दासढुंगा दुर्घटना : ओलीले चालक अमर लामाबारे गरेको दावीसँग मेल नखाने एक वयान

नेपालमा सत्य-तथ्य भन्दा अफवाह र षडयन्त्रको शंका बढी बिक्छ। ३ जेठ २०५० मा चितवनको दासढुंगामा भएको दुर्घटनामा एमालेका प्रतिभाशाली महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुखद निधन भयो।

तर, त्यो दुर्घटनालाई षडयन्त्र सिद्ध गर्न यस्ता अफवाहको सहारा समेत लिने कामसमेत भएको रहेछ। दुर्घटनाको ३३ वर्षपछि छानविनसँग सम्बद्ध व्यक्तिहरुको दावी र सम्बद्ध गवाहरुको वयान हेर्दा यस्तै एउटा तथ्य फेला परेको छ।

दुर्घटनालगत्तै एमालेले तत्कालिन स्थायी समिति सदस्य केपी शर्मा ओलीको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो। आयोगमा ओली एक्लै थिए। सो आयोगले दुर्घटनालाई राजनीतिक षडयन्त्र भएको ठहर गरेको थियो।

तर, एमालेले त्यो प्रतिवेदन कहिल्यै सार्वजनिक गरेन। किन त्यो प्रतिवेदन सार्वजनिक गरिएन, त्यो आफैमा रहस्यको विषय छ । महासचिव माधव नेपाल वा अध्यक्ष मनमोहन अधिकारीले सार्वजनिक नगरेका हुन् भने ओली आफैले सार्वजनिक गरिदिएको भएपनि हुने हो।

तर, उनले पनि सार्वजनिक गर्न चाहेनन् । किन ओली र एमाले दुबैले त्यो प्रतिवेदन सार्वजनिक गर्न चाहेनन्, त्यो आफैमा रहस्यको विषय बनेको छ।

कतिपय नेताहरुको भनाईमा, ओलीको प्रतिवेदन मौखिक थियो, लिखित होइन ।

जे होस्, २४ भदौको घटनामा ओली निवास र पार्टी कार्यालय जलेपछि ‘त्यो प्रतिवेदन पनि जल्यो’ भन्न सहज भएको छ ।

षडयन्त्र ठहर गर्दै न्यायिक छानविनको माग गरेपछि एमालेको माग अनुसार सरकारले न्यायाधीस प्रचण्डराज अनिलको संयोजकत्वमा आयोग गठन गर्यो। त्यो आयोगले दासढुंगा दुर्घटनालाई राजनीतिक षडयन्त्र मानेन, सम्भवतः ‘भवितव्य’ मान्यो ।

एमालेले अनिल आयोगको प्रतिवेदन अस्वीकार गरेपछि सरकारले सर्वाेच्च अदालतका न्यायाधीस त्रिलोकप्रताप राणाको अध्यक्षतामा एमाले प्रतिनिधिसमेत रहेको अर्काे न्यायिक आयोग गठन गर्यो, जसको सदस्य अधिवक्ता विपुलेन्द्र चक्रवर्ती र प्रा. हर्षनारायण धौवडेल थिए।

न्यायाधीस राणा आयोगले एमाले स्थायी कमिटी सदस्य ओलीसँग पनि ८ भदौ २०५१ मा वयान लिएको रहेछ।

त्यसक्रममा ओलीले मदन र जीवराज सवारी पजेरो गाडीका चालक अमर लामा दासढुंगामा शंकास्पद रुपमा राखिएको भुसको थुप्रोमा सुरक्षित रुपमा हाम्फालेको र दुर्घटनापछि उनको शरीरमा भुस लागेको देख्ने प्रत्यक्षदर्शी समेत रहेको दावी गरेका छन् ।

ओलीको दावीको आसय ‘चालक अमर लामाले जानजान गाडी दुर्घटना गराएर आफू चाहिँ पहिल्यै तयार पारेर राखिएको भुसको थुप्रोमा हामफालेका थिए’ भन्ने देखिन्छ ।

‘अमर लामाको शरीरमा शरीरमा भुस लागेको थियो, त्यो कुरा र्याफ्टिंगको मानिसलाई पनि थाहा छ’ भन्दै ओलीले यस सन्दर्भमा रामलाल गुरुंगको नाम लिएका छन् ।

‘रामलाल गुरुंग, कविलास गाविस (चितवन) का…त्यसबेला जुगेडीमा बस्दथे’ राणा आयोगसँगको वयानमा ओलीले भनेका छन्, ‘त्यो मानिस बसमा अमर लामासँगै थिए। पहिले भुसको थुप्रोमा हाम्फालेको भनेको र त्यसपछि डिलमा हाम्फालेको भनेका हुन्।’

ओली आयोगलाई रामलाल गुरुंगले ओलीलाई कस्तो वयान दिएका थिए, प्रतिवेदनको अस्तित्व नै शंकाको घेरामा रहेकाले भन्न सकिने स्थिति छैन।

