चीनले विश्वकै सबैभन्दा व्यापक समुद्री सुरक्षा तथा सहयोग पूर्वाधार विकास गरेको छ। चीनको यातायात मन्त्रालयका अनुसार यसले तटीय बन्दरगाह र जलमार्गहरूलाई समेट्ने पूर्ण नेभिगेशन सहायक सञ्जाल निर्माण गरेको छ।
यस वर्षको पहिलो त्रैमासिकमा चीनका तटीय तथा आन्तरिक बन्दरगाहहरूले ८.११ मिलियन जहाज आवागमन र ४.७९५ अर्ब टन मालसामान व्यवस्थापन गरेका छन्। यो गत वर्षको तुलनामा क्रमशः ६.५७ प्रतिशत र २१.७२ प्रतिशतको बृद्धि भएको हो।
यो व्यस्त जल यातायात सञ्जालसँगै चीनले व्यापक सहयोग प्रणालीसमेत स्थापना गरेको छ।
यातायात मन्त्रालय अन्तर्गतको समुद्री सुरक्षा प्रशासन (एमएसए) का एक अधिकारीका अनुसार सामुद्रिक सुरक्षा तथा सहयोग सेवाहरूले स्थानीय भौगोलिक सूचना, नेभिगेशन सहायता, सञ्चार र वातावरणीय सेन्सर मार्फत जलमार्गमा भइरहेका गतिविधिहरूका लागि प्राविधिक आधार प्रदान गर्छन्, जसले यो जलमार्गमा यात्रा गरिरहेका जहाजहरूको सुरक्षा सुनिश्चित गर्छ, ढुवानी दक्षता बढाउँछ र सामुद्रिक अर्थतन्त्रको विकासलाई सघाउ पुर्याउँछ।
सामुद्रिक सहयोग प्रणालीले नेभिगेशन सुरक्षाको रक्षक का रूपमा काम गर्छ।
२५ अक्टोबर मा २०२५ मा पर्ल नदीको मुहान क्षेत्रमा जहाज ठोक्किएको थियो। यो दुर्घटनापछि ‘एमएसए’ को दक्षिणी नेभिगेशन सेवा केन्द्रले तुरुन्तै आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गर्यो र प्रभावकारी व्यवस्थापन उपाय अपनायो।
ग्वाङ्झाउ कोस्ट रेडियो स्टेसनले चिनियाँ र अंग्रेजी दुबै भाषामा नेभिगेशन चेतावनी जारी गर्यो। सर्वेक्षणसँग सम्बन्धित जहाजहरूले डुबेको भग्नावशेष पत्ता लगाए र अस्थायी जलमार्गको सर्वेक्षण गरे। जहाजहरूले समयमै आपतकालीन नेभिगेशन चिन्हहरू स्थापना गरे र समुद्री यातायातलाई सहज र व्यवस्थित बनाए।
नेभिगेशन सहायता अन्तर्गत हाइड्रोग्राफिक सर्वेक्षण र सञ्चारलाई एकीकृत गर्ने प्रभावकारी प्रणालीका कारण यस्तो द्रुत प्रतिक्रिया सम्भव भएको
थियो।

जानकारी अनुसार दक्षिण चीन सागर क्षेत्र अन्तर्गत पर्ने सान्सा जलक्षेत्रका सबै नेभिगेशन सहायता उपकरणहरू ‘बेइडो उपग्रह नेभिगेशन प्रणाली’ सँग जोडिएका छन्, जसले निकै टाढाबाट पनि अनुगमन र नियन्त्रण कार्य गर्न सक्छन्।
यसबाट वार्षिक १ लाखभन्दा बढी जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित हुन सक्छ ।
