राणाकालमा काठमाडौँको मातातीर्थदेखि टेकुसम्म चल्ने रेल खोज्दै जाँदा

बिगत १०–१२ वर्षयता म एउटा रेल इन्जिनको खोजीमा लागिरहेको थिएँ (छु), जुन रेल काठमाडौँको काठमाडौँमा राणाकालदेखि सन्चालनमा थियो।

राणा प्रधानमन्त्री भीम शमशेरको पालामा बिसं १९८८ देखि सन्चालनमा आएको त्यो रेल बिसं २०१८ सम्म सन्चालनमा रह्यो।

त्यो रेल श्री ३ चन्द्र शमशेरको पालामा निर्माण गरिएको धोरसिङ–मातातीर्थमा चल्ने रोपवेले ल्याएका सामान ओसार्थ्यो। खासमा त्यो रेल श्री ३ चन्द्रकै पालामा निर्माण भएको रक्सौल–अमलेखगन्ज रेलको विस्तारित रुप थियो।

सीमावर्ति शहर रक्सौलबाट सुरु हुने नेपाल गभर्मेन्ट रेलवेले बाराको अमलेखगन्जसम्म मालसामान ल्याउँथ्यो।

अमलेखगन्जसम्म रेलमा ल्याइएका ती माल–सामान गाडीमा धोरसिङसम्म आइपुग्थे, धोरसिङबाट रोपवेबाट मातातीर्थसम्म आइपुग्थ्यो।

मातातीर्थमा अहिलेपनि ‘१० नम्बर भन्सार’ भन्ने स्थान छ, जुन त्यो रोपवेको अन्तिम गन्तव्य र काठमाडौँमा चल्ने रेलवेको प्रारम्भविन्दू थियो।

रोपवले बोकेर ल्याएका सामान ‘अफलोड’, ‘अनलोड’ गरिने, अनि आवस्यक शुल्क लिने ठाउँ भएकाले होला, त्यसलाई १० नम्बर भन्सार भनिएको।

काठमाडौँ छिर्ने अन्य गौँडाहरुमा समेत यस्ता भन्सार राखिएका रहेछन्। त्यहीकारण रोपवेको अन्तिम विन्दू र रेलवेको प्रारम्भ विन्दू रहेको ठाउँलाई ‘१० नम्बर भन्सार’ भनिएको होला।

‘राणाकालमै काठमाडौँमा रेल चल्थ्यो’ भन्ने कुरा जब जानकारी पाएँ, म त्यो रेलमार्ग र त्यो रेल इन्जिनको खोजीमा लागेँ। (त्यो रेलमा काम गर्ने एक कर्मचारी भेटिए। उनी अझै जीवित छन्, उनको पेन्सनपट्टामा ‘नेपाल रेल्वे’ को कर्मचारी भन्ने उल्लेख छ।)

मातातीर्थ–सतुङ्गल क्षेत्रका नक्सामा रेलमार्ग पनि भेटिए। कालिमाटी क्षेत्रमा रेल दौडने ‘लिक’ को तस्वीर पनि भेटेँ।

राणाकालिन रेलको लिकमा बसेर फोटो खिचेका कालिमाटीका एक स्थानीय (फोटो सौजन्य : जोन वालड्रन/बेलायत)

विष्णुदेवी क्षेत्रमा बल्खु खोलामा रेल पार गर्न बनाइएको पुल हुँदै म कैयौँ पटक ओहोर–दोहोर गरेको छु। त्यहाँ रहेका फलामे ‘लिक’ त मैले आफैले पनि देखेँ।

मालबाहक रेल भएपनि नैकाप हुँदै टेकुतर्फ लाग्दा बाल्यकालमा रेलको बाहिरी भागमा झुण्डिएर त्यसको अनुपम आनन्द लिएका स्थानीयवासीहरु पनि भेटिए।

त्यो रेलको सामान हाल्ने डिब्बा सायद अहिले अस्तित्वमा छैन, यद्यपी त्यसको तस्वीरपनि भेटेँ।
तर, त्यो रेलको मुख्य भाग अर्थात् लोकोमोटिभ (इन्जिन) चाहिँ कत्ति गर्दापनि भेट्न सकिनँ।

खासमा त्यही ‘लोकोमोटिभ’ खोज्ने क्रममा रेलमार्ग देखिने नक्सादेखि लिकसम्म, रेलका कर्मचारीदेखि केटाकेटी छँदा रेलमा झुण्डिएर त्यसको मज्जा लिएका स्थानीयवासीहरु भेटिएका थिए।

‘आखिर रेल भनेको मुख्यतया त्यसको इन्जिन (लोकोमोटिभ) नै हो। त्यो इन्जिन चाहिँ कहाँ होला त ?’

