चीनको विकासबाट नेपालले लिनसक्ने लाभबारे नेपाली समुदायसँग परराष्ट्रमन्त्रीद्वारा सुझाव माग

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको बेइजिङ ओर्लने वित्तिकैको प्राथमिकता थियो, चिनियाँ राजधानीमा रहेका नेपालीहरुसँगको अन्तरक्रिया। अन्तरक्रिया भनेपछि त्यहाँ सवालजवाफ हुने नै भयो। यस्ता कार्यक्रममा मन्त्रीको तर्फबाट सम्बोधन (भाषण) हुनुपनि स्वभाविक नै हो।

तर, मन्त्री खनालले भने चीन र राजधानी बेइजिङमा रहेका नेपालीहरुलाई सांकेतिक रुपमा नेपाल–चीन सम्बन्धका विशेषज्ञका रुपमा परिभाषित गरे। अनि नेपाल–चीन सम्बन्धको निकटतालाई नेपालको हितमा कसरी उपयोग गर्नुपर्छ भन्ने सुझाव मागे।

‘चीनसँगको निकटतालाई कसरी उपयोग गर्ने भन्ने विषयमा तपाईंहरूले हामीलाई भन्नु पर्छ’ अन्तरक्रिया कार्यक्रममा मन्त्री खनालले भने, ‘चीनमा बसेर तपाईंहरुले हासिल गरेको सीप र क्षमतालाई देशले कसरी उपयोग गर्न सक्छ, त्यो पनि तपाईंहरुले सोच्नु पर्छ।’

नेपाल–चीन सम्बन्धका सन्दर्भमा बेइजिङ वा चीनमा रहेका नेपालीहरुलाई कुनै परराष्ट्रमन्त्रीले यति धेरै महत्व दिएर सुझाव मागेको सम्भवत यो पहिलो पटक हो।

निश्चय नै, चीनले हासिल गरेको विकास र समृद्धिलाई सबैभन्दा नजिकबाट हेर्ने र देख्ने आखिर त्यहीँका नेपालीहरु हुन्। यस आधारमा चीनबाट नेपालले के लाभ लिनसक्छ भन्ने कुराको जानकारी सबैभन्दा बढी जानकारी उनीहरुसँग नै हुन्छ।

यसैआधारमा मन्त्री खनालले मुलुकको हितका लागि चीनमा रहेका नेपालीहरुको सुझाव महत्वपूर्ण हुने आफ्नो निष्कर्ष सुनाए र त्यो लाभ लिन कसरी अघि बढ्नुपर्छ भन्ने सुझाव उनीहरुबाट अपेक्षा गरे।

चीनसँग नेपालको व्यापार घाटा डरलाग्दो रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले चीनमा रहेका नेपालीहरुले हासिल गरेको ज्ञान व्यापारघाटा कम गर्न उपयोगी हुनसक्ने पनि बताए।

अन्तरक्रिया कार्यक्रम

‘तपाईंहरुले सिकेको ज्ञानबाट हामी उत्पादनमा लाग्न सक्छौँ कि’ उनले थपे, ‘के गर्दा हामी सहज वातावरण निर्माण गर्नसक्छौँ, त्यो हामीलाई बताइदिनु होला। हामी तपाईंहरुले भने बमोजिम (काम) गर्न सक्छौँ।’

पहिलो दिनको व्यस्तता
चीनको चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका मन्त्री खनालको बेइजिङमा पहिलो ‘इन्गेजमेन्ट’ नै बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रम थियो। दूतावासको तर्फबाट आयोजना गरिएको स्वागत कार्यक्रम भएपनि त्यसको मुख्य उद्देश्य भने बेइजिङमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्नु थियो।

परराष्ट्रमन्त्री खनालको यो भ्रमण चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भएको औपचारिक भ्रमण हो। विदेशमन्त्री वाङ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य छन् र चीनका प्रभावशाली कुटनीतिज्ञ हुन्।

भ्रमणका क्रममा बेइजिङ पुगेका मन्त्री खनाललाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनस्थित नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।

