धीरेन्द्र शाह : जन्मदा ‘शाहज्यादा’, दरबार हत्याकाण्डमा निधन हुँदा ‘सर्वसाधारण नागरिक’

राजदरवार हत्याकाण्डमा गोली लागी सबैभन्दा अन्तिममा ज्यान गुमाउने व्यक्ति थिए, धीरेन्द्र शाह। १९ जेठको त्यो विभत्स हत्याकाण्डमा आफ्ना दाजु राजा वीरेन्द्रलाई जोगाउन जाँदा सँगै गोली लागेका उनको मृत्युको घोषणा छाउनीस्थित सैनिक अस्पतालले २२ जेठ २०५८ मा गरेको थियो।

धीरेन्द्र दरबार हत्याकाण्डमा ज्यान गुमाउने अन्तिम व्यक्तिमात्र थिएनन्, सबैभन्दा अभागी व्यक्तिपनि थिए। जन्मनासाथ आमा इन्द्रराज्यलक्ष्मी देवी शाहलाई गुमाएका धीरेन्द्र राजा महेन्द्रका कान्छा छोरा भएपनि मृत्युको बेला उनको कुनै शाही उपाधि थिएन, जबकि २०४६ मंसिर पहिलो हप्तासम्म उनीसँग ‘अधिराजकुमार’ को उपाधि थियो।

विवादास्पद व्यक्तित्व : सोझा अधिराजकुमार
स्व. इन्द्रराज्यलक्ष्मीतर्फका तीन छोरामध्ये उनी सबैभन्दा सोझा मानिन्थे, राजा वीरेन्द्रभन्दापनि सोझा। तर, उनको दुर्भाग्य के भइदियो भने, राजा वीरेन्द्रको शासनकालमा सबैभन्दा विवादित उनी नै बने। उनको सोझोपनको फाइदा अरुहरुले उठाउँदा र स्त्रीहरुप्रतिको अत्याधिक आशक्तिका कारण अधिराजकुमारको शाही पदवी छाड्नु पर्यो।

बिसं चालिसको दशकदेखि नै श्रीमति अधिराजकुमार प्रेक्षासँग उनको दाम्पत्य जीवन सुमधुर रहेन। उनी राजा वीरेन्द्रका कान्छा भाई भएजस्तै उनकी पत्नी अधिराजकुमारी प्रेक्षा शाह बडामहारानी रत्नकी कान्छी वहिनी थिइन्।

स्वदेशी–विदेशी युवतिहरुसँग धीरेन्द्रको विवाहेत्तर सम्बन्धका कारण २०४० को दशकको मध्यतिर प्रेक्षासँग उनको पारपाचुके भएको थियो।

अन्य युवतीहरुसँगको सम्बन्धका कारण रानी ऐश्वर्यले पनि धीरेन्द्रलाई मन पराउने कुरा थिएन। त्यसमाथि उनका सहयोगीहरु लागू औषध, सुन, घडी लगायतका बहुमूल्य सामानको तस्करीमा संलग्न थिए। राष्ट्रिय पन्चायतका पूर्व सदस्य समेत रहेका पत्रकार पदम ठकुराठीको हत्या प्रयास स्वरुप गोली हान्ने काण्डमा संलग्नहरु पनि उनकै सहयोगीहरु थिए।

धीरेन्द्र शाहको अधिराजकुमार पदबाट राजीनामाबारेको राजपत्र

धीरेन्द्रको सोझोपनको फाइदा उठाएर खराव तत्वहरुले यस्ता गतिविधिमार्फत लाभ लिए। तर, त्यसले विवादमा भने उनलाई पार्यो। ती काण्डहरुमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा उनको संलग्नताको चर्चा र श्रीमति प्रेक्षासँगको खराव सम्बन्धका कारण २०४६ मंसिरमा उनले अधिराजकुमारको पदवी त्यागे।

श्रीमतिसँग पारपाचुके र शाही पदवी त्यागसँगै अधिराजकुमार हुँदा उनले प्राप्त गर्ने सुविधाबाटपनि बन्चित भए। त्यसपछि आर्थिक दृष्टिले पनि उनी सहज अवस्थामा रहेनन्। सम्भवतः मुमा बडामहारानी रत्नले उनलाई आर्थिक रुपमा भरथेर गरिन्।

अधिराजकुमारको पदवी त्यागेपछि उनको बसोबास धेरै बेलायततिर हुन थाल्यो। बेलायतमा उनी आफ्नी प्रेमिका सर्ली ग्रेनीका साथ बस्थे। सर्लीको तर्फबाट उनकी एक छोरी छन्।

त्यसबाहेक काठमाडौँमा पनि उनकी अर्की श्रीमति थिइन्– जया शाह। राजगुरु पाण्डे खलककी जया र उनको कोखबाट जन्मेकी धीरेन्द्रकी छोरी श्रेया शाह अहिले अमेरिकामा बसोबास गर्छन्। श्रेया बाबु धीरेन्द्रको नामबाट नागरिकताका लागि अझै संघर्षरत छिन्।

श्री ५ वीरेन्द्रका राजनीतिक सहयोगी
पत्नी प्रेक्षासँगको खराव सम्बन्ध र अनेक काण्डहरुमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्नता आदिका कारण शाही पदवीबाट राजीनामा दिन बाध्य भएपनि राजकीय मामिलामा उनी राजा वीरेन्द्रका इमान्दार सहयोगी थिए।