त्यो रेल देख्ने–भोग्नेहरुलाई सधैँ म यही प्रश्न सोध्ने गर्थें।

मैले जिज्ञाशा राखेका मध्ये केहीले त्यो इन्जिन टेकुमा रहेको हुनसक्ने बताए, केहीले रानीपोखरी नजिकै भोटाहिटी–कमलाक्षी क्षेत्रमा।

धेरै वर्षअघि टेकु भन्सार क्षेत्रमा विविध प्रकारका फलामका ठूला–ठूला इन्जिन देखेको थिएँ। तर रेलको खोजी गर्दासम्म ती इन्जिनहरु त्यहाँबाट हटाइसकिएका थिए।

त्यस क्षेत्रमा गएर सोधीखोजी सुरु गरेँ। तर, रेलको इन्जिनबारे वरिपरि बसोबास गर्ने कसैले बताउन सकेनन्।

पक्कै राणाकालमा गाडी बोकेर ल्याएझैँ रेलको इन्जिन र डिब्बाहरु पनि दर्जनौँ मानिसहरुलाई बोकाएर काठमाडौँ ल्याइएको थियो।

धोरसिङ–मातातीर्थ रोपवे विस्थापित गरी २०१८–१९ ताका हेटौँडाबाट सिधै टेकु भन्सारसम्म चल्ने रोपवे निर्माण जब भयो, त्यसपछि मातातीर्थ–टेकु रेलमार्गको आवस्यकता रहेन।

मातातीर्थ–टेकु रेलमार्गमा चल्ने रेललाई फेरि त्यसैगरी बोकेर पक्कै अमलेखगन्ज पुर्याइएन होला जस्तो लाग्छ। रक्सौल–अमलेखगन्जमा रहेका रेलहरुको रेकर्डले पनि काठमाडौँमा चल्ने रेल त्यहाँ फर्काइएको देखाउँदैनन्।

यस्तैमा, एकजनाबाट के जानकारी प्राप्त गरेँ भने, ‘टेकुमा रहेका कतिपय इन्जिन पछि रानीपोखरीस्थित दरवार हाइस्कूलको पछिल्तिरको खालि जमिनमा लगेर थन्क्याइएको थियो, खोजी गर्ने हो भने रेलको त्यो इन्जिन त्यहीँ भेटिनसक्छ।’

रेलको खोजी गर्दै केही वर्षअघि म त्यहाँपनि पुगेँ। त्यहाँ त सोध्ने मानिसपनि भेटिएनन्।

अब ‘भगवान भरोशा’ मा रहनु बाहेक अर्को विकल्प रहेन।

आजकल नभेटेपनि त्यो रेल म थुप्रैपटक चढेको छु। त्यसक्रममा ढोरसिङबाट रोपवेमार्फत् मातातीर्थ झारिएपछि टेकुसम्म पुर्याउन रेलको डिब्बामा हालिएका चिनी र सख्खर, दालचिनी र ल्वाङ–सुकमेल कैयौँ चोटि चोरेर खाएको पनि छु।

कैयौँ पटक म त्यही रेल चढेर अफिस गएको छु, बास बस्न घर आइपुगेको छु। हाइकिङ गर्न चाहने साथीहरुलाई त्यही रेल चढाएर चन्द्रागिरिको फेदसम्म पुर्याएको छु।

हरेक आनन्द विपनामा मात्रै लिनुपर्छ भन्ने छ र ! त्यसको आनन्द यसैगरी सपनामा पनि त लिन सकिन्छ नि!

