ड्रोनबाट माटो झारेर ल्हासाका डाँडाकाँडा हरियाली बनाउँदैछ चीन

दक्षिण–पश्चिम चीनको स्वशासित क्षेत्र शिजाङको राजधानी ल्हासाको वरिपरिका पहाडी भूभागहरूमा यस वर्ष हरियालीको उल्लेखनीय रूपान्तरण देखिएको छ। समुद्री सतहदेखि ३,६५० मिटरको औसत उचाइमा अवस्थित यो सहरको वनस्पति आवरण उल्लेखनीय रूपमा बढेको छ।

प्रसिद्ध पोटाला दरबारबाट हेर्दा ल्हासा नदीको दुबै किनाराका पहाडहरू अब हरियालीले सजिएको देखिन्छन्।

गर्मी याममा ल्हासाका दक्षिणी र उत्तरी पहाडहरू घना बनस्पतिले ढाकिन्छन्। यहाँ घुम्न आउने पर्यटकहरू हरियालीमा डुबेर तस्वीर खिच्न रमाउँछन्।

ल्हासाको उत्तरी भागको ल्हालु दलदल क्षेत्रको पुनःस्थापना क्षेत्रमा काम गर्ने वन संरक्षण कर्मचारी मेजोरलाई अझै आफ्नो पहिलो रोपेको ‘चाइनिज स्कलर ट्री’ को राम्रै याद छ।

तर सुरुवाती दिनहरूमा मेजोर र उनका सहकर्मीहरूलाई रूखहरू बाँच्छन् भन्नेमा गहिरो शंका थियो।

उनको सम्झन्छन्, ती पहाडहरू वर्षौंदेखि उजाड देखिन्थे। उनीहरू सोध्थे– के यस्ता कठोर स्थानमा रूख बाँच्न सक्छ?

यस परियोजनाको सुरुवातमा वैज्ञानिक रूपमा उपयुक्त जातहरू छान्नुपरेको थियो।

विस्तृत अध्ययनपछि, परियोजना टोलीले चिसो र सुख्खा मौसम सहन गर्न सक्ने १२ थरिका स्थानीय जातहरू चयन गर्‍यो।

आज ती जातहरूले उजाड डाँडाहरूलाई हरियालीमा परिणत गरिसकेका छन्।

‘हालैका वर्षहरूमा ल्हासा वरिपरिका पहाडहरूमा वनस्पति आवरण उल्लेखनीय रूपमा बढेको छ’ ल्हासाको वन तथा घाँसेभूमि विभागका प्रमुख केल्साङ नोरबु भन्छन्, ‘त्यहाँका वन्यजन्तुहरुको जीवन पनि पुरानै लयमा फर्किएको छ।’

दक्षिणी र उत्तरी पहाडहरूको हरियाली परियोजना सुरु भएपछि १०.७९ मिलियन म्यु (झन्डै ७१,९३० हेक्टर) जंगल विकास गरिएको छ। त्यसक्रममा १२ करोडभन्दा बढी बिरुवाहरू रोपिएका छन्।

नोरबुले बताएअनुसार, यी बिरुवाहरूको जीवनदर ८५ प्रतिशत भन्दा बढी छ।

लाल हरिण, भराल, स्याल, ब्वाँसो र बाँदरजस्ता वन्यजन्तुहरू जंगलमा फर्किएका छन्। परियोजनाले वातावरण सुधारसँगै जैविक विविधताको बृद्धिपनि गरेको छ, जसले स्थानीय बासिन्दा र पर्यटकहरूका लागि बस्नयोग्य प्राकृतिक वातावरण निर्माण गरेको छ।

‘मैले रोपेको पहिलो रूख अहिले सात मिटरभन्दा अग्लो भइसकेको छ’ मेजोरले भने, ‘कहिलेकाहीँ सोच्ने गर्छु, हाम्रा छोराछोरी आएर हेर्दा यो कति ठूलो भइसकेको होला!’

रूख रोपिएको मात्र होइन, परियोजनाले प्रविधिमा पनि धेरै दक्षता विकास गरेको छ।

‘गत तीन वर्षभित्र हामीले विरुवा छनोट, उत्पादन, रोपाइँ र हेरचाहसम्बन्धी सम्पूर्ण प्रविधिगत प्रणाली तयार गरेका छौँ’ छेउको ढलानमा हालसालै रोपिएका बिरुवाहरू देखाउँदै नोरबुले भने, ‘अब विश्वविद्यालयहरूसँग मिलेर यी अभ्यासहरू अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने प्रयास गरिरहेका छौँ।’

