नेपालस्थित विदेशी राजदूतहरुसँग प्रधानमन्त्री शाहको सामुहिक भेट, विश्वशान्तिमा जोड

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (२५ चैत्र) आयोजित सामूहिक शिष्टाचार भेटका अवसरमा यस्तो उत्सुकता प्रकट गरेका हुन्।

१३ चैत्रमा प्रधानमन्त्री नियुक्त भएयता शाहले विदेशी राजदूतहरुसँग शिष्टाचार भेटवार्ता गरेको यो पहिलो पटक हो। पद तथा गोपनियताको शपथग्रहण कार्यक्रममा पनि उपस्थित भएर राजदूतहरुले प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन गरेका थिए।

तर, नयाँ प्रधानमन्त्रीसँग शिष्टाचार भेट भने भएको थिएन। यसअघि नवनियुक्त प्रधानमन्त्रीले राजदूतहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने प्रचलन रहेकोमा यसपटक भने त्यो परम्परा तोडेर शाहले सामुहिक रुपमा शिष्टाचार भेटवार्ता गरेका हुन्।

त्यसक्रममा प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताए।

‘नेपालले सन्तुलित र व्यावहारिक खालको वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ, हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ’ शाहले भने, ‘नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकोमा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।’

विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले हाल जारी द्वन्द्वले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने पारेको उल्लेख गरे।

‘शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ। यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु’ उनले थपे, ‘यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु।’

नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे। राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएकोपनि उनले बताए।

उनले थपे, ‘नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन। हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ।’

विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको बताउँदै शाहले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको जानकारीपनि गराए।

सामुहिक भेटघाटमा उपस्थित विभिन्न मुलुकका राजदूतहरुले प्रधानमन्त्री शाहसँग अलग–अलग तस्वीरपनि खिचाएका थिए।