चिनियाँ बौद्ध तीर्थयात्री ह्वेन साङको पुस्तक नेपालीमा, बताउनेछ नेपाल-चीन सांस्कृतिक सम्बन्धको इतिहास

पुस्तकको विमोचन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायत

नेपाल-चीन सम्बन्धको सन्दर्भमा सातौँ शताब्दीका निकै चर्चा हुने गर्छ, महान् बौद्ध भिक्षु ह्वेनसाङको। बौद्ध धर्मका ग्रन्थहरुको खोजीका क्रममा उनले नेपाललगायत दक्षिण एसियाको भ्रमण गरेका थिए र आफ्नो पुस्तकमा नेपालको चर्चा पनि गरेका थिए।

धर्मको खोजीमा पश्चिमतर्फ गरेको यात्राका क्रममा दक्षिण एसियामा देखेका, भोगेका र अध्ययन गरेका विषय समेटिएको उनको ऐतिहासिक ग्रन्थ ‘द ग्रेट ताङ रेकर्ड अफ द वेस्टर्न रिजन’ को नेपाली संस्करण अघिल्लो हप्तादेखि औपचारिक रूपमा नेपाली बजारमा आइसकेको छ।

यो पुस्तकको प्रकाशनकर्ता चिनियाँ नागरिक फु छ्याङ हुन्, जो लुम्विनी विश्वविद्यालयमा बौद्ध धर्म अध्ययन गर्दैछन्।

सिधै चिनियाँ भाषाबाट नेपाली भाषामा अनुवाद गर्न सकिने गरी त्यो ग्रन्थलाई पुरानो चिनियाँ भाषाबाट आधुनिक चिनियाँ भाषामा अनुवादपनि उनैले गरेका हुन्।

यसरी सरल रुपमा फु छ्याङले चिनियाँ भाषामा अनुवाद गरेको ग्रन्थलाई नेपालीमा अनुवाद गर्ने काम दीक्षा दवाडीबाट भएको हो।

झण्डै १ हजार ४ सय वर्ष पुरानो मानिने यो महत्वपूर्ण चिनियाँ ऐतिहासिक ग्रन्थको प्रकासनसँगै े विमोचन पनि भइसकेको छ, २ असोज (सेप्टेम्बर १८) मा, कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको पुस्तक विमोचन कार्यक्रममा पूर्व शिक्षामन्त्री रघुजी पन्त, पूर्व ऊर्जा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ झानपिङ उपस्थित थिए।

यसैगरी चीनका लागि नेपालका पूर्व राजदूत विष्णुपुकार श्रेष्ठ, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति सुपर्णन र नेपाल र चीनका राजनीति, शिक्षा, संस्कृति, अर्थतन्त्र तथा पर्यटन, सन्चार क्षेत्रका क्षेत्रका झण्डै एक सय व्यक्तित्वहरूको पुस्तक विमोचन कार्यक्रममा सहभागिता थियो।

ह्वेन साङको ऐतिहासिक यात्रा
ह्वेन साङ सातौँ शताब्दीमा चीनबाट प्रस्थान गरी मध्य एसिया हुँदै दक्षिण एसिया पुगेका थिए। उनले नेपाल, भारत तथा आसपासका क्षेत्रमा बौद्ध धर्म सम्बन्धमा लामो समय अध्ययन, भ्रमण र अनुसन्धान गरेका थिए।

कार्यक्रमका सहभागीहरु

जब उनी चीन फर्किए, आफूले यात्राका क्रममा देखेका, अध्ययन र अनुभव गरेका विषयलाई समेटेर द ग्रेट ताङ रेकर्ड अफ द वेस्टर्न रिजन’ नामक कृति (ग्रन्थ) तयार पारे।

उनले तयार पारेको ग्रन्थमा तत्कालीन दक्षिण एसिया र मध्य एसियाका विभिन्न क्षेत्रको भूगोल, सहर, समाज, धर्म तथा संस्कृतिसम्बन्धी महत्वपूर्ण विवरण समेटिएको छ।

त्यसैले यो ग्रन्थलाई चीन र अन्य मुलकका बीचको ऐतिहासिक सम्बन्ध अध्ययनका लागि निकै महत्वपूर्ण सामाग्रीका रुपमा लिने गरिएको छ।

सँगैसँगै प्राचीन नेपाल तथा दक्षिण एसियाको इतिहास अध्ययनका लागि समेत यो एक महत्वपूर्ण स्रोत हो।