माओवादी विद्रोहलाई शान्तिपूर्ण रुपमा अवतरण गराउन सशस्त्र विद्रोही माओवादीसँग वार्ताको जिम्मेवारी राजा वीरेन्द्रले धीरेन्द्रलाई दिएका थिए। उनी मार्फत् नै राजा वीरेन्द्र र माओवादीबीच अनौपचारिक तवरमा वार्ता भइरहेको थियो।

धीरेन्द्रमार्फत् राजा वीरेन्द्र आफूहरुसँग वार्तामा ‘इन्गेज’ भइरहेका, तर अकस्मात दरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित उनको वंश नै र वार्ताका लागि खटाइएका धीरेन्द्रको समेत हत्या भएको आधारमा माओवादीले दरवार हत्याकाण्डलाई आफूहरुविरुद्धको षडयन्त्र र ‘नयाँ कोतपर्व’ का रुपमा चित्रित गरेको हो।

खासमा दरवार हत्याकाण्ड र माओवादी जनयुद्धबीच कुनै पनि साइनो थिएन। तर, आफूहरुसँग वार्ता चलिरहेका बेला राजा वीरेन्द्र र धीरेन्द्र दुबै मारिएको घटनालाई माओवादीले राजनीतिक षडयन्त्र मान्यो, जुन उसको ‘राजनीतिक विश्लेषण’ मात्र थियो।

पछिल्लो समय धीरेन्द्र राजा वीरेन्द्रका विश्वासिला र भरपर्दा राजनीतिक सहयोगी त थिए नै, त्यसबाहेक त्रिभुवन सदनमा पहिलो पटकको गोलीबाट घाइते भएका दाजु राजा वीरेन्द्रलाई बचाउन युवराज दीपेन्द्रलाई सम्झाउने प्रयास पनि उनैले गरेका थिए।

पहिलो पटक राजा वीरेन्द्रमाथि गोली चलाएका युवराज दीपेन्द्र जब दोस्रो पटक फेरि गोली चलाउने योजनाका साथ विलियार्ड हलमा आइपुगे, दीपेन्द्रलाई सम्झाउँदै उनले ‘ए बाबु, द्याट्स इनफ’ (अर्थात् अव अति भइसक्यो) भन्दै सम्झाउने प्रयास गरेका थिए।

तर, दीपेन्द्रले उनैमाथि पनि गोली दागिदिए, उनी ढले।

भनिन्छ कि, जीउ ठूलो भएका कारण गोली लागेपछि उभिएको ठाउँबाट हुत्तिएर पर पुगेका थिए।

अरुको विदावारीपछि अन्तिम प्रस्थान
१९ जेठ २०५८ को दरबार हत्याकाण्डमा गोली लागेर छाउनीस्थित सैनिक अस्पताल पुर्याइँदासम्म धीरेन्द्रको बाँच्ने आशा बाँकी थियो। तर, यद्यपी दरबार हत्याकाण्डको तीन दिनपछि २२ जेठ (२०५८) मा उनको पनि निधन हुन पुग्यो।

१९ जेठको सो जमघटका लागि, नारायणहिटीमा नै बसोबास गर्ने राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र मुमा बडामहारानी रत्नबाहेक बाँकी २४ जनालाई निम्तो दिइएको थियो। निम्त्याइएकामध्ये धीरेन्द्रसहित पाँचजनाको शाही पदवी थिएन।

दरबार हत्याकाण्डको घटनास्थलमा धीरेन्द्र शाहको रगतसँगै उनको टोपी र चस्मा

सो घटनामा मारिएका धीरेन्द्रबाहेक बाँकी ९ जना वीरेन्द्र शाह, (श्री ५ महाराजधिराज), ऐश्वर्य शाह (श्री ५ बडामहारानी), दीपेन्द्र शाह (युवराजधिराज), श्रुति राणा (श्री ५ अधिराजकुमारी) निराजन शाह (श्री ५ अधिराजकुमार), शान्ति सिंह (श्री ५ अधिराजकुमारी), शारदा शाह (श्री ५ अधिराजकुमारी), खड्कविक्रम शाह (‘कुमार’– राजाका ज्वाइँलाई दिने शाही उपाधि), जयन्ती शाह (शाहज्यादी– अधिराजकुमार–अधिराजकुमारीका छोरीलाई दिइने उपाधि) थिए।

बिसं ६ पुष २००६ मा जन्मँदा धीरेन्द्रको शाही उपाधि ‘शाहज्यादा’ थियो। युवराज महेन्द्रको छोरा भएपनि त्यो बेला उनीहरुलाई शाहज्यादा भनिन्थ्यो। श्री ५ त्रिभुवनको मृत्युपछि जब श्री ५ महेन्द्र राजा बने, राजाको छोराको हैसियतमा उनलाई ‘अधिराजकुमार’ को पदवी प्राप्त भयो। ३ मंसिर २०४६ सम्म उनी त्यो पदमा रहे।

राजदरवारले २८ मंसिर २०४६ मा राजपत्रमा सूचना प्रकासित गरी धीरेन्द्रले अधिराजकुमार पदबाट राजीनामा दिएको जानकारी सार्वजनिक गरेको थियो।