परराष्ट्र सचिव अमृत बहादुर राई पोर्चुगल भ्रमणमा जाने भएका छन्।
पोर्चुगलको राजधानी लिस्बनमा २० फेब्रुअरी (८ फागुन) २०२६ मा हुने नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकका लागि परराष्ट्र सचिव राई पोर्चुचल भ्रमणमा जान लागेका हुन्।
नेपाल र पोर्चुगलबीच द्विपक्षीय परामर्श संयन्त्र सन् २०१८ मा स्थापना गरिएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार यो दुई मुलुकबीचको पहिलो परामर्श संयन्त्रको बैठक हो, जसमा सहअध्यक्षताका लागि सचिव राई भोलि (५ फागुन) मा त्यसतर्फ प्रस्थान गर्नेछन्।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू, पोर्चुगलका लागि नेपाली राजदूत तथा दूतावासका अन्य अधिकारीहरू सहभागी रहने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।
‘द्विपक्षीय परामर्शका क्रममा दुवै पक्षले नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नेछन्’ मन्त्रालयले सोमबार (४ फागुन) मा जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘साथै, साझा चासोका विषयहरूमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा पनि छलफल हुनेछ।’
लिस्बन भ्रमणका क्रममा परराष्ट्र सचिवले पोर्चुगलको परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्।
उनले त्यहाँ स्नवस्थापित नेपाली दूतावासको औपचारिक उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ।
यसबाहेक परराष्ट्र सचिव राईले पोर्चुगलस्थित नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया समेत गर्नेछन्। त्यसका लागि कार्यक्रम आयोजना गरिएको छ।
मन्त्रालयका अनुसार हाल पोर्चुगलमा करिब ४० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ।
परराष्ट्र सचिव २२ फेब्रुअरी २०२६ मा काठमाडौं फर्कनुहुनेछ ।
नेपाल र पोर्चुगलबीच द्विपक्षीय परामर्श संयन्त्र सन् २०१८ मा स्थापना गरिएको थियो ।