तर यसरी विकास गरिएको हरियाली संरक्षण गर्ने काम सजिलो भने छैन।

कामदारहरू साँघुरा डाँडाका गोरेटोहरूमा हिंड्नु पर्छ, कतिपय ठाउँमा घिस्रिएर उक्लनुपर्छ। चेङ्ग्वान जिल्लाको न्याङ्रेन उपत्यकामा रहेको परियोजनाको दोस्रो पुनःस्थापना क्षेत्रकी सदस्य छिरिङ बक्सीले चार वर्षदेखि यस्तै गोरेटोमा हिंडिरहेकी छन्।

रूख रोप्न ढुङ्गैढुङ्गा भएको जमिन खन्नुपर्छ, जहाँ खनजोत गर्दा प्रायः ढुंगा ठोक्किन पुग्छ। जमिन माथितिर बोकेर लैजानुपर्छ। सुरुका दिनमा त अझ पानी हाल्न समेत पाइप बोकेर पहाड उक्लनुपर्थ्यो।

तर, प्रविधिको विकासले अहिले धेरै सजिलो बनाएको छ।

‘अब ड्रोनमार्फत एक मिनेटमै माटो पहाडमा झार्न सकिन्छ’ बक्सीले भनिन्, ‘यसले समय बचत मात्र होइन, सुरक्षा पनि सुनिश्चित गर्छ।’

यस परियोजनामा स्मार्ट पानी (जोहो सिँचाइ) प्रणालीको प्रयोग गरिएको छ, जसले पानीको सदुपयोग गर्छ र माटो संरचना बिग्रनबाट जोगाउँछ।

हालसम्म, परियोजनाले ९० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ, यसबाट २.९ अर्ब युआन (करिब ४०४.१२ मिलियन अमेरिकी डलर) भन्दा बढी आम्दानी बृद्धि भएको छ।

वातावरणीय सुधार र आर्थिक समृद्धिसँगै अघि बढेको यो योजना साँच्चिकै दोहोरो सफलता हो।

ल्हासा लिआङदाओ पारिस्थितिक पार्कमा करिब ४० प्रजातिका रूखहरू रोपिएका छन्। त्यहाँका कामदारहरूले ती बिरुवाहरूलाई आफ्ना बच्चाजस्तै स्याहार गरिरहेका छन् ताकि ती चिसो उच्च हिमाली वातावरणमा ठूला र बलिया हुर्किन सकून्।

ल्हासा नदीको दक्षिण किनारमा अवस्थित साउदर्न माउन्टेन पार्क अहिले सहरको लोकप्रिय गन्तव्य बनेको छ। घना बनस्पति र मनमोहक दृश्यहरूले भरिएको यो पार्कमा अहिले दैनिक ३ हजारदेखि देखि ५ हजार मानिस पुग्छन्। सार्वजनिक बिदामा त यो संख्या १८,००० सम्म पुग्छ। यो पार्क अवलोकन, पर्यटन र स्वास्थ्यका लागि उपयुक्त बहुपरियोजना स्थल बनेको छ।

यसबाट ल्हासाका बासिन्दाहरूले विस्तारोन्मुख हरियालीले भरिएको वातावरणमा बस्ने अवसर प्राप्त गरेका छन्। यो सहरले १३ वटा प्राकृतिक संरक्षण क्षेत्रहरूको प्रशासन हेर्दै आएको छ, जसले जम्मा ८१८,९०० हेक्टर क्षेत्रफल ओगटेको छ।

यस वर्ष, १९ नयाँ अनुकूल मार्गहरू निर्माण गर्ने र ६ वटा साना पार्कहरू स्तरोन्नति गर्ने योजना छ।

ल्हासाका एक ज्येष्ठ नागरिक डोंकाको भनाईमा, परिस्थितिमा आएको सुधारले जीवनको गुणस्तर बृद्धि गरेको छ।

‘अब हामी सबै आफ्नो वरपरका बिरुवाप्रति सजग भएका छौँ ’ उनी भन्छन्, ‘हामी चाहन्छौँ, यो हरियाली रहोस् र हाम्रो जीवन उज्यालो बनाइरहोस्।’

यस परियोजनाले दीर्घकालीन रूपमा अलकूल लाभ दिन थालेको छ। परियोजना सम्पन्न भएपछि, यसले क्षेत्रीय वातावरणमा नै महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रारम्भिक अनुमानअनुसार, यो परियोजनाबाट वार्षिक ४९.८ मिलियन टन पानी सञ्चित हुनेछ भने २२९,१०० टन कार्बन डाइअक्साइड ग्रहण गर्नैछ। यसैगरी १९ लाख ३ हजार टन अक्सिजन उत्सर्जन हुनेछ र २७ हजार १ सय टन माटोको पोषण संरक्षण हुनेछ।

साथै, वार्षिक करिब १.४८५ अर्ब युआन बराबरको आर्थिक लाभ हासिल हुने अनुमान गरिएको छ।