रास्वपा सरकार पनि एक चीन नीतिकै पक्षमा, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्दता

चीनसँग कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालले अपनाउँदै आएको एक चीन नीतिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले पनि निरन्तरता दिएको छ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको ‘एक चीन नीति’प्रतिको आफ्नो दृढ प्रतिबद्धता लाई पुनः दोहोर्‍याएका छन्।

पुराना राजनीतिक शक्तिहरुलाई विस्तापित गरी सत्तामा आएको रास्वपा सरकारको एक चीन नीतिको सन्दर्भमा कस्तो धारणा रहला भन्ने भन्ने चासो सर्वत्र थियो।

राजनीतिक परिवर्तन भएपनि एक चीन नीतिप्रति प्रतिवद्दता जनाएर खनालले ‘नेपालले चीनप्रतिको नीतिमा परिवर्तन ल्याउँदैन’ भन्ने सन्देश परराष्ट्रमन्त्री खनालले दिएका छन्।

चिनियाँ समकमक्षी वाङ यीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले एक चीन नीतिप्रतिको नेपाली प्रतिवद्दता मात्र दोहोर्याएनन्, कुनैपनि गतिविधिका लागि नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्टपनि पारे।

परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री यीको मैत्रीपूर्ण निमन्त्रणामा ३१ जेठदेखि चार दिने भ्रमणको सिलसिलामा बेइजिङमा छन्। यसैक्रममा सोमबार (१ असार) साँझ दुई परराष्ट्रमन्त्रीबीच भेटवार्ता प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको थियो।

शिशिर खनाल र वाङ यी

बेइजिङस्थित नेपाली राजदूतावासले सोमबार साँझ विज्ञप्ती जारी गर्दै बताए अनुसार द्विपक्षीय वार्तामा नेपाल–चीन सम्बन्धका समग्र विषयमा विस्तृत छलफल भएको थियो र दुबै पक्षले आपसी सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

एक चीननीतिप्रति नेपालले प्रतिवद्दता दोहोर्याउँदा चिनियाँ पक्षले पनि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन रहेको दोहोर्‍याएको थियो। प्रत्येक उच्चस्तरीय भेटवार्ताहरुमा दुबै पक्षले यसरी नै प्रतिबद्दता दोहोर्याउने गरेका छन्।

दूतावासका अनुसार चिनियाँ पक्षले सुशासन र आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले अघि सारेका प्राथमिकताहरूमा पूर्ण सहयोग रहने विश्वास पनि व्यक्त गरेको थियो।

दुबै देशले एकअर्काका प्राथमिकता र संवेदनशीलताप्रति सम्मान व्यक्त गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विशेष जोडपनि दिएका थिए।

शिशिर खनाल र वाङ यी

वार्ताका क्रममा पूर्वाधार विकास, पारवहन तथा कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटल रूपान्तरण, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायतका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

दूतावासका अनुसार, दुई देशबीच जनस्तरको सम्बन्ध थप विस्तार गर्ने विषयमा समेत सकारात्मक विचार आदानप्रदान भएको थियो। विगतमा भएका सहमति तथा परियोजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गर्ने प्रतिबद्धतापनि द्विपक्षीय वार्ताका क्रममा दुबै पक्षले व्यक्त गरेका छन्।

शिशिर खनाल र वाङ यी भेटवार्ताबारे बेइजिङस्थित नेपाली राजदूतावासको विज्ञप्ती

वार्तामा बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा साझा चासोका विषयमा समन्वय र सहकार्य अझ मजबुत बनाउने सहमति पनि दुबै पक्षले गरेका छन्।

प्रतिनिधिमण्डलस्तरमा भएको भेटवार्तापछि विदेशमन्त्री वाङले नेपाली समकक्षीय खनालको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए।