बर्मामा बौद्ध प्यागोडा पुननिर्माणका नेपालको ४ करोड सहयोग

गतसालको भूकम्पले क्षति पुर्याएको बर्मा (म्यानमार) को माण्डलेस्थित प्यागोडा परिसरभित्रको शिला अभिलेख गृहको पुनर्निर्माणका लागि नेपालले आर्थिक सहयोग प्रदान गरेको छ।

म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले मंगलबार (५ फागुन) मा महामुनि प्यागोडाको परिसरमा आयोजित कार्यक्रममा महामुनि पगोडा ट्रस्टीका महासचिव यू थान ऊलाई तीन लाख अमेरिकी बराबरको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत घिमिरेले मार्च २०२५ मा आएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त माण्डलेस्थित महामुनि पगोडा परिसरभित्रको शिला अभिलेख गृहको पुनर्निर्माणका लागि नेपाल सरकारले प्रदान गरेको उक्त सहयोग म्यानमारप्रति नेपालको ऐक्यबद्धता र सद्भावनाको प्रतीक भएको बताए।

माण्डले नगरका मेयर यू क्याव सानले नेपाल र म्यानमारले निकै कठिन समयमा समेत एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै सहयोग प्रदान गरेकोमा नेपाल सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

राजदूत श्री घिमिरेले मण्डलेको गङ्गाघाटमा आयोजित एक अर्को कार्यक्रममा गङ्गाघाट हिन्दू मन्दिर ट्रस्टीका अध्यक्ष श्री पवन बजोरियालाई ५० हजार अमेरिकी डलर बराबरको सहयोग रकम हस्तान्तरण गरेका छन्।

दुवै समारोहमा अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष सागर घिमिरेसहित स्थानीय नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको म्यानमारस्थित नेपाली राजदूतावासले जनाएको छ।