अफगानिस्तानका एक १३ वर्षीय किशोर केटो आइतबार विमानको ल्यान्डिङ गियरको माथिल्लो भागमा लुकेर दिल्ली पुगेका छन्।
उनको यस्तो खतरानाक कदमले भारतीय र अफगानी सुरक्षा अधिकारीहरुलाई समेत हैरान पारेको छ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोधपुछपछि ती किशोरलाई उनी आएकै विमानमार्फत् अफगानिस्तान फिर्ता पठाइएको छ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘काम एयरलाइन्स’ को उडान नम्बर ‘आरक्यू–४४०१’ को चालक दलका सदस्यहरुले विमान नजिकै एउटा किशोर हिँडिरहेको देखेका थिए।
ती किशोरबारे उनीहरुले तुरुन्तै विमानस्थलमा खटिएका ‘सीआईएसएफ’ का सुरक्षाकर्मीलाई जानकारी गराएका थिए।
त्यसपछि सुरक्षाकर्मीहरूले उसलाई सोधपुछका लागि टर्मिनल-३ तर्फ लगे।
समाचार एजेन्सी पीटीआईका अनुसार, सोधपुछका क्रममा पत्ता लाग्यो कि ती किशोर अफगानिस्तानको कुन्दुज प्रान्तको बासिन्दा हुन्।
उनले अनुसन्धान अधिकृतलाई बताए अनुसार उनी चुपचाप काबुल विमानस्थलमा प्रवेश गरी होसियारीपूर्व विमानको पछाडिको भागमा रहेको ‘सेंट्रल ल्यान्डिङ कम्पार्टमेन्ट’ मा पुगेका थिए।
अनुसन्धानका क्रममा ‘काम एयरलाइन्स’ का सुरक्षा अधिकृतहरूले ल्यान्डिङ गियर कम्पार्टमेन्टमा एउटा सानो रातो रंगको स्पिकर भेटेका छन्, जुन सम्भवतः ती किशोरले ल्याएको सामान हो।
अनुसन्धानपछि विमानलाई सुरक्षित घोषित गरिएको छ र तोडफोड गर्ने कुनै षडयन्त्र नभएको मानिएको थियो।
तर, किशोरको नाम र पूर्ण परिचय भने गरिएको छैन।
अफगानिस्तानको तालिबान सरकारले अहिलेसम्म यस घटनाबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। तर तालिबान सरकारको सीमा प्रहरी प्रवक्ता अबीदुल्लाह फारुकीले बीबीसीको पश्तों सेवासँग कुरा गर्दै आफूहरुले घटनाको अनुसन्धान गरिरहेको बताएका छन्।
‘विमानस्थलको रनवेमा २४ घण्टा नै निगरानी राखिएको हुन्छ, यो विशेष सुरक्षा घेराभित्र हुन्छ, कुनै पनि परिस्थितिमा कुनै पनि व्यक्ति, अधिकारी समेत रनवेमा प्रवेश गर्न सक्दैन’ ती अधिकारीले भने, ‘यदि कुनै अधिकारी भूलवस रनवेमा प्रवेश गरे भनेपनि सबै उडान तुरुन्तै रोकिन्छन्, सामान्य तलासी सुरु हुन्छ र विमानस्थललाई पूर्ण नियन्त्रणमा लिइन्छ।’
तर ती किशोर विमानसम्म पुग्न सफल भएपछि काबुल विमानस्थलको सुरक्षा प्रबन्धमाथि प्रश्न उठेको छ। तर फारुकीले भनेका छन् कि, अब विमानस्थलमा सुरक्षाकर्मीहरू सतर्क छन र कसैले पनि यसरी अवैध रूपमा यात्रा गर्ने स्थिति आउने छैन।’
यस्तो दुस्साहसपूर्ण घटनामा ती किशोर सुरक्षित रहनुलाई चमत्कार नै मानिएको छ।
कुनै व्यक्ति यसरी विमानमा लुकेर अर्काे गन्तव्यमा पुगेको यो पहिलो घटना त होइन। तर, ल्याण्ड्रि गियरजस्तो खतरनाक भागमा लुकेर यात्रा गरेको घटना भने विश्व इतिहासमा सम्भवतः पहिलो पटक हो।
विज्ञहरूको भनाइ उद्धृत गर्दै बीबीसी पश्तों सेवाले उल्लेख गरेअनुसार, उडिरहको जहाजले लिने उचाईमा अक्सिजन कमी र अत्याधिक चिसोका कारण बाँच्न लगभग असम्भव हुन्छ। त्यस्तो अवस्थामा मानिस केही समयमै बेहोस हुन्छ र उसको मृत्यु हुन्छ।
तर, यो प्रतिकूलता समेत झेल्दै ती किशोर जहाजको ल्याण्डिङ गियरमै बसेर नयाँदिल्ली पुगेपछि यसले सबैलाई हैरान र आश्चर्यचकित बनाइदिएको छ। ‘बीबीसी हिन्दी’ बाट