व्यापारिक दृष्टिले चीनका लागि निकै महत्वपूर्ण साझेदार मानिएको दक्षिण–पूर्वी एसियालाई पिङ्ग्लु नहर चीनले बुधबार (१७ सेप्टेम्बर, ३१ भदौ) देखि सञ्चालनमा ल्याएको छ।
यो जलपरियोजनाको उद्देश्य चीनको दक्षिणी क्षेत्र र दक्षिण–पूर्वी एसियाबीच हुने समुद्री ढुवानीको दूरीलाई उल्लेख्य रुपमा घटाउनु हो।
पिङ्लु नहर चीनको सुदूर दक्षिणमा अवस्थित क्वाङ्सी क्षेत्रमा छ। क्वाङ्सी भियतनामसँग सीमा जोडिएको क्षेत्र हो र यसको भौगोलिक अवस्थिति दक्षिण चीन सागर क्षेत्रमा छ।
पिङ्लु नहर चीनको दक्षिणी भागमा निर्माण गरिएको नदी र समुद्र जोड्ने एक आधुतिक जलमार्ग हो। यसको लम्बाइ करिब १३४ किलोमिटर छ।
यसले चीनको सिच्याङ नदी प्रणालीलाई पेक्पु खाडीसँग जोड्छ। पेक्पु खाडी दक्षिणी चीन र उत्तरी भियतनामबीच रहेको टोंकिन खाडीको उत्तरपश्चिमी भाग हो।
यो नहरले चीनको दक्षिण–पश्चिमी भेगस्थित युनान र क्वैचौजस्ता क्षेत्रलाई समुद्रसँग जोड्दै दक्षिण–पूर्वी एसियाली बजारसम्म पुग्ने छोटो जलमार्ग उपलब्ध गराउँछ।
पिङ्लु नहरको महत्व
चीनको दक्षिणपश्चिमी भूभागबाट समुद्रसम्म सामान लैजान यसअघि निकै लामो घुमाउरो मार्ग प्रयोग गर्नुपर्थ्यो।
तर, पिङ्लु नहर सञ्चालनमा आएपछि समुद्रसम्मको ढुवानी दूरी करिब ५६० किलोमिटरले घट्ने अनुमान स्थानीय चिनियाँ अधिकारीहरूले गरेका छन्।
यसबाट सामान ढुवानी लगायत व्यवस्थापनसम्बन्धी खर्चमा करिब १८ देखि ३० प्रतिशतसम्म कमी आउने अपेक्षा गरिएको छ।
क्वाङ्सीका सरकारी अधिकारीहरूको अनुमान के छ भने, यसबाट यातायात खर्चमा मात्र वार्षिक ५ अर्ब युआनभन्दा बढी, अर्थात् करिब ७० करोड अमेरिकी डलर बराबरको बचत हुनसक्छ।
जानकारी अनुसार, पिङ्लु नहर निर्माणमा करिब ७ सय २७ अर्ब युआन अर्थात् करिब १०.८ अर्ब अमेरिकी डलर खर्च भएको छ।
यो नहरमा अधिकतम करिब ५ हजार टन क्षमताका पानीजहाज सञ्चालन गर्न सकिनेछ र यसले चीनको दक्षिण–पश्चिमी भूभागलाई समुद्री बन्दरगाहसँग त्यक्ष रूपमा जोड्नेछ।
दक्षिण–पूर्वी एसिया जोड्ने मार्ग
पिङ्लु नहर चीनको नयाँ अन्तर्राष्ट्रिय स्थल–समुद्री व्यापारिक मार्गको एउटा महत्वपूर्ण खण्ड हो।
यो व्यापारिक मार्गको उद्देश्य चीनको पश्चिमी तथा दक्षिण–पश्चिमी क्षेत्रलाई दक्षिण–पूर्वी एसियाली देशहरू र विश्व बजारसँग जोड्नु हो।
विशाल प्रकृतिको यो संरचना चीनको बेल्ट एन्ड रोड पहल (बीआरआई) सँग पनि सम्बन्धित छ। बीआरआई अन्तर्गत चीनले सडक, रेलमार्ग, बन्दरगाह तथा अन्य यातायात पूर्वाधारमार्फत् विभिन्न क्षेत्रलाई जोड्ने प्रयास गरिरहेको छ।
पिङ्ग्लु नहर यस्तो बेला सञ्चालन भएको छ, जतिबेला चीन र दक्षिण–पूर्वी एसियाबीचको व्यापारमा तीब्र रूपले बृद्धि भएको छ।
चिनियाँ भन्सार प्रशासनका अनुसार, सन् २०२६ को पहिलो छ महिनामा चीन र दक्षिण–पूर्वी एसियाबीचको द्विपक्षीय व्यापार करिब ४.३४ खर्ब युआन पुगेको थियो।
यो तथ्याङ्क अघिल्लो वर्ष यही अवधिको तुलनामा १८.२ प्रतिशत बढी हो।
