दरबार हत्याकाण्डमा घाइते भई ज्यान गुमाउने राजा वीरेन्द्रको वंशका अन्तिम सदस्य थिए, युवराज दीपेन्द्र। घाइते भई कोमामै रहेका बेला २० जेठ २०५८ मा राजा घोषणा भएपनि उनी गद्दीमा बस्न भने पाएनन्।
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत रहेका उनको निधन २५ वर्षअघि आजकै दिन अर्थात् २२ जेठ २०५८ मा भएको थियो।
पाँच वर्षअघि उनको जन्मदिन (१३ असार २०७८) पारेर मैले दीपेन्द्रको निधन नभएको भए उनी ‘कस्तो खालका राजा बन्थे होलान्’ भन्ने एउटा स्टोरी लेखेको थिएँ। त्यसका लागि मैले विभिन्न व्यक्तिहरुसँग कुराकानी गरेको थिएँ।
दरवार हत्याकाण्डको घटना हुनुको दोष युवराज दीपेन्द्रमाथि लाग्दै आएको छ। प्रत्यक्षदर्शीहरु सबैले घटना दीपेन्द्रबाटै भएको दावी तत्कालिन प्रधानन्यायाधीस केशवप्रसाद उपाध्याय नेतृत्वमा गठित आयोगसँग गरेका छन्।
त्यसो भए उनलाई किन राजा घोषणा गरियो होला त?
यसको कारण थियो–नेपाल अधिराज्यको संविधान–२०४७ र राजगद्दी उत्तराधिकारीसम्बन्धी ऐन–२०४४ ले गरेको व्यवस्था।
तत्कालिन संवैधानिक तथा कानुनी व्यवस्थाका कारण दीपेन्द्र जुनसुकै हालतमा राजा हुने अवस्था थियो। श्री ५ वीरेन्द्रको निधन भएपछि दीपेन्द्रलाई अपराधी घोषणा गर्न सक्ने कुनै निकाय ‘युवराजधिराज’ भन्दा माथि थिएन।
बाँचेका भए दीपेन्द्रले दरबार हत्याकाण्ड आफूबाट भएको हो भन्ने ‘न्यारेटिभ’ भने निर्माण हुन दिँदैनथे।
स्टोरी लेख्ने क्रममा मैले तत्कालिन राजप्रासाद सेवाका केही अधिकारीहरुसँग कुराकानी गरेको थिएँ। तीमध्ये केहीले भनेका थिएँ, कोमामा रहेका कारण एक हिसावले निधन भइसकेकाले दरबार हत्याकाण्ड दीपेन्द्रले नै गराएका हुन् भन्न डर भएन।
तर, यदि ‘उनी सकुशल र जीवित रहने सम्भावना थियो भने कुनै प्रत्यक्षदर्शीले पनि घटना उनीबाट भएको हो भनेर मुख खोल्दैनथे।’
ती अधिकारीले भनेजस्तै, सम्भवतः त्यस्तो कुनै ‘शाही क्रान्तिकारी’ जन्मदैनथ्यो, जसले दीपेन्द्रलाई हत्यारा बताएर आफ्नो ज्यानको जोखिम निम्त्याओस्।
त्यो बेला माओवादी सशस्त्र युद्धमा थियो। उसको शक्ति बृद्धि हुँदै गएको थियो। दरवार हत्याकाण्डपछि माओवादीले त्यसलाई ‘नयाँ कोतपर्व’का रूपमा व्याख्या गर्दै त्यसलाई मान्यता नदिन आह्वानसमेत गर्यो।
माओवादीको यो दृष्टिकोण ‘दरबार हत्याकाण्ड युवराज दीपेन्द्रबाट भएको हो’ भन्ने ‘भाष्यविपरित थियो।
प्रमुख प्रतिपक्षी दल एमाले पनि दीपेन्द्रलाई हत्यारा करार गरेर अलोकप्रिय बन्ने पक्षमा थिएन। उसले त महासचिव माधव नेपाललाई उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिन निर्देशन नै दिएको थियो।
