परराष्ट्र मन्त्रालयले सोमबार (२३ चैत्र) साँझ आफ्नो फेसबुक पेजमा पोष्ट गर्यो, ‘परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (युएई) माथि भइरहेका आक्रमण आक्रमणहरूको कडा शब्दमा निन्दा गर्नुभएको छ।’
परराष्ट्रमन्त्री नियुक्त भएको उपलक्ष्यमा खनाललाई बधाई दिन युएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानले सोमबार साँझ खनाललाई फोन गरेका थिए। त्यसैक्रममा परराष्ट्रमन्त्री खनालले युएईमाथि भएको आक्रमणको निन्दा गरेका थिए।
युएईका समकक्षीले दिएको बधाईको प्रत्युत्तरमा मन्त्री खनालले हार्दिक आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
खासमा युएईले आफ्नो भूभागमा अमेरिकी सेनाको बेस राख्न दिएको छ। इरानमाथि हुँदै आएको अमेरिकी आक्रमण खाडी राष्ट्रस्थित यस्तै बेसहरुमार्फत् हुने गरेको छ।
त्यहीकारण युएईको भूभागबाट अमेरिकाले आफूमाथि आक्रमण गरेको भन्दै त्यहाँ रहेका अमेरिकी बेसहरुमा पनि प्रत्याक्रमण गर्दै आएको छ।
यस्ता आक्रमणहरु सम्बन्धित मुलुकप्रति नभई त्यहाँ रहेका अमेरिकी सेनाप्रति लक्ष्यित रहेको स्पष्टिकरण इरानले दिँदै आएको छ।
यद्यपी, परराष्ट्रमन्त्री खनालले युएईमाथि भएका आक्रमणहरुको निन्दाले कतै नेपाल इरानको विरुद्धमा उभिएको त होइन भन्ने पनि लाग्न सक्छ।
तर, नेपालले अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेलगत्तै त्यसको विरोध गरेको थियो। सबै मुलुकहरुले अर्काे मुलुकको सार्वभौमिकताको सम्मान गर्नुपर्ने दृष्टिकोण परराष्ट्र मन्त्रालयले राखेको थियो।
जानकारहरुका भनाईमा, कुनै सार्वभौम मुलुकमाथि अर्काे मुलुकले गर्ने आक्रमणको विरोध नेपालको परराष्ट्रनीति प्रतिकूल होइन। जुन धरातलमा रहेर नेपालले इरानमाथि गरेको आक्रमणको विरोध गरेको थियो, युएईमाथि आक्रमणको विरोधपनि त्यसै आधारमा गरिएकाले यसलाई अन्यथा लिनु हुँदैन।
कुराकानीका क्रममा परराष्ट्रमन्त्री खनालले नागरिक तथा ऊर्जा संरचना, बन्दरगाह र विमानस्थल जस्ता महत्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरिएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए।
वार्ताका क्रममा दुबै मन्त्रीहरूबीच पश्चिम एसियाको वर्तमान परिस्थितिबारे विचार आदान–प्रदान भएको उल्लेख गरिएको छ। मन्त्रालयका भनाईमा, परराष्ट्रमन्त्री खनालले संयुक्त अरब इमिरेट्सप्रति नेपालको ऐक्यबद्धता व्यक्त गरेका थिए।
परराष्ट्रमन्त्री खनालले युद्धका क्रममा एक जना नेपाली युवाको दुःखद मृत्यु तथा अन्य २४ जना नेपाली नागरिक घाइते भएको घटनासमेत उल्लेख गरेका थिए।
युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने स्मरण गर्दै खनालले दीगो शान्ति केवल कूटनीति र संवादमार्फत् सम्भव हुने कुरा जोड दिएको मन्त्रालयले जनाएको छ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानले युक्त अरब इमिरेट्समा रहेका नेपाली समुदायलाई आवश्यक सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्र। साथै कठिन समयमा नेपाल सरकार तथा माननीय परराष्ट्र मन्त्रीले देखाएको ऐक्यबद्धताप्रति धन्यवादसमेत दिएका छन्।
यूएईको सरकारले नेपाली नागरिकसहित सबै बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आफ्नो प्रतिबद्धतापनि त्यसक्रममा दोहोर्याएका छन्।