नहरको समुद्री छेउमा रहेको पेक्पु खाडी बन्दरगाहको कन्टेनर व्यवस्थापन क्षमता सन् २०१७ को २२.८ लाख कन्टेनर इकाई थियो। यो संख्यामा समेत बृद्धि भई सन् २०२५ मा १ करोड ६।६ लाख कन्टेनर एकाइ पुगेको प्रतिवेदनमा उल्लेख छ।
क्वाङ्सीले यो नयाँ नहर सञ्चालनसँगै औद्योगिक क्षेत्र विकास गर्ने योजना बनाएको छ, जुन नहर वरिपरि ‘पिङ्लु नहर आर्थिक क्षेत्र’ अन्तर्गत हुनेछ।
नहरसँग जोडिएका क्षेत्रमा उद्योग, बन्दरगाह, यातायात पूर्वाधार र आपूर्ति शृङ्खला विकास गर्ने लक्ष्य राखिएको छ। लक्षित उद्योगहरूमा महत्वपूर्ण खनिज, आधुनिक हरित रसायन उद्योग, कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि लगायत छन्।
यसरी उत्पादन क्षेत्रलाई बन्दरगाह र यातायात सञ्जालको नजिक ल्याएर सामानहरुको उत्पादनदेखि समुद्री ढुवानीसम्मको दूरी घटाउने प्रयास गरिएको छ।
भियतनामसँग प्रत्यक्ष व्यापार
नहर सञ्चालनमा आएपछि चीनको दक्षिणपश्चिमी क्षेत्रबाट भियतनामतर्फ प्रत्यक्ष व्यावसायिक जलढुवानी सुरु गर्ने योजना पनि बनाइएको छ। जसअनुसार दक्षिणी भियतनामको कान थो बन्दरगाहसम्म प्रत्यक्ष व्यापारिक जलयात्रा सुरु गर्ने तयारी छ।
यसले चीनको भित्री भू–भागबाट ल्याइएका सामाग्रीलाई बीचमा अर्को पानीजहाजमा सार्नुपर्ने झण्झट कम गर्नेछ।
व्यावसायिक पानीजहाजलाई ३१ डिसेम्बर (२०२६) सम्म नहरका तीनवटा जलद्वार पार गर्दा शुल्क नलिने व्यवस्था गरिएको छ।
१ जनवरी २०२७ देखि भनुे जलद्वार पार गर्दा प्रत्येक पटक पानीजहाजको क्षमता आधारमा प्रत्येक टनका लागि १ युआन शुल्क लगाउने परीक्षण व्यवस्था सुरु हुनेछ।
जानकारी अनुसार, यो परीक्षण शुल्क सन् २०३१ सेप्टेम्बरसम्म लागू रहने छ।
मानिसहरूको विस्थापन
यस सन्दर्भमा स्थानीय बासिन्दाहरूको पुनर्वास पनि परियोजनाको महत्वपूर्ण पक्ष बनेको छ। किनकी यति ठूलो नहर निर्माण गर्दा हजारौँ मानिसहरु विस्थापित भएका छन्।
तथ्याङ्कअनुसार चारवटा जिल्ला र जिल्ला–स्तरका सहरमा २,७६४ परिवार पुनर्वास प्रक्रियामा परेका थिए। पुनस्र्थापित हुने मानिसहरुको संख्या ११ हजार २ सय २८ छ।
हङ्चौ क्षेत्रमा मात्र ३ सय ६८ घरका लागि स्थानान्तरण सम्झौता गरिएको थियो। ती घरहरू पूर्ण रूपमा भत्काइएको र १ हजार २ सय २१ मानिसलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको थियो।
प्रतिवेदनका अनुसार, स्थानीय बासिन्दाको जीवनशैलीलाई मध्यनजर गर्दै विभिन्न प्रकारका नयाँ घरका नमुना बनाइएको थियो।
रोचक र भावनात्मक कुरा त अझ के थियो भने, पुनर्वासका क्रममा केही परिवारले आफ्नो पुरानो घर वरिपरिका सयौँ वर्ष पुराना रूखसमेत नयाँ स्थानमा स्थानान्तरण समेत गरेका थिए।
त्यसमध्ये २ सय १७ वर्ष पुरानो एउटा कपूरको रूख पनि स्थानान्तरण गरिएको थियो।
यसबाट परियोजनाले भौतिक पूर्वाधार निर्माण मात्र होइन, पुराना बस्ती, कृषक जीवनशैली र स्थानीय वातावरणसँग सम्बन्धित विषयहरू पनि समेटेको देखिन्छ।