मधेशको चुनावी प्रतिस्पर्धामा दलका भन्दा धेरै स्वतन्त्र महिला उम्मेदवार

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ कूल ३८८ महिलाले उम्मेदवारी दिएका छन्। तीमध्ये १५७ जना स्वतन्त्र उम्मेदवार छन्।

यसमध्ये मधेस प्रदेशबाट ६८ जना स्वतन्त्रसहित ११० जना महिला उम्मेदवार चुनावी मैदानमा छन्। मधेस प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन्।

तीमध्ये पर्सामा सात जना स्वतन्त्रसहित १२, बारामा १० जना स्वतन्त्रसहित १६, रौतहटमा नौ जना स्वतन्त्रसहित १३, सर्लाहीमा तीन जना स्वतन्त्रसहित ११, महोत्तरीमा ११ जना स्वतन्त्रसहित १९, धनुषामा १२ जना स्वतन्त्रसहित १५, सिरहामा पाँच जना स्वतन्त्रसहित आठ र सप्तरीमा ११ जना स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा छन्।

मधेश प्रदेशमा सबैभन्दा बढी महिला उम्मेदवार सप्तरीबाट २० जना र सबैभन्दा कम सर्लाहीमा आठजना छन्।

मधेस प्रदेशमा प्रतिनिधिसभाका ३२ सिटमध्ये नेपाली काँग्रेसले दुई जना महिलालाई उम्मेदवार बनाएको छ। तीमध्ये सिरहा–४ मा चन्द्रकला यादव र महोत्तरी–२ मा किरण यादव रहेका छन्।

त्यस्तै नेकपा (एमाले) तीन जना महिलालाई उम्मेदवार बनाएको छ। मधेसबाट एमालेले उम्मेदवार बनाएका महिलाहरुमा पर्सा–१ मा रिमाकुमारी यादव, बारा–३ मा ज्वालाकुमारी साह र धनुषा–३ मा जुलीकुमारी महतो छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सप्तरी–१ मा पुष्पा चौधरी, धनुषा–१ मा किशोरी साह, महोत्तरी–४ मा गौरीकुमारी यादव र सर्लाही–१ मा नितिमा कार्की (भण्डारी) गरी चार जना महिला उम्मेदवार छन्।

नेपाली कम्युनिष्ट पार्टीले दुई जना महिलालाई उम्मेदवार बनाएको छ। तीमध्ये रौतहट–३ मा पुनम देवी र सप्तरी–४ मा रुबीकुमारी कर्ण छन्।

जनमत पार्टीले पर्सा–३ बाट मालती कुशवाहा र ४ बाट सीमा कलवारलाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ओरालेको छ।

यो प्रदेशमा सबैभन्दा बढी महिला उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको दल नेपाल मजदुर किसान पार्टी हो, जसले पाँच जना महिलालाई उम्मेदवार बनाएको छ।

तीमध्ये रौतहट–३ मा रेखा पटेल, सर्लाही–ं३ मा रमा कोइराला, सप्तरी–२ मा नीलमकुमारी यादव, धनुषा–३ मा गङ्गालक्ष्मी वैद्य र महोत्तरी–१ मा कृष्णश्वरी मानन्धर छन्।

आम जनता पार्टीले चार जना महिलालाई उम्मेदवार बनाएको छ। तीमध्ये पर्सा–२ मा रञ्जुकुमारी साह, सर्लाही–४ मा रिङ्की साह, सप्तरी–४माअनिताकुमारी चौधरी र सिराहा–३ मा ज्ञानुदेवी दनुवार छन्।

मङ्गोल नेशनल अर्गनाइजेशनले दुई जना महिलालाई उम्मेदवार बनाएको छ। तीमध्ये बार–२ राधादेवी महरा र बारा–३ बाट सम्झना गोलेलाई सो पार्टीले उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ओरालेको छ।

यसैगरी राप्रपा, श्रम संस्कृति पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल राष्ट्रिय जनमोर्चा, राष्ट्रनिर्माण दल नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, जनता समाजवादी पार्टी नेपाल, उज्यालो नेपाल पार्टी, राष्ट्र निर्माण दल, श्रमशक्ति पार्टी र जसपा नेपालबाट एक–एक जनाले उम्मेदवारी दिएका छन्।

मधेस प्रदेशमा एक जना पनि महिला उम्मेदवार नभएको क्षेत्र रौतहट–२ हो।

केही पूर्वमन्त्रीहरूको समेत राजनीतिक भविष्य जोडिएको हुनाले त्यस क्षेत्रमा हुने रोचक चुनावी प्रतिस्पर्धाले सबैको ध्यान तानेको छ।

अधिकांश महिलाले दलमा अवसर नपाएकाले आफ्ना मुद्दा उठाउन स्वतन्त्र उम्मेदवारी दिएका देखिन्छ। त्यसबाहेक केही क्षेत्रमा उम्मेदवारहरु ‘डमी’ प्रकृतिका रहेका छन्।

पूर्वमन्त्री तथा नेकपा (एमाले) केन्द्रीय सदस्य जुलीकुमारी महतो धनुषा क्षेत्र नं।३ बाट नै चुनावी मैदानमा छिन्। महतो अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएकी थिइन्।

महतोले नेपाली काँग्रेसका उम्मेदवार विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका परमेश्वर साह, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजीव झा, नेपाली कम्युनिष्ट पार्टीका रामललित मण्डलसहितका उम्मेदवारहरूसँग प्रतिस्पर्धामा छिन्।

नेपाली कांग्रेसकी नेत्री किरण यादव महोत्तरी क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा छिन्। महिलाको मुद्दामा लामो समयदेखि लड्ने र नागरिक अधिकार स्थापनाका लागि सक्रियताका साथ लागेकी यादवले नेपाली राजनीतिलाई अस्थिरताको भुमरीबाट निकाल्न महिलामैत्री राजनीति अपरिहार्य भएकाले उम्मेदवारी दिएको बताइन्।

पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेत्री ज्वालाकुमारी साह बारा क्षेत्र नं. ३ बाट चुनावी प्रतिस्पर्धामा छिन्। निर्वाचनमा साह नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, जनमत पार्टीका प्रमोदप्रसाद गुप्ता, जसपा नेपालका रामबाबुकुमार यादव र रास्वपाका अरविन्द साहसहितका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछिन्।