चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव समेत रहेका राष्ट्रपति सी चिनफिङले चीन र जनवादी प्रजातान्त्रिक गणतन्त्र कोरिया (डीपीआरके अर्थात् उत्तर कोरिया) बीचको सम्बन्ध नयाँ ऐतिहासिक सुरुआती बिन्दुमा उभिएको बताएका छन्।
उत्तर कोरियाली श्रमिक पार्टी (डब्ल्यूपीके) का महासचिव तथा राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनद्वारा सोमबार (२५ जेठ) आयोजित स्वागत भोजमा सहभागी हुने क्रममा सीले उक्त कुरा बताएका हुन्।
सीले चीन र उत्तर कोरिया पहाड र नदीहरूले जोडिएका तथा साझा भविष्य बोकेका राष्ट्रहरू भएको उल्लेख गर्दै बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिको परीक्षाका बीच दुवै देशबीचको परम्परागत मित्रता पुस्तौँदेखि पुस्तौँसम्म हस्तान्तरण हुँदै आएको र समयसँगै अझ सुदृढ बन्दै गएको बताए।
यस वर्ष चीन–उत्तर कोरिया मैत्री, सहयोग तथा पारस्परिक सहायता सन्धिको ६५औँ वार्षिकोत्सव परेको उल्लेख गर्दै राष्टपति सीले दुई मुलुकबीचको सम्बन्ध नयाँ ऐतिहासिक सुरुआती बिन्दुमा उभिएको र यो भ्रमणका क्रममा आफू र किमबीच महत्वपूर्ण सहमति भएको बताए।
महत्वपूर्ण सहमति
समाजवादको भाग्य र भविष्यलाई रणनीतिक दृष्टिकोणबाट हेर्दै दुर्ब नेताले समयको समग्र प्रवृत्तिलाई आत्मसात गर्ने, दुबै मुलुकका जनताको साझा आकांक्षाको जवाफ दिने, उच्चस्तरीय आदानप्रदानलाई सुदृढ गर्ने, रणनीतिक सञ्चारलाई अझ गहिरो बनाउने, व्यावहारिक सहयोगलाई विस्तार गर्ने, जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउने, चीन–उत्तर कोरिया बीचको सम्बन्धको उच्चस्तरीय विकासलाई अझ बढावा दिने, दुबै मुलुकका समाजवादी अभियानका लागि संयुक्त रूपमा अझ उज्ज्वल भविष्यको ढोका खोल्ने तथा मानव समाजको निरन्तर प्रगतिमा योगदान पुर्याउने सहमति पनि दुई शीर्ष नेताले गरेका छन्।
राष्ट्रपति सीले यस वर्ष सफलतापूर्वक सम्पन्न भएको उत्तर कोरियाली श्रमिक पार्टीका नवौँ महाधिवेशनले पार्टी तथा राष्ट्रको दीर्घकालीन विकासका लागि रणनीतिक योजना र महत्वपूर्ण व्यवस्थाहरू तय गरेको तथा उत्तर कोरियाको समाजवादी अभियानको सर्वाङ्गीण विकासको नयाँ कालखण्डको सुरुआत गरेको बताए।
असल छिमेकी, असल मित्र तथा असल सहयोद्धाका रूपमा चीनले महासचिव किमको नेतृत्वमा रहेको डब्ल्यूपीके केन्द्रीय समितिको सशक्त नेतृत्वअन्तर्गत उत्तर कोरियाली जनताले डब्ल्यूपीकेको नवौँ महाधिवेशनले निर्धारण गरेका लक्ष्य तथा कार्यहरू सफलतापूर्वक पूरा गर्ने र डीपीआरकेको समाजवादी अभियानमा निरन्तर नयाँ उपलब्धिहरू हासिल गर्नेछन् भन्ने हार्दिक शुभेच्छा व्यक्त गरेको सीले बताए।
अपूर्व स्वागत
सोमबार भ्रमणको क्रममा उत्तर कोरिया पुगेका राष्ट्रपति सीलाई उत्तर कोरियाली श्रमिक पार्टी (डब्ल्यूपीके), सरकार तथा उत्तर कोरियाली जनताको तर्फबाट किमले हार्दिक स्वागत व्यक्त गरेका थिए।
राष्टपति सीको भ्रमणको दिनलाई विशेष दिनका रुपमा व्याख्या गर्दै किमले राष्टपति सीका लागि प्योङयाङ मित्रताको वातावरण र उल्लासमा रहेको बताए। र, पार्टी, सरकार तथा जनताले आफ्नो सबैभन्दा सम्मानित अतिथिलाई हार्दिक स्वागत गरिरहेको बताए।
सीको यस वर्षको पहिलो विदेश भ्रमण उत्तर कोरियाबाट सुरु भएको उल्लेख गर्दै किमले यसबाट राष्टपति सीले दुई पार्टी र दुई मुलुकबीचको सम्बन्धको विकासलाई उच्च महत्वलाई पूर्ण रूपमा प्रदर्शित गरेको उल्लेख गरे। साथै उत्तर कोरियाको समाजवादी अभियानका लागि अत्यन्त मूल्यवान समर्थन प्रदान गरेको पनि बताए।
किमले राष्टपति सीसँगको यो भेट अघिल्लो भेटवार्ताको नौ महिनापछि भएको उल्लेख गरे र यसपटकको भेटमा दुबै नेताले नयाँ परिवर्तनशील परिस्थितिको आलोकमा उत्तर कोरिया–चीन सम्बन्धलाई नयाँ युग अनुकूल विशेष अर्थसहित थप अघि बढाउने विषयमा महत्वपूर्ण सहमति हासिल भएको बताए।
आपसी चासोका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान भएको जानकारी पनि उनले दिए।
किमको शुभेच्छा
‘निश्चित रूपमा यसले गहिरो ऐतिहासिक परम्परा बोकेको उत्तर कोरिया–चीन मित्रताको विकासलाई अझ तीव्र बनाउनेछ’ किमले भने, ‘क्षेत्रीय रुपमा र विश्वमा शान्ति र स्थायित्वमा पनि यो भेटवार्ता र भ्रमणले योगदान पुर्याउनेछ।’
उत्तर कोरियाका जनताले चिनियाँ जनताले हासिल गरेका उल्लेखनीय उपलब्धिहरूप्रति हृदयदेखि नै खुशी व्यक्त गर्ने गरेको पनि राष्टपति सीसँग बताए।
किमले सीको नेतृत्वमा सीपीसी र महान चिनियाँ जनताले आधुनिक समाजवादी राष्ट्र निर्माणको अभियान अन्तर्गत दोस्रो शताब्दी लक्ष्य (सेकेण्ड सेन्टेनरी गोल) प्राप्त गर्ने, तथा चिनियाँ राष्ट्रको महान पुनर्जागरणतर्फको नयाँ यात्रालाई पूरा गर्ने र यस क्रममा थप महान उपलब्धि हासिल हुने विश्वास पनि व्यक्त गरे।