विमानस्थलबाट मन्त्री खनाल नेपाली राजदूतावास पुगे। त्यहाँ मन्त्री खनाललाई कार्यवाहक राजदूत लगायत दूतावासका अन्य अधिकारीहरुले दूतावासको कामकारबाही र प्राथमिकताबारे जानकारी गराए।

दूतावासको कामकारबाही र प्राथमिकताबारे जानकारी लिनेक्रममा उनले चीनमा नेपालको हित प्रवर्द्धन, नेपाली नागरिकलाई प्रभावकारी र सहज सेवा प्रदान गर्न दूतावासका अधिकारीहरुलाई निर्देशन दिए। साथै दुतावास परिसरमा वृक्षारोपण पनि गरे।

परराष्टमन्त्रीलाई स्वागत गर्दै बेइजिङस्थित नेपाली राजदूतावासकी कार्यबाहक राजदूत रोशन खनाल

त्यसपछि दूतावासमा नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम भएको थियो। कार्यक्रममा उनले बेइजिङमा रहेको नेपाली समुदायसँग बढी भन्दा बढी प्रश्न र सुझावहरुको अपेक्षा गरेका थिए।

कुटनीति र राजनीति सँगसँगै
नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रम भएकाले उनले राजनीतिक विषयवस्तुमा पनि प्रवेश गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको ४ वर्षमै नेपालको शासन सत्ता सञ्चालन गर्ने अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री खनालले चीनसँगको निकटतालाई कसरी उपयोग गर्ने भन्ने विषयमा बेइजिङस्थित नेपाली समुदायसँग अपेक्षा गरेका थिए।

चुनावका सिलसिलामा रास्वपा र आफू विभिन्न स्थानमा पुग्दा परिवारका सदस्यमार्फत् विदेशमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गरेको स्मरणपनि गरे।

‘चुनावका क्रममा धेरैजसो नेपालीका अभिभावकले विदेशमा भएका आफ्ना सन्तान स्वदेश फर्किने वातावरण फर्काउने वातावरण बनाइदिनुस् भन्दै शुभकामना दिनुभएको थियो’ उनले सम्झे, ‘हामीले एक वर्षमा ५ लाख रोजगारी सिर्जना गर्न सक्यौँ भनेपनि नेपालीहरूलाई विदेश जानबाट रोक्न सकिने रहेछ।’

‘तर अहिले २० देखि ३० हजार मात्र रोजगारी सिर्जना भैरहेको छ’ उनले थपे, ‘थप साढे ४ लाख रोजगारी सिर्जना गर्नु अहिलेका लागि आवश्यक छ। नेपालीहरुलाई विदेश जानबाट रोक्न आवस्यक पर्ने रोजगारी सिर्जना नै अहिलेको मुख्य चुनौति हो।’

रास्वपाको प्रमुख एजेण्डा सुशासन र दोस्रो आर्थिक विकास भएको बताउँदै मन्त्री खनालले आफ्नो पार्टीको वाचापत्रमा नेपालमा भएका ठूला भ्रष्टाचारबारे छानविन गर्ने प्रतिवद्धता जनाएको र त्यो काम भैरहेको जानकारी गराए।

राजदूतावासका अधिकारीहरुसँग परराष्ट्रमन्त्री खनाल

‘सुशासनको दोस्रो पाटो सेवा प्रवाह हो, पासपोर्ट, नागरिकता वा अन्य सरकारी सेवा झन्झट नब्यहोरी प्रदान गर्ने हाम्रो प्राथमिकता छ’ खनालले भने, ‘यसका लागि परराष्ट्र मन्त्रालयमै पनि विभिन्न समाधानका उपाय अवलम्बन गरेका छौँ। विदेशमा रहेका र समस्यामा रहेका नेपालीहरूलाई सहयोग गर्न मन्त्रालयमा संरचना विकास भएको छ।’

बेइजिङस्थित नेपाली दूतावासका अनुसार, परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहयोगका विविध आयाममा छलफल हुनेछ।