माछा पालन व्यवसायका लागि समर्पित चीनको पहिलो इलेक्ट्रोनिक समुद्री नक्सा गत वर्षको अन्त्यतिर पूर्वी चीन सागर क्षेत्रमा सञ्चालनमा ल्याइएको थियो । त्यसले व्यापारिक प्रयोजनका र माछा मार्ने जहाजबीच ठोक्किने उच्च जोखिम क्षेत्र र उत्तर–दक्षिण तटीय ढुवानी मार्गहरूमा महत्वपूर्ण सूचनाहरू एकीकृत गर्दै समुद्री माछा व्यवसायको सुरक्षामा सुधार ल्याएको छ।
समुद्र, स्थल र आकाश तीनै क्षेत्र समेट्ने यो समुद्री सहयोग सञ्जाल अहिले २४ सै घण्टा सञ्चालनमा छ, जसले जलमार्ग र जहाजहरूको सुरक्षा सुनिश्चित गरेको छ । यस प्रणालीले सन् २०२५ मा ३४.६४ मिलियन टनभन्दा बढी सामान बोकेका जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गरेको थियो। यसका कारण जलमार्गीय दुर्घटनाहरूमा ३६.७ प्रतिशतले कमी आएको छ ।
तथ्यांक (डाटा) पनि सुरक्षाको अर्को प्रमुख आधारस्तम्भ हो। चीनले हरेक वर्ष करिब २३ हजार वर्ग किलोमिटर क्षेत्रफलमा हाइड्रोग्राफिक सर्वेक्षण गर्छ र वार्षिक ५० लाखभन्दा बढी इलेक्ट्रोनिक नक्साहरू जारी गर्दछ, जसले बन्दरगाह योजना, जलमार्ग विस्तार र नेभिगेशन दक्षता सुधारका लागि उच्च खालको सटिक आधारभूत तथ्यांक प्रदान गर्दछ।
यस वर्षको मार्चसम्ममा चीनले २४ हजार ६ सय तटीय नेभिगेशन सहायता उपकरणहरू व्यवस्थापन गरेको छ । एक दशक अघिको तुलनामा यो बृद्धि ६५ प्रतिशतको हो।
यस अन्तर्गत वार्षिक सार्वजनिक सेवा सञ्चार २२ लाखभन्दा बढी पुगेको छ र हरेक वर्ष १० लाखभन्दा बढी सुरक्षा सन्देश प्रसारण गरिन्छ, जसले विश्वभरका बन्दरगाह र जहाजहरूलाई जोड्ने एकीकृत सञ्चार सञ्जाल निर्माण गरेको छ।
यस्तो विशाल र बहुआयामिक प्रणाली कसरी निर्माण भयो?
यसको उत्तर निहित छ, निरन्तर प्राविधिक नवप्रवर्तनमा !
‘समुद्री सहयोगले कृत्रिम बुद्धिमत्ता, ठूला तथ्यांक (बिग डाटा) तथा उपग्रह आधारित स्थान निर्धारण र नेभिगेशनजस्ता अत्याधुनिक प्रविधिहरूलाई प्रविधि–केन्द्रित क्षेत्रका रूपमा एकीकृत गर्छ’ यातायात मन्त्रालय अन्तर्गतको डोङहाइ नेभिगेशन सुरक्षा प्रशासनका निर्देशक ली शिगाङ भन्छन्, ‘ढुवानी उद्योग तीब्र रूपमा बुद्धिमत्ता र हरित विकासतर्फ अग्रसर भइरहेको छ।’
‘एमएसए’ ले मार्च २०२४ मा एकीकृत नक्सा प्लेटफर्म सुरु गरेको थियो। .यसले सामुद्रिक नक्सा, नदीका नक्सा र स्थल भौगोलिक तथ्यांकलाई एकै प्रणाली र टर्मिनलमा समेट्दै समुद्री र स्थल–आधारित नेभिगेशन सेवाबीचको पुरानो तथ्यांकको विभाजन हटाएको छ।
यो नवप्रवर्तनहरुका कारण प्रयोगकर्ताहरूले विभिन्न प्रकारका नक्सा–सेवाहरू एकैसाथ प्रयोग गर्न नसक्ने पुराना अवरोधहरू समाप्त भएका छन्। यस प्लेटफर्मले हालसम्म ५० हजार भन्दा बढी जहाज र २० भन्दा बढी बन्दरगाहलाई स्थान र समयसम्बन्धी सेवा प्रदान गरेको छ। यसबाट वार्षिक सेवा प्रयोग अर्बौँको संख्यामा पुगेको छ।