पुस्तकका प्रकाशनकर्ता तथा चिनियाँ अनुवादक फु छ्याङका भनाईमा, ह्वेन साङ करिब १ हजार ४ सय वर्षअघि नेपाल आएका थिए। त्यसक्रममा उनले लुम्बिनीस्थित अशोक स्तम्भलगायत ऐतिहासिक सम्पदा आफ्नै आँखाले देखे।

यति महत्वपूर्ण ग्रन्थ नेपाली भाषामा नै प्रकाशन भएपछि नेपाली पाठकले आफ्नै भाषामा ह्वेन साङको ऐतिहासिक यात्रा र तत्कालीन दक्षिण एसियाबारेका विवरण पढ्न पाएका छन्।

चिनियाँबाट सिधै नेपालीमा अनुवाद
पुस्तकका अनुवादकर्ता तथा प्रकाशनकर्ता फु छ्याङका अनुसार, ‘द ग्रेट ताङ रेकर्ड अफ द वेस्टर्न रिजन’ मूलतः ताङ राजवंशकालीन शास्त्रीय चिनियाँ भाषामा लेखिएको ग्रन्थ हो।

सुरुमा फु छ्याङले यो प्स्तकलाई प्राचीन चिनियाँ भाषाबाट आधुनिक चिनियाँ भाषामा अनुवाद गरेका थिए।

त्यसपछि नेपाली अनुवादक दीक्षा दवाडीले त्यसलाई नेपाली भाषामा अनुवाद गरिन्। गणेश कुमार जिसीले भाषिक तथा तथ्यगत त्रुटि सच्याउने, आवश्यक सामग्री थप्ने र सम्पादन गर्ने काम गरे र पुस्तक सुन्दर रुपमा तयार भयो।

यसरी तयार पारिएको पुस्तक गोधुली कला तथा साहित्य प्रतिष्ठानको प्रकाशन केन्द्रबाट प्रकासित हुन पुगेको छ।

विमोचन कार्यक्रममा फु छ्याङले अनुवादका क्रममा प्राप्त अनुभवहरु सुनाएका थिए।

उनका भनाईमा प्राचीन स्थानका नाम, व्यक्तिका नाम तथा बौद्ध धर्मसँग सम्बन्धित शब्दावली पहिचान र रूपान्तरण गर्नु निकै चुनौतीपूर्ण काम थियो।

‘एक हजारभन्दा पुरानो भाषिक परिवर्तनसँगै नेपाल र चीनबीचका सांस्कृतिक भिन्नतालाई समेत ध्यान दिनुपर्ने स्थिति थियो’ उनले भने, ‘त्यसैले यो पुस्तकको अनुवाद कार्य निकै जटिल थियो।’

स्वयंसेवी सांस्कृतिक अभियान
पुस्तकको प्रकाशन चिनियाँ नागरिकहरूले आफ्नै स्रोतबाट रकम जुटाएर सञ्चालन गरेको फु छ्याङ बताउँछन्। उनका भनाईमा गैरनाफामूलक सांस्कृतिक प्रकाशन अभियानमार्फत् यो काम गरिएको हो।

गैरनाफामूलक अभियान अन्तर्गत भएकाले प्रकाशित पुस्तकहरू नेपालका विद्यालय, पुस्तकालय तथा अन्य सांस्कृतिक र शैक्षिक संस्थालाई दान गरिनेछन्।

बढीभन्दा बढी नेपाली पाठकलाई पुस्तकबारे जानकारी गराउने, अध्ययनका लागि प्रेरित गर्ने र यसको ज्ञान फैलाउने उद्देश्यले प्रकाशन गरिएको जानकारी पनि फु छ्याङले दिए।

पुस्तकको प्रसंशा
विमोचन कार्यक्रममा प्रमुख अतिथि थिए, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल। उनले पुस्तक नेपाली भाषामा प्रकासित गरिएकोमा त्यसको मुक्तकण्ठले प्रसंशा गरे।

‘नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ मा स्थापना भएपनि दुई देशबीच ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध त्यसअघि नै लामो समयदेखि कायम थियो’ अध्यक्ष दाहालले भने, ‘यस पुस्तकले नेपाली पाठकलाई चीनको इतिहास बुझ्न सहयोग गर्नुका साथै नेपाल र चीनबीच लामो समयदेखि कायम ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बुझ्न पनि महत्वपूर्ण आधार प्रदान गर्नेछ।’

