छ।’
त्यो विजय सीपीसीले प्रस्ताव गरेको जापानी आक्रमणविरुद्धको राष्ट्रिय एकता मोर्चाको अन्तर्गत हासिल भएको पनि उनले उल्लेख गरे।
‘सो युद्धमा अपार बलिदान गरेर चिनियाँ जनताले मानव सभ्यताको उद्धार र विश्व शान्तिको रक्षाका लागि महत्वपूर्ण योगदान पुर्याएका थिए’ राष्ट्रपति सीले भने, ‘जुन विश्व विरोधी–फासिस्ट युद्धको अभिन्न हिस्सा हो।’
‘विश्वका राष्ट्रहरूले आपसमा समानताका साथ व्यवहार गर्नुपर्छ, मेलमिलापपूर्वक बस्नुपर्छ र एकअर्कालाई सहयोग गर्नुपर्छ’ उनले थपे, ‘त्यस्तो अवस्थामा मात्रै साझा सुरक्षा कायम हुन्छ, युद्धका जराहरू समाप्त हुन्छन् र इतिहासका त्रासदीहरू दोहोरिनबाट रोकिन्छन्।’
मानवजातिले पुनः शान्ति वा युद्ध, संवाद वा टकराव, दुवै जित्ने वा शून्य–योग खेल जस्ता विकल्पको सामना गरिरहेको पनि उनले बताए।
चिनियाँ जनता इतिहासको सही पक्ष र मानव प्रगतिका पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै राष्ट्रपति सीले शान्तिपूर्ण विकासको बाटो अख्तियार गर्ने र मानवताको साझा भविष्य निर्माण गर्न विश्वका अरु राष्ट्रहरूसँग हातेमालो गर्ने कुरामा प्रतिबद्धता जनाए।
सबै जातजातिका चिनियाँ जनताहरु एकताबद्ध भई सीपीसीको दृढ नेतृत्वमा कडा मेहनत गर्न, बलियो राष्ट्र निर्माण गर्न र चिनियाँ आधुनिकीकरणमार्फत् सबै क्षेत्रमा राष्ट्रिय पुनर्जागरणलाई अघि बढाउन पनि उनले आह्वान गरे।
जनमुक्ति सेनालाई (पीएलए) राष्ट्रिय पुनर्जागरणका लागि रणनीतिक आधार दिन र विश्व शान्ति तथा विकासका लागि अझ ठूलो योगदान दिन पनि उनले आग्रह गरे।
विश्वस्तरीय सेनामा रूपान्तरण गर्ने, राष्ट्रिय सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतालाई दृढतापूर्वक जोगाउनपनि उनले पिएलएलाई आदेश दिएका छन्।