कतिपय घटना त विपनाको भन्दा सपनाको भोगाई मीठो र स्मरणीय लाग्छन् मलाई।

मातातीर्थबाट काठमाडौँका लागि ओरालो झरेको रेल किसिपिडी वा विष्णुदेवी पुगेपछि, त्यसको बोग्गीमा सुटुक्क चढेर चिनी सख्खर, सुकुमेल र दालचिनी चोरेर खाएका सपना विपनामा खाएभन्दा मीठो लाग्छ।

‘त्यो रेल भेट्न पाए क्या गजब हुन्थ्यो’ भन्ने चाहिँ लागिरह्यो। लागिरहन्छ। र, लागिरहनेछ।

एकदिन साँझपख घर फर्कंदै थिएँ। टेकु क्षेत्रमै (कुपण्डोल–टेकु पुल नजिकै) रहेको महेन्द्र सरस्वती मावि अगाडि फलामको एउटा अजङ्गको मेसिनजस्तो सामाग्री देखियो।

बाटोको छेउको खालि ठाउँ, रुखको आड लागेर बसेको, खिया लागेर जीर्ण भइसकेको र अब घामपानी ज्यादा ज्यादा सहन नसकी माटोमा मिल्ने तयारीमा रहेको त्यो सामाग्री आकार–प्रकारको दृष्टिले पनि रेलजस्तै थियो।

राणाकालमा सन्चालनमा आएका रक्सौल–अमलेखगन्ज र जयनगर–जनकपुर रेल पनि ‘मिटर गेज’ का थिए। तराईमा चल्ने रेल त मिटर गेजका थिए भने काठमाडौँमा त्यो भन्दा ठूलो आकारका रेल हुने कुरा पनि थिएन। त्यसको आकार पनि ‘मिटर गेज’ वाला रेलजस्तै थियो।

रेल हो–होइन, ‘कन्फर्म’ गर्न सबैभन्दा पहिले त्यसको भुइँको भागमा हेरेँ।

माटोमा जोतिएकाले लिकमा गुड्ने चक्का खियाले खिइसकेजस्तो लाग्यो। त्यो भाग हेरेर रेल हो भनेर पक्का हुने स्थिति रहेन।

माथिल्लो भाग भने सुरक्षित थियो। दिमागमा रेल खोज्ने धुन सवार भएकाले होला, माथिल्लो भाग ठ्याक्कै रेलजस्तो लाग्यो।

किनकी पुरानो रेलको इन्जिनमा देखिने धुँवा फाल्ने लामो र मोटो ढुङ्ग्रो पनि त्यसमा थियो।

यति भएपछि मलाई लाग्यो– मैले खोजेको राणाकालीन रेल यही हो।

त्यो रेल भेटिएला भन्ने आशा मारिसकेको थिएँ। खोज्न पनि छाडिदिएको थिएँ।

काटीकुटी रेलको जस्तै इन्जिन जब भेटियो, मलाई लाग्यो– अरुले ‘ढुङ्गा खोज्दा देउता’ मिल्यो भन्छन्, मैले त ढुङ्गा समेत नखोजी देउता पो फेला पारेँ।

हर्षको सीमा रहेन। मेरो हर्षले सगरमाथाको शिर चढ्यो।

जीवनभरको सबैभन्दा ठूलो कमाई नै त्यही रेल भेटिनु हो र त्यसको फोटो खिच्नु हो भन्ने ठानेर आफै ओल्टीपल्टी गरिकन मोवाइलले फोटो र भिडियो खिचेँ।

‘पुरानो पुस्तालाई समेत खासै थाहा नभएको काठमाडौँमा चल्ने त्यो राणाकालीन रेलबारे नयाँ स्टोरी मात्रै लेखिने भइएन, ड्याम्म फोटो र भिडियो नै दिन पाइने भयो’ भनेर मन निकै प्रफुल्लित भयो।

दिमागमा अब कसरी नयाँ स्टोरी डेभलप गर्ने भन्नेबारे धेरै कुरा खेले।

खासमा त्यसराति म राम्रोसँग निदाउन पनि सकिनँ।

अर्काे हप्ता म फेरि त्यहाँ पुगेँ। नजिकै बसोबास गर्ने एकजना बृद्ध आमालाई भेटेँ। उहाँसँग मातातीर्थ–टेकु रेलमार्गको बारेमा कुराकानी गरेँ।