तत्कालिन प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले समेत सत्ताबाट हटेको केही समयपछि ‘दरबार हत्याकाण्डलाई ‘ग्य्रान्ड डिजाइन हो’ भन्ने दावी गरेका थिए।
यसबाट देखिन्छ, मुख्य राजनीतिक दलहरू आ–आफ्नै विश्लेषण र स्वार्थका आधारमा ‘दरबार हत्याकाण्डमा दीपेन्द्रको हात छैन’ भन्ने सन्देश प्रवाह गरिरहेका थिए।
प्रमुख दलहरू नै यस्तो मनोदशामा रहेका बेला दीपेन्द्र बाँचेका भए, उनले जसलाई दरबार हत्याकाण्डको दोषी हो भनेर आरोप लगाउँथे, त्यही व्यक्ति दरबार हत्याकाण्डको दोषी करार हुने सम्भावना थियो।
किनकी, सर्वसाधारणमाझ उनको छवि लोकप्रिय थियो।
दरबार बाहिर युवराज दीपेन्द्रको छवि एकदम सकारात्मक रहेपनि दरबारभित्र भने उनको छवि फरक खालको थियो। बाहिरजस्तो दरबारभित्र भने उनको छवि सकारात्मक थिएन।
राजा वीरेन्द्रका सैनिक सचिव विवेक शाहले मैले देखेको दरबार र राजा वीरेन्द्रा एडीसी सुन्दरप्रताप राणाले ‘दरबारको दुखान्त’ मा युवराज दीपेन्द्र सानैदेखि हठी र क्रूर स्वभावका रहेको दावी गरेका छन्।
त्यसोभए गद्दीमा बस्न पाएको स्थितिमा दीपेन्द्र त्यो बेला प्रभावशाली रहेका राजनीतिक दलहरूसँग कस्तो सम्बन्ध राखेर अघि बढ्थे होलान्?
बाल्यकालदेखिको हठी र क्रुर स्वभाव कायमै रहन्थ्यो होला वा राजा बनेपछि त्यो हठ निरंकुशता–उन्मुख हुन्थ्यो होला?
यी दुई प्रश्नको जवाफ पनि मैले त्यो स्टोरी लेख्ने क्रममा खोज्ने प्रयास गरेको थिएँ।
मैले कुराकानी गरेका व्यक्तिहरुको भनाई के थियो भने, किशोर उमेरमा दीपेन्द्र दलहरूलाई सत्ता दिन हुँदैन, दरबार कठोर हुनुपर्छ भन्ने धारणा राख्थे।
तर उमेर बढ्दै जाँदा विकसित फराकिलो संगतले यस्तो दृष्टिकोणमा परिवर्तन आउन पनि थालेको पनि थियो।
उनका कतिपय साथीभाईहरुको राजनीतिक दलहरुसँग निकटता यसको कारण थियो।
जस्तो कि, उनकी प्रेमिका देवयानी राप्रपा नेता पशुपतिशमशेरकी छोरी थिइन्। देवयानीसँगको उनको सम्बन्ध नारायणहिटीले नरुचाएका कारण ‘गद्दी जोगाउन’ पनि दलहरूप्रति नरम हुनुपर्ने बाध्यता सिर्जना हुने थियो।
त्यो किनभने, हजुरआमा रत्नसँग विवाह गर्न खोज्दा उनका हजुरबुबा महेन्द्रले झण्डै गद्दी त्याग्नुपरेको थियो। बीपी कोइरालाले राजा त्रिभुवन र युवराज महेन्द्रबीच मध्यस्थता गरिदिएकाले मात्र महेन्द्र–रत्नको विवाह सम्भव भएको थियो र महेन्द्र गद्दीको हकबाट वञ्चित हुनबाट जोगिएका थिए।
रानी ऐश्वर्य विपक्षमा रहँदारहँदै देवयानीसँग बिहे गरेको भए दीपेन्द्र राजगद्दीको उत्तराधिकारबाट वञ्चित हुने सम्भावना रहन्थ्यो। त्यो स्थितिमा हजुरबुबा महेन्द्रले जस्तै राजगद्दी उत्तराधिकारीको हक रक्षाका लागि उनले दलहरूलाई गुहार्नुपर्ने स्थिति आउन सक्थ्यो। यसले गर्दा उनी दलहरूप्रति नरम र सहयोगी हुनसक्ने सम्भावना थियो।
