भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले ‘र सरकारलाई प्रतिवेदन त बुझाएसँगै यसको कार्यान्वयन सरकारले कहिले र कसरी गर्ला भन्ने जिज्ञाशा सर्वत्र छ।
साथै सरकारले यसको छिट्टै कार्यान्वयन गर्नेछ र दोषीहरुले सजायँ पाउने अपेक्षा पनि गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका थिए।
प्रतिवेदन हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले त्यसमा रहेका सिफारिसहरु कार्यान्वयन गरिए देशको मुहार फेरिने उल्लेख गरेका छन्।
कार्यदलको जिकिर
प्रतिवेदन हस्तान्तरणका क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखिएको बताएका छन्।
भविष्यमा यस्तो घटना नहोउन् भनेर सुझाव पनि प्रतिवेदनमा राखिएको उल्लेख गर्दै अध्यक्ष कार्कीले कुशासनका कारण यो घटना भएको उल्लेख गरेका छन्।
‘नियमनकारी निकायहरूलाई विकृत पारिएको छ, न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ’ कार्यक्रममा कार्कीले भने, ‘न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’
आयोगका सदस्य विज्ञानराज शर्माले प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताएका छन्।
अर्का सदस्य विश्वेश्वर भण्डारीका भनाईमा, सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्छ।
प्रधानमन्त्रीको प्रतिबद्दता
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले प्रतिवेदन अब आफू र गृहमन्त्रीले अध्ययन गरेर मन्त्रिपरिषद्मा पेस गर्ने उल्लेख गरेकी छन्।
‘तपाईँहरूले एकदमै मेहनत गर्नुभएको छ, यसका लागि तपाईंहरुलाई धन्यवाद छ’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सुरुमा जुन समयावधि तोकेका थियौँ, हाम्रो स्रोतसाधनका कारण त्यो पुग्दो भएनछ। पछि समय पनि थप्नुपर्ने भयो। तर न्याय, कानुन र अनुसन्धानको क्षेत्रमा तपाईँहरुको विज्ञता र योग्यताबारे थाहा पाएर नै आयोगमा नियुक्त गरेका हौँ।’
आयोगका अध्यक्ष र सदस्यहरुको आ–आफ्नो क्षेत्रमा ख्याति रहेको बताउँदै प्रधानमन्त्री कार्कीले त्यसको प्रतिविम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास आफूमा रहेको बताइन्।
‘दूधको दूध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ अब यसको अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढ्छ’ प्रधानमन्त्री कार्कीको प्रतिवद्दता थियो, ‘साथै सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गर्छौँ। यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ।’