चीनको विदेश मन्त्रालयले युवा विज्ञान र प्रविधि क्षेत्रका प्रतिभावान व्यक्तिहरुका लागि नयाँ भिसा योजना ल्याउने घोषणा गरेको छ।
सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यो नयाँ योजना सार्वजनिक गरेका हुन्।
विज्ञान तथा प्रविधि क्षेत्रका दक्ष जनशक्तिका लागि समेत अमेरिकाको ट्रम्प प्रशासनले कडा नीति ल्याएका बेला चीनले नयाँ भिषा नीति ल्याएर दक्ष जनशक्तिलाई आफ्नो देशमा आकर्षित गर्न खोजेको देखिन्छ।
‘चीन र विश्वका अन्य दक्ष व्यावसायिक व्यक्तिहरुबीच आदान–प्रदान र सहकार्यलाई प्रोत्साहन गर्न चीनले साधारण भिसामा नयाँ श्रेणी थप गर्नेछ’ पत्रकार सम्मेलनमा प्रवक्ता जियाकुनले भने, ‘छिट्टै चिनियाँ दूतावास र वाणिज्य दूतावासहरूले के श्रेणीको भिसा आवेदनबारे विस्तृत जानकारी सार्वजनिक गर्नेछन्।’
अघिल्लो अगस्ट महिनामा चीनको राज्य परिषद्को निर्णय अनुसार यो नयाँ भिसा श्रेणीको घोषणा गरिएको हो।
नयाँ श्रेणीको भिसा चाहने आवेदकहरूले सम्बन्धित चिनियाँ निकायले तोकेका योग्यता र आवश्यकताहरू पूरा गर्नुपर्ने र आवश्यक प्रमाणपत्रहरू पेश गर्नुपर्नेछ।
भिसा सम्बन्धी यो नयाँ नियम अक्टोबर १ देखि लागू हुने बताइएको छ।
हालसम्म चीनले १२ प्रकृतिका साधारण भिसा जारी गर्दै आएको छ। तर, १ अक्टोवरदेखि जारी हुने ‘के’ भिसाले आवेदकहरुको प्रवेश संख्या, भिसाको वैधता अवधि र बसाइ अवधिमा बढी सहजता दिनेछ।
‘के’ भिसावाहकहरु चीन प्रवेश गरेपछि शिक्षा, संस्कृति, विज्ञान–प्रविधि लगायतका क्षेत्रमा काम गर्न सक्नेछन्। यसबाहेक उद्यमशीलता र व्यवसायसम्बन्धी गतिविधिमा पनि उनीहरुलाई संलग्न हुने अवसर प्राप्त हुनेछ।
जानकारी अनुसार, उमेर, शैक्षिक पृष्ठभूमि वा कामको अनुभवका मापदण्ड बाहेक ‘के’ भिसा आवेदनका लागि कुनै चिनियाँ घरेलु संस्थाको निमन्त्रणाको आवश्यकता पर्ने छैन। यसले गर्दा आवेदन प्रक्रिया अझ सरल हुनेछ।
अन्तर्राष्ट्रिय क्षेत्रमा अनुभव आदान–प्रदानलाई प्रोत्साहन गर्न भिसा नियमहरू सरलीकृत गर्ने क्रममा यो नयाँ प्रकृतिको भिसाको प्रावधान ल्याइएको हो।