दुर्घटनापछिको अमर लामाबारे रामलाल गुरुंगले ओलीलाई बताएको कुरा आधिकारिक रुपमा प्राप्त नभएपनि एक अर्को छानविन समितिसँगको वयान भने गुरुंगको हवाला दिँदै ओलीले गरेको दावी भन्दा पृथक देखिन्छ।

दासढुंगा दुर्घटनालगत्तै नागरिक स्तरबाट पनि अर्काे छानविन समितिको गठन भएको थियो, जसको अध्यक्ष स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधर थिए। दासढुंगा दुर्घटनाताका तुलाधर एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए र एमालेको ९ महिने सरकारमा मन्त्री पनि बनेका थिए।

तुलाधर समितिसँगको कुराकानीमा गुरुंगले दुर्घटनापछि चालक लामा तल (गाडी खसेको नदीतिर) बाट आएको र आफूहरु सवार भ्यानलाई रोकेको र नारायणगढ जान आफूहरुले लिफ्ट दिएको उल्लेख गरेका छन्।

गुरुंगको भनाई चालक लामा गाडी दुर्घटनामा पर्नुअघि नै नियोजित रुपमा सुरक्षित हुन राखिएको भुसको थुप्रोमा हाम्फालेका थिए भन्ने ओलीको भनाईसँग मेल खाँदैन।

पर्यटन (र्याफ्टिंग) व्यवसायसँग सम्बन्धित गुरुंग भारतीय पर्यटकहरुलाई सेतो रंगको भ्यानमा लिएर जाँदै थिए। त्यसैबेला चालक लामाले गाडी रोके।

‘चालक लामाले तल (नदीतिर) बाट आएर गाडी रोक भन्यो, त्यसबेला उसको मुखको साइड साइडबाट रगत आइरहेको देखेर नै गाडी रोकेका हौँ’ रामलाल गुरुंगले भनेका छन्, नाडीमा रुमाल बेरेको, पाइन्ट अलि च्यातिएको र मैलो, माथि चाहिँ राम्रै थियो।’

गुरुंगका अनुसार लामाले आफूलाई यस्तो भयो भन्दै ‘लगिदिनोस्’ मात्र भनेका थिए।

‘चालक (लामा) ले रामनगर चौकीमा आएर पुलिसलाई खबर गर्यो, त्यसपछि पुलिससँगै पार्टी अफिससम्म गयौँ’ गुरुंग थप भन्छन्, ‘त्यहाँबाट हामी फक्र्यौं।’

लिफ्ट लिने बेला लामाले हाम्रा नेताहरु डुब्नुभयो, झिक्न मद्दत गर्नुपर्यो भनेका थिएनन्।

‘बरु पछि हामीले सोध्दा तीन जना थियौँ– मदन भण्डारी जीवराज आश्रित चाहिँ पानीमा डुबी सक्नुभो भन्यो’ गुरुंगले तुलाधर समितिसँगको कुराकानीमा भनेका छन्, ‘किन यस्तो भयो भनी सोध्दा ‘नारायणघाट कि कता कार्यक्रम थियो रे, छिटो पुग्न पर्ने भएकाले स्पिडमा आउँदा गाडी खस्यो’ भन्यो। त्यतिबेला सिमसिम पानी परिरहेको थियो।’

ओलीसँग यदि गुरुंगले ‘शरीरमा भुस लागेको अवस्थामा चालक लामाले लिफ्ट मागेका थिए’ भन्ने वयान दिएकै थिए भने तुलाधर समितिसँग उनले वयान परिवर्तन गर्नुपर्ने कुनै कारण थिएन। किनकी, समितिका अध्यक्ष तुलाधर आफै एमालेसँग सम्बन्धित संसद सदस्य थिए। अन्य सदस्यहरु पनि वामपन्थी राजनीतिसँग सम्बद्ध वा आस्था राख्ने व्यक्तित्वहरु थिए।

यस्तो लाग्छ, दासढुंगा दुर्घटना षडयन्त्र हो भन्ने आफूहरुको आशंकालाई बल पुर्याउन यसरी भुसको कथा सिर्जना गरिएको थियो, त्यसका लागि ओलीले रामलाल गुरुंगको हवाला दिए।

तर, तिनै गुरुंगले चालक लामा नदीबाट माथि उक्लेर लिफ्ट मागेको, उनी घाइते अवस्थामा रहेको वयान तुलाधर समितिलाई दिए।

चालक अमर लामाको ज्यान भने यस्तै–यस्तै आशंका र अफवाहका कारण गयो। ११ साउन २०६० मा काठमाडौँको डिल्लीबजारबाट अपहरण गरिएका लामाको कीर्तिपुर पुर्याएर पाँगा दोबाटोमा हत्या भएको थियो। हत्या माओवादीबाट गरिएको थियो।