प्रत्यक्ष उम्मेदवारीतर्फ पुरुषको हालिमुहाली, समानुपातिकतर्फ महिला उम्मेदवार बढी, किन?

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवार झण्डै ४ सय बढी रहेको तथ्य सार्वजनिक भएको छ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको तुलनामा पुरुष उम्मेदवार बढी देखिदा समानुपातिकतर्फ भने पुरुषको तुलनामा महिला उम्मेदवारको संख्या बढी देखिएको हो।

निर्वाचन आयोगले मंगलबार (२० माघ) मा समानुपातिकतर्फका सम्पूर्ण उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ, अन्तिम बन्दसूचीको नामावलीमा महिला उम्मेदवार एक हजार सात सय ७२ जना छन्।

पुरुष उम्मेदवार भने एक हजार तीन सय ६३ जना रहेका छन्।

अर्थात् समानुपातिकतर्फ पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवार चार सय ९ जना बढी छन्।

प्रत्यक्षतर्फ भने पुरुष उम्मेदवारको बर्चश्व रहेको छ। प्रत्यक्षतर्फ पुरुष उम्मेदवारको कूल संख्या ३ हजार ४ सय ८४ उम्मेदवार छन्।

त्यसमध्ये पुरुष उम्मेदवारको संख्या ३ हजार ८८ (८८.६३ प्रतिसत) र महिला उम्मेदवारको संख्या ३ सय ९५ (११.३४) मात्र रहेको छ।

अन्य तर्फका उम्मेदवार जम्मा एकजना रहेका छन्।

आगामी निर्वाचनका लागि समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी रहेकोमा निर्वाचन आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह प्रदान गरेको छ।

एउटा दलले अर्काे दलको निर्वाचन चिन्हसमेत उपयोग गर्न पाउने भएकाले समानुपातिकतर्फ प्रतिस्पर्धा गरेका दलको तुलनामा निर्वाचन चिन्ह कम भएको हो।

निर्वाचन आयोगमा अनुसार, प्रत्यक्षतर्फको निर्वाचनको अन्तिम सूचीअनुसार कूल तीन हजार एक सय ३५ उम्मेदवार कायम भएका छन्।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम मंगलबार (२० माघ) अन्तिम नामावली प्रकाशन गरेको हो।

विभिन्न कारणले गर्दा आयोगले ७६ जना उम्मेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो। नाम हटाइएकाहरुमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका कूल २५ जना रहेका छन्।

त्यसबाहेक तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नभएका एक जनालाई पनि आयोगले बन्दसूचीबाट हटाएको थियो।

नाम हटाउन सम्बन्धित राजनीतिक दलबाट लेखिएआएका १० जनाको नाम समेत आयोगले हटाएको छ।

जहाँसम्म पुरुषको तुलनामा समानुपातिकतर्फ किन महिला उम्मेदवारको संख्या बढी भयो भन्ने विषय हो, संविधानले संघीय संसदमा महिला प्रतिनिधित्व ३३ प्रतिसत अनिवार्य गर्नु यसको कारण हो।

सबैजसो दलले प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारीका लागि महिला भन्दा पुरुष उम्मेदवारलाई प्राथमिकता दिएका छन्। पुरुष उम्मेदवारीमा प्राथमिकताका कारण प्रत्यक्षतर्फबाट मात्र ३३ प्रतिसत महिला प्रतिनिधित्व हुनु असम्भव देखिन्छ।

यद्यपी, समानुपातिकतर्फबाट आवस्यक संख्या मिलान गर्न सकिने स्थिति छ। त्यहीकारण दलहरुले समानुपातिकतर्फ अन्य क्लष्टरहरुमा पनि पुरुष भन्दा महिला उम्मेदवारीको संख्या बढी राखेका छन्।

यहीकारण समानुपातिकतर्फ पुरुषको तुलनामा महिला उम्मेदवारको संख्या बढी देखिएको हो।