उहाँले अहिले आफू बसोबास गर्ने ठाउँ नजिकैसम्म मातातीर्थबाट आएको रेल रोकिन्थ्यो भन्ने कुरा आफ्ना दाजुबाट आफूले बाल्यकालमा सुनेको तर आफूले चाहिँ रेल नचढेको बताउनु भयो।

रेलका प्रत्यक्षदर्शी हाल कुलेश्वर बस्ने आफ्ना दाजुसँग भेट गराइदिने वचनपनि उहाँले मलाई दिनुभयो।

लोभपनि कस्ता कस्ता ! उहाँका दाजुलाई नै रेल अगाडि प्रत्यक्ष उभ्याएर रेलबारे ब्रिफिङ गराउने लोभ ममा जाग्यो।

‘अनि नि आमा, त्यसो भए हजुरको दाजुलाई ऊ त्यो रेलको अगाडि नै ल्याएर कुरा गराउनु पर्यो’ मैले उहाँसँग भने, ‘त्यसो गर्न उहाँले मान्नुहोला ?’

अहिलेसम्म म सोम शर्माको सातु खाँदै हिडिरहेको रहेछु भन्ने त्यसपछि पो बल्ल थाहा पाएँ।

आमाले भन्नुभयो, ‘होइन नि बाबु, त्यो मातातीर्थबाट आउने रेल…. त्यो त मान्छे पोल्ने मेसिन पो हो त !’

म त एकैचोटि सगरमाथाको टुप्पोबाट हिँउको गल्छीमा पो झरेँ।

भाग्यमानीहरुले ‘ढुङ्गा खोज्दा देउता’ भेट्छन् । म अभागी रहेछु। देउता खोज्दा मेरो भागमा ढुङ्गा पो पर्यो भन्ने लाग्यो।

धेरै बर्षअघि, सायद बिसं २०४० को दशकमा होला काठमाडौँ नगरपालिका (तत्कालिन पन्चायत) टेकु दोभानमा विद्युतीय शवदाह गृह स्थापना गर्ने योजना बनाएको रहेछ। सम्पूर्ण प्रकृया पुरा गरी विद्युतीय शवदाह यन्त्रपनि ल्याइएछ।

‘आफ्नो घरछेउलाई मसानघाट बनाउन पाइँदैन’ भन्दै स्थानीयवासीले स्थानीयवासीले त्यसको विरोध गरेछन्। आमाले यही कुरा बताउनुभयो।

स्थानीयवासीको विरोधपछि त्यो योजना, खरिद गरी ल्याइसकिएको विद्युतीय यन्त्र दुबै अलपत्र परे। बडेमानको त्यो यन्त्रलाई सडकको छेउमा ल्याएर छाडियो।

‘रेल फेला पारेँ’ भनेर म रोमान्चित हुन पुगेको त्यो मेसिन त त्यही विद्युतीय शवदाह यन्त्र पो रहेछ !

आक्कलझुक्कल आजकल पनि त्यो बाटो हिँड्छु।
त्यो यन्त्र देख्नासाथ लाग्छ– ‘तँ रेल भइदिएको भए…..! तेरोबारेमा स्टोरी लेखेर म कहाँ पुगिसक्थेँ…।’

तत्काल सोच्छु, ‘विचरा तँ निर्जिव छन्, दोष तेरो होइन, रेलको फोटो खिच्ने र स्टोरी लेखेर हाल्ने मेरो लोभको हो। तँलाई यसरी विचल्ली अवस्थामा छाडिदिने, प्रयोजनहीन बनाइदिने मजस्तै मानिसहरुको हो।’

त्यसपछि यस्तो सोच्दै सम्हालिन्छु, ‘कम्तिमा तैँले एक हप्ता मलाई आनन्द प्रदान गरिस्, मेरो मनलाई जीवनमा सबैभन्दा रोमान्चित बनाइस्, तैँले दिएको त्यही एक हप्ते आनन्द नै मेरा लागि ठूलो कुरा हो।’