परराष्ट्रमन्त्री शिशिर खनाल दक्षिण छिमेकी भारत भ्रमणलगत्तै उत्तरतर्फको छिमेकी जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका छन्।
मन्त्री खनालको चीन भ्रमण सोमबार (१४ जुलाई) देखि सुरु हुने र १७ जुलाईसम्म हुने भएको छ।
परराष्ट्रमन्त्री खनालको भारत भ्रमण सम्पन्न भएको अर्काे हप्ता नै चीनको भ्रमण हुन लागेको हो। मन्त्री खनालले यसअघि २२–२४ जेठमा मित्रराष्ट्र भारतको भ्रमण गरिसकेका छन्।
औपचारिक/अनौपचारिक घोषणा
नेपालको परराष्ट्र मन्त्रालय तथा चीनको विदेश मन्त्रालय दुबैले सोमबार प्रेस विज्ञप्ती तथा पत्रकार सम्मेलनमार्फत् भ्रमणको औपचारिक घोषणा गरेका छन्।
नेपालले प्रेस विज्ञप्ती र चीनले नियमित पत्रकार सम्मेलनमार्फत् भ्रमणबारे औपचारिक जानकारी दिएका हुन्।
परराष्ट्र मन्त्रालय (नेपाल) का अनुसार जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यवाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनालको औपचारिक चीन भ्रमण हुन लागेको हो।
उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाखुनले पनि शुक्रबार (२९ जेठ) नै बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा नेपाली परराष्ट्रमन्त्री खनालले चीनको भ्रमण गर्ने जानकारी दिएका छन्।
औपचारिक घोषणा शुक्रबार गरिएपनि मन्त्री खनालबाट चीन भ्रमण हुने विषय भारत भ्रमण समापन भएको भोलिपल्टै सार्वजनिक भइसकेको थियो।
नेपालभ्यूज अनलाइनले २५ जेठमा परराष्ट्रमन्त्री खनालको चीन भ्रमण हुने समाचार प्रकासित गरेको थियो। यो नै मन्त्री खनालको चीन भ्रमणबारेको पहिलो समाचार थियो।
नेपाल–चीन दुबैतर्फबाट सार्वजनिक घोषणा हुनु अघिल्लो दिन मन्त्री खनालले पनि चीन भ्रमणबारे पत्रकारहरुलाई अनौपचारिक तवरमा जानकारी गराएका थिए।
विहीबार (२८ जेठ) मा मन्त्रालयको सभाकक्षमा आयोजित पत्रकारहरुसँगको अन्तक्र्रियामा उनले चीन भ्रमणबारे जानकारी गराएका हुन्। त्यसदिन मन्त्रालयले परराष्ट्र मामिला हेर्ने पत्रकाहरुसँग अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको थियो।
त्यही पत्रकार सम्मेलनमा मन्त्री खनालले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी गराएका थिए।
बेइजिङका कार्यक्रम
मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्।
उक्त वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्यलाई अझ गहिरो बनाउने सम्बन्धमा छलफल हुनेछ।
मन्त्री खनालले जनवादी गणतन्त्र चीनका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्र्ने मन्त्रालयको विज्ञप्तीमा
तर, विदेशमन्त्री वाङबाहेक उनको भेटवार्ता हुने अन्य चिनियाँ अधिकारीहरुबारे प्रेस विज्ञप्तीमा उल्लेख छैन।
भ्रमण अवधिमा मन्त्री खनालले बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्यले लगानी सम्मेलनमा सहभागिता जनाउनेछन्।

सोही अवसरमा खनालले चिनियाँ व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्नेछन्।
बेइजिङस्थित नेपाली राजदूतावासले मन्त्री खनालको सम्मानमा सोमबार साँझका लागि स्वागत समारोह आयोजना गरेको छ। त्यसक्रममा खनालले बेइजिङस्थित नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गर्नेछन्।
चीनअघिको भारत भ्रमण
चीन भ्रमणअघि परराष्टमन्त्री खनालले २२–२४ जेठमा दक्षिण छिमेकी भारतको भ्रमण गरिसकेका छन्। भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा खनालको औपचारिक भ्रमण भएको हो।
बालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार निर्माण यता भएको पहिलो उच्चस्तरीय भारत भ्रमण भएकाले त्यसलाई निकै महत्वका साथ हेरिएको थियो।
नयाँदिल्ली पुगेकै दिन परराष्ट्रमन्त्री खनालको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता भएको थियो। त्यसक्रममा द्विपक्षीय वार्ता पनि भयो, जसमा ऊर्जा सहकार्य र विद्युत् व्यापार, सीमा पार पूर्वाधार तथा कनेक्टिभिटी, व्यापार तथा लगानी, डिजिटल अर्थतन्त्र र नयाँ प्रविधि, शिक्षा, स्वास्थ्य, संस्कृति तथा खेलकुद सहकार्य, जनस्तरको सम्पर्क लगायतका विषयमा छलफल भएको थियो।
परराष्ट्रमन्त्री खनालले भ्रमणको क्रममा नेपालमा नयाँ सरकार बनेकाले नेपालले भारतप्रति कुनै ‘पुरानो बोझ’ वा ‘पुराना गुनासा’ नबोकेको उल्लेख गरेका थिए।
खनालअघि भारत भ्रमण गरेका रास्वपा अध्यक्ष रवि लामिछानेले पनि यही कुरा उल्लेख गरेका थिए, हिन्दूस्तान टाइम्समा प्रकासित आफ्नो लेखमा।
यो विषय निकै चर्चित बन्यो, साथै रहस्यात्मक पनि।
किनकी, लिम्पियाधुरा–कालापानी विवाद सतहमा आएका बेला सत्तारुढ दलका अध्यक्ष र परराष्ट्रमन्त्री दुबैको उपरोक्त अभिव्यक्तिको खास अर्थ के हो, त्यो प्रष्टरुपमा हालसम्म बताइएको छैन।
यद्यपी, परराष्ट्रमन्त्री खनालले कालापानी–लिम्पियाधुरा जस्ता सीमासँग सम्बन्धित विषयहरुलाई भावनात्मक होइन, तथ्य र प्रमाणका आधारमा वार्ता गरेर समाधान गर्नुपर्ने उल्लेख गरेका थिए।
कुटनीतिक सन्तुलन
यसअघि नयाँ सरकार निर्माण भएलगत्तै प्रधानमन्त्रीबाट पहिले भारत भ्रमण (अक्सर) र त्यसपछि चीन भ्रमणमा हुने गरेको थियो।
तर, प्रधानमन्त्री बालेन्द्र शाहले विदेश भ्रमणलाई प्राथमिकतामा राखेका छैनन्। कम्तिमा एक वर्ष विदेश मन्त्रालयमा नजाने जानकारी प्रधानमन्त्री शाहको तर्फबाट अनौपचारिक तवरमा सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री विदेश भ्रमणमा नगएपनि परराष्ट्र मन्त्रीको तर्फबाट दुबै छिमेकीको भ्रमणको कार्यक्रम बनेको छ।
पूर्ववर्ती सरकारहरुको पालामा झैँ नयाँ सरकारको पहिलो र दोस्रो प्राथमिकता क्रमशः चीन र भारत हुन् भन्ने देखिन्छ।