परराष्ट्रमन्त्री बालानन्द शर्माले बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानसँग शिष्टाचार भेट गरेका छन्।
बंगलादेश नेशनल पार्टी (बीएनपी) का प्रमुख समेत रहेका प्रधानमन्त्री रहमानका अलावा प्रम्ख प्रतिपक्षी दल बङ्गलादेश जमात–ए–इस्लामीका प्रमुख डा. शफीकुर रहमानसँग पनि परराष्ट्रमन्त्री शर्माले भेटवार्ता गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।
हालै सम्पन्न निर्वाचनमा विजय हासिल गरेपछि प्रधानमन्त्री बनेका रहमानको मंगलबार आयोजित शपथ ग्रहण कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा सोमबार (४ फागुन) ढाका पुगेका थिए।
त्यसै अवसरमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासँग परराष्ट्रमन्त्री शर्माको भेटवार्ता भएको हो।
नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले बंगलादेशका प्रधानमन्त्री रहमानलाई प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट शुभकामना सन्देश दिएका थिए।
सो शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले बंगलादेशका समकक्षी रहमानलाई हालैको निर्वाचनमा विजय हासिल गरेकोमा बधाई प्रकट गरेकी छन्।
त्यसबाहेक प्रधानमन्त्री कार्कीले दुई मुलुकबीच पारस्परिक सम्मान, साझा प्रतिबद्धता र सहकार्यको भावनाका साथ दुबै मुलुक तथा जनताको पारस्परिक हितका लागि द्विदेशीय सम्बन्धलाई अरु सुदृढ र समृद्ध बनाउँदै लैजान आफू तत्पर रहेको पनि उल्लेख गरेकी छन्।
बंगलादेशमा २ फेब्रुअरी (२०२६) राष्ट्रिय निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनमा रहमान नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टीले विजय हासिल गरेको थियो।
सो विजयका नेतृत्व गरेकोमा पनि परराष्ट्रमन्त्री शर्माले प्रधानमन्त्री रहमानलाई बधाई प्रदान गरेका थिए। निर्वाचन सफलतापूर्वक सम्पन्न गरी लोकतान्त्रिक प्रक्रियामा सहज रूपमा सत्ता हस्तान्तरण गरेकोमा पनि उनले बङ्गलादेश सरकारको प्रशंसा गरे।
आफ्नो शपथग्रहण समारोहमा सहभागी भएकोमा परराष्ट्रमन्त्री शर्माप्रति बंगलादेशी प्रधानमन्त्री रहमानले आभार व्यक्त गरे। रहमानले नेपाली परराष्ट्रमन्त्रीको भ्रमणले बङ्गलादेश सरकार.जनताप्रति नेपाल सरकार र नेपाली जनताको सद्भाव र मैत्रीभाव झल्काएको पनि उल्लेख गरे।
नेपाल र बङ्गलादेशबीचको दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता भेटवार्ताका क्रममा दुबै नेताले व्यक्त गरेका थिए।
त्यसक्रममा व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, शिक्षा, पर्यटन लगायतका क्षेत्रहरूमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा रचनात्मक विचार–विमर्श भएको थियो।
नवनिर्वाचित प्रधानमन्त्री रहमानले पनि नेपालमा २१ फागुनमा हुन लागेको संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
सो भेटवार्तापूर्व परराष्ट्रमन्त्री शर्मा नवनिर्वाचित प्रधानमन्त्री तथा बङ्गलादेश सरकारका मन्त्रिपरिषद् सदस्यहरूको शपथग्रहण समारोहमा सहभागी भएका थिए।
प्रधानमन्त्री रहमानलाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रिय संसद (जातीय संसद) परिसरमा आयोजित विशेष समारोहमा उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।