यसले तटीय वायु ऊर्जा विकास र समुद्रमुनिको तेल पाइपलाइन लगायतका परियोजनाहरूलाई समेत सघाउ पुर्याएको छ ।
पूर्वाधार सुधारले पनि महत्वपूर्ण भूमिका खेलेको छ।
‘एमएसए’ को उत्तरी नेभिगेशन सेवा केन्द्रले बोहाइ सागर क्षेत्रमा तटीय तेल कम्पनीहरू र दूरसञ्चार अपरेटरहरूसँग सहकार्य गर्दै तटीय तेल प्लेटफर्महरूमा बहुमोड ‘फाइभ जी’ आधार स्टेसन निर्माण गरेको छ। परिणाम, वार्षिक लाखौँ यात्रु बोक्ने लियाओनिङ–शान्दोङ जलमार्गमा करिब सात घण्टाको यात्राका क्रममा हुने हुने सञ्चार अवरोध हटेको छ ।
यस वर्षको अन्त्यसम्म बोहाइ सागरभर सञ्चार र संवेदन प्रणालीको पूर्ण कभरेज हुने अपेक्षा गरिएको छ।
‘एमएसए’ ले दक्षिण चीन सागर क्षेत्रमा चीनको समुद्री प्रणालीभित्रकै सबैभन्दा ठूलो ड्रोन बेडा स्थापना गरेको छ। यसले नेभिगेशन संरचनाको निरीक्षण, सर्वेक्षण तथ्यांक सङ्कलन र आपतकालीन प्रतिक्रिया सञ्चालनका लागि ‘ड्रोन–प्लस’ मोडेल विकास गर्दै त्रि–आयामिक समुद्री सहयोग सम्भव बनाएको छ।
प्रकाश उत्पादन गर्ने परम्परागत गृहदेखि स्वचालित पहिचान प्रणाली, सञ्चार केन्द्र र एकीकृत नक्सा प्लेटफर्मसम्म निरन्तर पूर्वाधार लगानीले चीनको सामुद्रिक क्षमता तट नजिकको दृश्यमात्र देख्ने क्षमताबाट अब समुद्रको सम्पूर्ण क्षेत्र व्यवस्थापन गर्नसक्ने क्षमतातर्फ अघि बढेको छ।

तरपनि चुनौतीहरू बाँकी छैनन् भन्ने होइन। चीनको सामुद्रिक सहयोग प्रणालीले अझै पनि उन्नत उपकरणको कमी, टाढा र गहिरो समुद्री क्षेत्रमा सीमित क्षमता र महत्वपूर्ण जलक्षेत्रहरूमा सेन्सर क्षमतामा कमी जस्ता समस्या सामना गरिरहेको छ।
‘चीनका समुद्री गतिविधिहरू तटीय क्षेत्रहरु भन्दा टाढाका महासागर र ध्रुवीय क्षेत्रसम्म विस्तार हुँदै जाँदा समुद्री सहयोग सेवाहरू पनि त्यहीअनुसार विस्तार हुनुपर्छ’ ली भन्छन्, ‘हामीले भौगोलिक र कार्यात्मक दुबै कवरेज विस्तार गर्न, गहिरो समुद्री क्षेत्रमा क्षमता सुदृढ गर्न र अन्तर्राष्ट्रिय आपूर्ति शृंखलाको स्थायित्व अझ राम्रोसँग सुरक्षित गर्न आवश्यक छ।’
उनी थप्छन्, ‘आगामी दिनमा समुद्रमा उपग्रह इन्टरनेटको प्रयोग विस्तार गर्ने तथा प्रमुख सामुद्रिक क्षेत्र, टापुहरू र महत्वपूर्ण जलडमरूको मध्यभागमा सञ्चार र नियमन क्षमतामा सुधार ल्याउने प्रयासहरूमा ध्यान केन्द्रित गरिनेछ।’
(सम्पादकीय नोट : यो सामाग्री हामीले बेल्ट एण्ड रोड न्यूज नेटवर्क (बीआरएनएन) सौजन्यमा प्राप्त गरेका हौँ।)