प्रेम र विवाहकै सन्दर्भमा पनि उनी त्यति हठी थिएनन्, देवयानीसँगको सम्बन्ध र विवाहको विषयलाई लिएर उनलाई हठी भनेर चर्चा गर्ने गरिएको छ।
जस्तो, ऐश्वर्यको चाहना दीपेन्द्रको विहे गरिमा राणासँग होस् भन्ने थियो। तर, गरिमाले युवराज दीपेन्द्रसँग विहेका लागि रुचि देखाइनन्।
रानी ऐश्वर्य विपक्षमा भएपछि सुप्रिया शाहसँगको उनको सम्बन्ध पनि ‘ब्रेक’ भयो।
देवयानीसँग विवाहका लागि सहमति जुटाउन उनी आफैंले अन्तिमसम्म सहमतिको प्रयास गरेकै थिए।
तर, कुरा मिलेन। कुरा नमिलेकैले दरबार हत्याकाण्ड हुन पुगेको थियो।
त्यही हत्याकाण्ड र उनको निधनका कारण कारण उनी साँच्चिकै क्रूर र हठी थिए भन्ने ‘न्यारेटिभ’ पनि निर्माण हुन पुग्यो।
हो, नेपालको इतिहासमा कतिपय राजा ‘प्रजातान्त्रिक’ देखिएका छन्। तर, यो परिस्थितिको उपज हो। मूलतः राजाहरु निरंकुश शासनकै पक्षपाति हुन्छन्।
दीपेन्द्रको हकमा भने निरंकुश शासक बन्ने वातावरण थिएन। उनको वातावरण उदार राजनीतिक प्रकृतिको थियो।
उनकी प्रेमिका देवयानीका पिता पशुपतिशमशेर राप्रपाभित्र उदार विचारधाराका नेता थिए। देवयानीको मामाघर ग्वालियर (भारत) को राज खानदान पनि कांग्रेस (आई) र भाजपाजस्ता उदार राजनीतिक दलमा आबद्ध थियो।
दीपेन्द्रको साथीभाईहरुको वृत्तमा विभिन्न राजनीतिक विचारधाराका युवा थिए। यो बृत्तको प्रभाव पनि उनमा पर्ने नै थियो।
बाबु मारेर राजा भएको भयका कारण जनमत आफ्नाविरुद्ध नजाओस् भनेर पनि उनी सम्झौतावादी हुनुपर्ने बाध्यता सिर्जना हुन सक्थ्यो।
नारायणहिटी दरबार संग्रहालयका पूर्व प्रमुख रोहित प्रसाद ढुंगानासँग पनि त्यो स्टोरीका लागि कुराकानी गरेको थिएँ। २०३९ देखि राजप्रासाद सेवामा रहेका ढुंगाना दीपेन्द्रलाई नजिकबाट चिन्थे।
स्टोरी लेख्नका लागि ढुंगानासँग कुराकानी गर्दा उनले भनेका थिए, ‘जतिसुकै हठी भएपनि ‘राम्रोसँग सम्झाउँदा ‘कन्भिन्स’ हुने स्वभाव दीपेन्द्रको थियो, दरबार हत्याकाण्डमा परी उनको ज्यान नगएको भए र राजा हुन पाएको भए, अरूका कुरा सुन्ने र कन्भिन्स पनि हुने स्वभावको असर राजनीतिमा स्वाभाविक रूपमा पर्न सक्थ्यो।’
अर्थात्, साँच्चिकै गद्दीमा बस्न पाएको भए दीपेन्द्र आफ्ना पूर्वजहरु भन्दा दीपेन्द्र ‘समन्वयात्मक’ र ‘सम्झौतावादी’ राजा हुनसक्ने सम्भावना बढी थियो।
तर, दरबार हत्याकाण्डको तीन दिनपछि छाउनी अस्पतालमा उनको निधन भयो। दरबार हत्याकाण्डपछि उनी राजा त घोषित भए, तर गद्दीमा बस्न र शासन सन्चालन गर्न भने पाएनन्।