पुस्तकका अनुवादक अध्येता फु छ्याङ कार्यक्रममा सम्बोधन गर्दै
पुस्तकका अनुवादक अध्येता फु छ्याङ कार्यक्रममा सम्बोधन गर्दै

ह्वेनसाङ, फाशियान, नेपाली बौद्ध भिक्षु बुद्धभद्र, भृकुटी तथा नेपाली कलाकार अरनिको लगायतका ऐतिहासिक व्यक्तित्वहरुलाई अध्यक्ष दाहालले नेपाल–चीन ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धका महत्वपूर्ण पात्रका रूपमा प्रस्तुत गरे।

यी व्यक्तित्वहरुले निर्वाह गरेको भूमिका र दुई मुलुकबीचको ऐतिहासिक सम्बन्धका कारण नेपाल र चीनबीच ज्ञान, धर्म, कला, संस्कृति तथा व्यापारका क्षेत्रमा लामो समयदेखि पारस्परिक आदान–प्रदान हुँदै आएको अध्यक्ष दाहालले बताए।

‘द ग्रेट ताङ रेकर्ड अफ द वेस्टर्न रिजन’ को नेपाली संस्करणलाई एउटा प्राचीन पुस्तकको अनुवादका रूपमा मात्र हेर्न हुँदैन’ उनले भने, ‘करिब १ हजार ४ सय वर्षअघि लेखिएको ऐतिहासिक अभिलेख हो यो, यस्तो सामाग्री नेपाली भाषामार्फत् वर्तमान नेपाली समाजमा पुनः प्रवेश गर्न आइपुगेको छ, यो आफैंमा महत्वपूर्ण सांस्कृतिक प्रक्रिया हो।’

धेरैभन्दा धेरै नेपाली पाठकले पुस्तकको अध्ययन गर्दै दाहालले विश्वास व्यक्त गर्दै पुस्तक नेपाली इतिहास, बौद्ध संस्कृति, ताङ राजवंशकालीन चीनको इतिहास तथा नेपाल–चीनबीचको दीर्घकालीन सम्बन्ध बुझ्न उपयोगी हुने बताए।

ह्वेनसाङले गरेको प्राचीन यात्राजस्तै यात्रा अहिले चीनले गरिरहेको पनि उनले उल्लेख गरे।

‘चीनले बेल्ट एन्ड रोड पहल (बीआरआई) मार्फत् विभिन्न मुलुकबीच यातायातमार्फत् सम्बन्ध जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’ उनले भने, ‘बीआरआईमार्फत् चीनले ग्लोबल साउथ अर्थात् विकासशील दक्षिणी मुलुकहरूको साझा विकासको अपेक्षा गरेको छ। यो परियोजना त्यसैका लागि हो।’

विमोचन कार्यक्रममा पूर्व शिक्षामन्त्री रघुजी पन्तले पुस्तकबारे धारणा राखेका थिए। त्यसक्रममा उनले बताए कि, ह्वेनसाङले बुद्धको जन्मस्थल, अशोक स्तम्भलगायतका विषयमा आफ्नो ग्रन्थमा उल्लेख गरेका विवरण लुम्बिनी तथा बौद्ध इतिहासको अध्ययनका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुन पुग्यो।

पुस्तकको प्रकाशनले नेपाल र चीनबीच सांस्कृतिक पारस्परिक समझदारी बढाउन तथा नेपाली पाठकको प्राचीन ग्रन्थमा पहुँच विस्तार गर्न योगदान पुर्‍याउने पूर्वमन्त्री पन्तले बताए।

प्रकाशकलाई सम्मान
विमोचनपछि पुस्तकका अनुवाद तथा प्रकाशनकर्ता फु छ्याङलाई सम्मान गरिएको थियो।

उनलाई प्रदान गरिएको सम्मानपत्रमा ‘द ग्रेट ताङ रेकर्ड अफ द वेस्टर्न रिजन’ एसियाको महत्वपूर्ण ऐतिहासिक कृति रहेको, यसले नेपाल र चीनबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ।

‘द ग्रेट ताङ रेकर्ड अफ द वेस्टर्न रिजन’ को प्रकाशनमा भूमिका निर्वाह गरेको भन्दै उनको योगदानस्वरुप सम्मान गरिएको हो।